मोदी-सी भेटघाट - सम्बन्ध सुधारको सङ्केत - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

मोदी-सी भेटघाट – सम्बन्ध सुधारको सङ्केत



काठमाडौँ –

चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच किर्गिस्तानमा भेटवार्ता भएको छ। किर्गिस्तानको राजधानी बिश्केकमा सुरु भएको साङ्घाई को-अपरेसन अर्गनाइजेसन (SCO) को दुई दिने सम्मेलनका बेला अलग्गै भेटवार्ता भएको हो।

बिश्केकमा भेटेका मोदी र सी निकै हँसिला देखिन्थे। भातरीय अङ्ग्रेजी अखबार हिन्दुस्तान टाइम्सका अनुसार चिनियाँ राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री मोदीलाई भारत र चीनले एकअर्कालाई ‘खतरा पुर्‍याउन नहुने’ कुरा बताएका थिए।

मोदी र सीको अनौपचारिक भेट बुहानमा भएको थियो। त्यसैलाई पछ्याउँदै मोदी र सी यो वर्ष भारतमा भेट गर्दैछन्। आफ्नो चुनाव-क्षेत्र वाराणसीमा मोदीले सीलाई स्वागत गर्नेछन्।

सन् २०१८ को अप्रिल महिनामा सी र मोदीले चीनको बुहानमा भेटघाट गरेका थिए। दुई दिनसम्म पूर्ण रूपमा अनौपचारिक रूपमा दुई नेताहरूबीच चलेको उक्त भेटघाटलाई ‘अनौपचारिक सम्मेलन’ नाम दिइएको थियो। मोदी-सीबीचको उक्त वार्ता भारत-चीनबीच चलेको करिब ७३ दिन लामो दोक्लाम विवाद टुङ्ग्याउन सहयोगी भएको थियो। त्यसयता दुई देशबीच कुनै उल्लेखनीय विवाद निम्तिएका छैनन्।

चिनियाँ विदेश मन्त्रालयले पनि सीले मोदीलाई भारत र चीनबीचको सहकार्यलाई अझै गहिरो बनाउने र दुई देशबीचका असमझदारीलाई विधिसम्मत तरिकाले हल गर्ने कुरा बताएको उल्लेख गरेको छ। ‘चीन दुवै देशबीच घनिष्ट विकास साझेदारीलाई अघि बढाउन भारतसँग काम गर्न तयार छ,’ राष्ट्रपति सीलाई उद्धृत गदै चिनियाँ विदेश मन्त्रालयले भनेको छ।

राष्ट्रपति सीले चीन र भारतको विकासका लागि दुवै पक्षले एक-अर्कालाई मौका दिनुपर्ने र एकले अर्कालाई खतरा पुर्‍याउन नहुने बताएको चिनियाँ ससरकारी समाचार संस्था सिन्ह्वालले उल्लेख गरेको छ।

मोदी खानसँग बोलेनन्

साङ्घाई को-अपेरसन सम्मेलनमा भाग लिन किर्गिस्तान पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान मोदीसँग एउटै डिनर टेबलमा बसेको  तर एकअर्कासँग नबोलेको भारतीय अखबार इन्डियन एक्सप्रेसले जनाएको छ। डिनरका लागि राजधानी बिश्केकको फ्रुन्जी रेस्टुरेन्टको टेबलमा आमुन्ने सामुन्ने भएका खान र मोदी दुवैले सामान्य औपचारिक हाँसो साटासाट गरेको समेत देखिएन।

रात्रि भोजनपश्चात् किर्गिज राष्ट्रिय सङ्गीत समूहले आयोजना गरेको गाला कन्सर्टमा पनि मोदी र खान अगाडिको पङ्क्तिमा बसेका थिए। उनीहरूका बीचमा अरू ७ नेता थिए। त्यहाँ पनि दुई जनाबीच कुनै संवाद भएन।

तर यस्तो घटना दुई वर्षअघिको घटना भन्दा भिन्न हो। सन् २०१५ मा मोदीले पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफको जन्मदिनमा सहभागी हुन ‘सरप्राइज’ भ्रमण गरेका थिए।

लाहोर भेटघाटको करिब १७ महिनापछि काजाकस्तानमा भएको १७ औँ साङ्घाई सम्मेलनमा पनि सरिफ र मोदीले भेटवार्ता गरेका थिए। त्यहाँको एक नाचघरमा भएको सांस्कृतिक कार्यक्रममा मोदीले प्रधानमन्त्री सरिफ र उनको परिवारको स्वास्थ्य अवस्थाका बारेमा सोधखोज गरेका थिए।

सन् २०१६ मा भारतको उरीमा भएको आक्रमणमा १९ भारतीय सैनिक मारिएका थिए। त्यसपछि दुई देशबीचको सम्बन्ध निकै ओरालो लागेको छ। सो आक्रमणको जिम्मा आतङ्कवादी सङ्गठन जैश-ए- मोहम्मदले लिएको थियो।

भारतको उक्त सङ्गठनलाई पाकिस्तानले संरक्षण गरिरहेको आरोप लगाएको छ। त्यही समूहले नै पछिल्लो पटक गत १९ फ्रेब्रुअरीमा आक्रमण गरी ४० जना भारतीय सैनिकको ज्यान लिएको थियो। त्यसको साटो फेर्न भारतले पाकिस्तानको बालाकोटमा ‘सर्जिकल’ आक्रमण गरेको थियो।

यी दुई घटनाले बिगारेको दुई देशको सम्बन्ध अझै सामान्य हुन सकेको छैन।

मोदीले आफ्नो दोस्रो कार्यकालको सपथग्रहण समारोहामा समेत पाकिस्तानी प्रधानमन्त्री खानलाई बोलाएनन्। अघिल्लो कार्यकालमा दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)का नेतालाई बोलाएका मोदीले यसपालि भने बिम्स्टेकका नेतालाई बोलाएका थिए, जहाँ पाकिस्तानको उपस्थिति रहेन।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)