मुख्यमन्त्री र सभामुख चयनको विधि तय गर्न एमाले बैठक बस्दै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मुख्यमन्त्री र सभामुख चयनको विधि तय गर्न एमाले बैठक बस्दै



काठमाडौं । प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखहरुको चयन प्रक्रियाको मापदण्ड निर्धारण गर्न एमाले स्थायी कमिटी बैठक पार्टी कार्यलयमा बस्दैछ ।

पार्टी एकता, राष्ट्रियसभा निर्वाचन र प्रदेशका मुख्यमन्त्री तथा सभामुखहरुको विषयमा छलफल गर्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

प्रदेशका मुख्मन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरुको बाँडफाँट संयुक्त कार्यदलले टुंगो लगाइसकेकोले अब एमालेभित्र प्रदेशसभा संसदीय दलको नेता कसरी चयन गर्ने भन्ने बहस भइरहेको छ । ५ नम्बर प्रदेशमा शंकर पोखरेल सर्वसम्मत रुपमा दलको नेता चयन भए पनि अन्य प्रदेशमा हुन सकेको छैन ।

बाँकी प्रदेशमा दलको नेता चुनावबाटै चयन गर्ने कि केन्द्रबाट तोक्ने भन्ने बहस छ । शंकर पोखरेल दलको बैठकबाट चुनिएकाले अरु प्रदेशमा पनि सोही विधि अपनाउनुपर्ने दबाबमा नेतृत्व छ । एमालेको संसदीय दलको नेता लोकतान्त्रिक प्रक्रियाबाटै चयन हुने गरेकाले माथिबाट तोक्न नमिल्ने तर्क गरिएको छ ।

कुन प्रक्रियाबाट मुख्यमन्त्री र सभामुखका उम्मेदवार तय गर्ने भन्ने बारेमा स्थायी कमिटीमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

यसबारेमा अध्यक्ष ओलीले वरिष्ठ नेताहरुसँग पनि परामर्श गर्नेछन् । एमालेले पाएका चार प्रदेशका मुख्यमन्त्री मध्ये ५ नम्बरमा शंकर पोखरेल निर्विवाद भइसकेका छन् । प्रदेश नम्बर १, ३ र ४ मा दाबेदारहरुबीच सहमति नभएकाले स्थायी कमिटीले मापदण्ड बनाएर चुनाव गर्न दिने वा यसपटकलाई समावेशीता र पार्टीभित्रको सन्तुलन मिलाउने गरि नेताहरुको सहमतिमा मुख्यमन्त्री तोक्ने भन्ने विषयमा छलफल हुँदैछ ।

एमालेभित्र समावेशिता र पार्टीभित्रको सन्तुलन मिलाउने गरि प्रदेश नम्बर १ मा शेरधन राई, प्रदेश नम्बर ३ मा अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङ वा किरण गुरुङमध्ये एकलाई मुख्यमन्त्री बनाउने सहमति हुनसक्छ । दुई गुरुङबीच आधा–आधा कार्यकाल बाँड्ने विकल्पसमेत पेश भएको छ ।

तर प्रदेश नम्बर १ मा भीम आचार्यले दाबी नछाडेपछि माधव नेपाल पक्षबाटै जीवन घिमिरले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । पार्टीभित्र शेरधन राई संस्थापन पक्षका हुन् । आचार्यले माधव नेपाल र झलनाथ खनाल पक्षको उम्मेदवारका रुपमा आफूलाई उभ्याएपछि मोरङका घिमिरेले नेपाल पक्षका आधिकारिक उम्मेदवार आफू भएको बताएका छन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका घिमिरेले विराटनगरमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । पार्टी सचिव आचार्यमाथि स्थानीय चुनाव र प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पैसा लिएर टिकट बेचेको आरोपमा छानबिन भइरहेको छ । नेपाल पक्षकै नेताहरुले आचार्य विवादमा परेको भन्दै उनलाई उम्मेदवार नबनाउन माधव नेपाललगायतका नेतामाथि दबाब दिएका छन् ।

यदि चुनाव भएको खण्डमा प्रदेश १ मा शेरधन राई जित्ने र प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य हार्ने अवस्था नआओस् भनेर माथिबाटै मुख्यमन्त्री तय गर्न शीर्ष नेताहरुलाई केही नेताले सुझाव दिएका छन् । पार्टीको उपाध्यक्ष तथा महिला र नेवारसमेत भएकाले ३ नम्बर प्रदेशमा अष्टलक्ष्मीलाई मुख्यमन्त्री नबनाउँदा कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री नहुने अवस्था छ ।

चुनाव भएको खण्डमा ओली पक्षबाट चुनाव लड्ने भन्दै राजेन्द्र पाण्डेले माधव नेपाल समूह छाडेका छन् । त्यस्तै, केशव स्थापित, सानुकुमार श्रेष्ठ, डोरमणि पौडेल पनि मुख्यमन्त्रीका दाबेदार हुन् । चुनाव हुँदा ओली पक्ष ३ नम्बर प्रदेशमा बलियो भएकाले अष्टलक्ष्मीलाई अप्ठेरो पर्न सक्छ ।

मुख्यमन्त्री माओवादीले पाएका प्रदेशमा एमालेले दलको नेता चुनावबाटै गर्न दिने सम्भावना छ । सभामुखको चयन पनि स्थायी कमिटीबाटै हुने सम्भावना छ । एमालेले ४ प्रदेशमा मुख्यमन्त्री र ४ प्रदेशमा सभामुख पाएको छ ।

सभामुख, उपसभामुखको चयनबारे पनि स्थायी कमिटीले मापदण्ड बनाउने श्रेष्ठले बताए । त्यस्तै मन्त्रीको चयन भने पार्टी अध्यक्षसँगको छलफलमा मुख्यमन्त्रीले नियुक्त गर्ने गरी बनाउन सकिने सम्भावना छ । प्रदेश नम्बर २ मा विपक्षी दलको नेताको हैसियतमा रहने संसदीय दलको नेताका लागि सत्यनारायण मण्डल र सत्रुघन महतो प्रमुख दाबेदार छन् ।