कुनै समय पाकिस्तान गएका मोदी, अहिले इमरानको फोन पनि उठाउँदैनन् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कुनै समय पाकिस्तान गएका मोदी, अहिले इमरानको फोन पनि उठाउँदैनन्



लोकसभा चुनावमा प्रचण्ड बहुमत हासिल गरेपछि नरेन्द्र मोदी ३० मे मा लगातार दोस्रो पटक प्रधानमन्त्री पदको सपथ लिनेछन्।

बिहीबार बेलुकी राष्ट्रपति भवनमा सपथग्रहण समारोहको आयोजना गरिनेछ जसमा आठ हजार पाहुनाको उपस्थिति हुने बताइएको छ।

कुनै प्रधानमन्त्रीको सपथग्रहण समारोहमा यति ठूलो सङ्ख्यामा मानिसको उपस्थिति यो पहिलो हो ।

समारोहमा भारत र ६ अन्य देशका सङ्गठन बिमस्टेकका सबै देश – नेपाल, भुटान, बङ्गलादेश, श्रीलङ्का, म्यान्मार र थाइल्याण्डका राष्ट्राध्यक्ष सहभागी हुनेछन्।

यसबाहेक मरिसस र किर्गिस्तानका पनि राष्ट्राध्यक्ष सपथग्रहणमा आउनेछन्।

तर यसपटक भारतले आफ्ना छिमेकी पाकिस्तानलाई निम्तो दिएको छैन।

यद्यपि, पाकिस्तानले भारतको यो विशेष क्षणको साक्षी बन्ने आशा राखेको थियो।

जितपछि नै निम्तोमाथि पाक मिडियामा भइरहेको थियो चर्चाः

पुलवामा हमला र बालकोट एयर स्ट्राइकपछि दुई देशबीचको सम्बन्ध थप चिसिएको छ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो हरेक चुनावी र्‍यालीमा राष्ट्रिय सुरक्षाको मुद्दा उठाएका थिए।

यद्यपि, चुनावमा उनको जितपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जुन भाषा प्रयोग गरेर उनलाई बधाई दिए त्यसबाट यो आशा गरिएको थियो कि पछिल्लो पटकजस्तै यसपटक पनि मोदीको राज्याभिषेकको मौकामा पाकिस्तानलाई बोलाउने सम्भावना छ।

यतिमात्र होइन इमरान खानले चुनावअघि यदि भारतको आम चुनावमा भारतीय जनता पार्टीको जित भए र नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बने शान्तिवार्ताको सम्भावना अत्यधिक हुने बताएका थिए।

विदेशी पत्रकारसँगको कुराकानीमा इमरानले भनेका थिए, ‘भाजपा दक्षिणपन्थी पार्टी हो र यदि उसले जितेको खण्डमा कश्मीरको विषयमा कुराकानी अघि बढ्न सक्छ।’

मोदीको जितपछि पाकिस्तानी मिडियामा निमन्त्रण पाएपछि ‘के इमरान खान भारत जालान् ?’ भनेर बहस नै चलेको थियो।

पाकिस्तानको समा टिभीको न्यूज डिबेटमा उद्घोषकले विश्लेषकलाई प्रश्न गर्छन्, ‘यदि निम्तो दिइयो भने इमरान खान भारत जानुपर्छ ?’

विश्लेषक भन्छन्, ‘मेरो विचारमा पक्कै जानुपर्छ। इमरान खानलाई म शुभकामना दिन्छु। उनको चाहना यही थियो र यदि नरेन्द्र मोदी पुनः प्रधानमन्त्री चुनिए भने सम्बन्ध सुध्रने आशा व्यक्त गरेका थिए। उनले नरेन्द्र मोदीको जितमा सन्देश पनि पठाएका थिए।’

यस्तै अन्य विश्लेषक भन्छन्, ‘यदि उनी नगए पनि त्यति फरक पर्दैन किनभने समारोहमा कुनै कुराकानी त हुने छैन।’

‘हो, यदि कुराकानीका लागि विशेष तरिकाले बोलाइयो भने परिणाम राम्रो निस्कनेछ किनभने जब इमरान खानले आफ्नो सपथग्रहण समारोहमा बोलाउँदा नरेन्द्र मोदी आएका थिएनन्।’

निम्तोमाथि राजनीतिक बहसः

भारतको यो कदमले पाकिस्तानको राजनीति पनि चर्किएको छ।

आफ्नो राष्ट्राध्यक्षलाई नबोलाइएकोमा पाकिस्तानको तर्फबाट प्रतिक्रिया आएको छ जसमा त्यहाँका विदेशमन्त्री शाह महमूद कुरैशीले निम्तोको आशालाई ‘मूर्खता’ बताए।

उनले एक टिभी च्यानलसँग भने, ‘भारतको पूरा चुनाव प्रचार पाकिस्तानकेन्द्रित थियो। यस्तोमा सपथग्रहण समारोहमा उनीबाट निम्तोको आशा गर्न सकिँदैन। उनीबाट निम्तोको आशा गर्नु मूर्खता हो।’

सन् २०१४ मा मोदीको सपथग्रहण समारोहमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफ पनि सहभागी भएका थिए।

यसपटक नबोलाएकोमा नवाज शरीफकी छोरी मरियम शरीफले यसलाई पाकिस्तानको बेइज्जती बताउँदै यसका लागि प्रधानमन्त्री इमरान खान जिम्मेवार भएको बताएकी छिन्।

मरियम शरीफले भनिन्, ‘यो मुलुक (पाकिस्तान) मा यतिबेला निकम्मा सरकार छ। उनीहरूलाई यसकारण बोलाइँदैन किनभने उनीहरूलाई नेताले पैसा माग्ने हुन् कि भन्ने डर छ।’

भारत–पाकिस्तानबीच हालै भएको एयर स्ट्राइकबारे जानकारी दिँदै मरियम भन्छिन्, ‘मोदीले इमरान खानको फोनको जबाफ पनि दिएका थिएनन्।’

मरियमले भनेकी छिन्, ‘यी तिनै मोदी हुन् जो नवाज शरीफको समयमा पाकिस्तान आएका थिए। अब मोदी इमरान खानको फोनसमेत उठाउँदैनन्।’

‘तपाईँ (इमरान खान) ठगेर सत्तामा आउनुभएको हो। तपाईँ कठपुतली हो, अरुको इशारामा नाच्नुहुन्छ यसैकारण अरु देशले तपाईंलाई इज्जत गर्दैनन्।’

पत्रिकाको सल्लाहः पाकिस्तानले गम्भीर भएर विचार गर्नुहोस्

पाकिस्तानी पत्रिका द एक्सप्रेस ट्रिब्यूनले पनि यसबारे चिन्ता व्यक्त गर्दै पाकिस्तानी सरकारलाई आफ्नो व्यवहारमाथि पुनर्विचार गर्न सुझाव दिएको छ।

पत्रिकाले आफ्नो सम्पादकीयमा विदेशमन्त्री शाह महमूद कुरैशी सही भएको बताएका छ। पाकिस्तानका प्रधानमन्त्रीलाई भारतले निम्तो दिएको छैन किनभने यो देशको आन्तरिक राजनीतिसँग जोडिएको मामिला हो।

पत्रिका लेख्छ, ‘चुनावका बेला मोदीले पाकिस्तानको आलोचना गरिरहे। उनको सर्जिकल स्ट्राइकको ड्रामाले ती भारतीयमाथि प्रभाव पार्न सफल रहे जो उनको कामबाट खुसी थिएनन्। ’

‘जस्तै शाह महमूद कुरैशीले भनेका छन् कि नरेन्द्र मोदी आफ्नो राज्याभिषेक अघि पाकिस्तान विरोधी छविबाट बाहिर आउनेछन् भनेर यदि हामीले सोच्यौँ भने त्यो गलत हुनेछ। ’

‘शान्तिको पहलमा भारतको उदासीन रवैयालाई बेवास्ता गर्नका लागि हामी कहिलेसम्म विनम्र रहनुपर्छ ? योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने अर्थव्यवस्था र आन्तरिक सुरक्षासँग जोडिएका हाम्रो बढ्दो समस्याबारे उनीहरूलाई राम्रोसँग थाहा छ। यस्तोमा के मोदीले हामीसँग पूरा गम्भीरतासँग शान्तिवार्ता गर्लान् भनेर आशा गर्न सकिन्छ ?’

द एक्सप्रेस ट्रिब्यून थप लेख्छ, ‘पाकिस्तानी प्रधानमन्त्री इमरान खानका तर्फबाट सद्भावनाको सन्देश दिइएको छ, के त्यसको केही महत्व छैन ? यस्तो के छ जुन भारतीय प्रधानमन्त्रीलाई कुराकानीको मेचमा आउन बाध्य बनाउँछ ? पाकिस्तानले यी प्रश्नको जबाफ खोज्नका लागि गम्भीर विचार गर्नुपर्छ।’

पाक मिडियाको आशाः

समा टिभीको अर्को एक कार्यक्रममा भनिएको छ, ‘नरेन्द्र मोदीको सपथग्रहणमा को–को आउँछन् त्यो थाहा छैन, तर को आउँदैन त्यो सबैलाई थाहा छ। भारतीय मिडियाले यो समारोहमा पाकिस्तानका प्रधानमन्त्रीलाई नबोलाइएको भनिरहेको छ।’

कार्यक्रम प्रस्तोताले यस्तो भनिराख्दा विश्लेषक टिभी स्क्रिनमा आउँछन् र भन्छन्, ‘नवाज शरीफले जब मनमोहन सिंहलाई बोलाएका थिए तब उनी आएका थिएनन् तर जब नवाज शरिफलाई बोलाइयो तब उनी दौडेर गए।’

‘मोदी पाकिस्तानलाई अत्यधिक दबावमा राख्‍न चाहन्छन्। यदि उनी यही नीतिमा हिँड्छन् भने उनी निमन्त्रण पठाउँदैनन्। यदि पठाएका भए पनि इमरान खान जान्थे र उनीसँग रूखो बोल्थे। त्यसकारण मेरो विचारमा सम्बन्ध सुध्रनुको साटो थप बिग्रनेछ।’

(अभिमन्यु कुमार साहा, बीबीसी हिन्दी)