मोदी र जयशङ्कर छिमेकी देशको दौडाहामा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मोदी र जयशङ्कर छिमेकी देशको दौडाहामा



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी माल्दिभ्स र श्रीलङ्काको भ्रमणमा निस्केका छन्। दोस्रो कार्यकालका लागि सपथ लिएको साता दिनपछि मोदीको यो प्रथम विदेश भ्रमण हो र मोदी समुद्रले जोडिएका दुई छिमेकीको भ्रमणमा निस्केका हुन्।

मोदीले शनिबार माल्दिभ्सको संसदलाई सम्बोधन गरेका छन्।  उनले राष्ट्रपति मोहम्मद इब्राहिम सोलिहलाई क्रिकेटको ब्याट उपहार दिएका छन्। सोलिहको क्रिकेट प्रेमको प्रशंसा गर्दै मोदीले इङ्ग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप खेलिरहेका भारतीय खेलाडीको हस्ताक्षरसहितको ब्याट सोलिहलाई उपहार दिएका हुन्। मोदीले माल्दिभ्सको क्रिकेट विकासमा भारतले सघाउने प्रतिवद्धता पनि जनाएका छन्।

गत वर्षको चुनावमा निकै शक्तिशाली मानिएका चीननिकट राष्ट्रपति अब्दुल्ला यामिनलाई सोलिहले आश्चर्यजनक रूपमा पराजित गरेका थिए।

मङ्सिरमा भएको उनको सपथमा मोदी आफैँ सहभागी भएका थिए। २०१४ मा भारतका प्रधानमन्त्री बनेका मोदी पहिलो कार्यकालमा अरू कुनै विदेशी राष्ट्ररसरकार प्रमुखको सपथमा सहभागी भएका थिएनन्। यामिनको शासनकालमा भारतका प्रधानमन्त्रीले माल्दिभ्सको नै भ्रमण गरेका थिएनन्।

माल्दिभ्सको भ्रमण सकेर मोदी आइतबार श्रीलङ्का जाँदैछन्। महिन्द्रा राजापाक्षेको शासन ढलेर मैत्रीपाला सिरिसेना राष्ट्रपति बनेपछि भारत(श्रीलङ्का निकट भएका छन्। राजापाक्षे चीनसँग निकट भएको भन्दै भारत रूष्ट थियो।

यता पहिलो पटक विदेशमन्त्री बनेका एस जयशङ्करले पनि मन्त्रीका हैसियतमा आफ्नो पहिलो विदेश भ्रमण छिमेकीबाट सुरु गरेका छन्। उनी शुक्रबार एक दिने भ्रमणका लागि थिम्पु पुगेका थिए। थिम्पुमा जयशङ्करले राजा जिग्मे केशर न्यामगेल वान्चुकसँग भेटवार्ता गरेका छन्। त्यही दिन उनले प्रधानमन्त्री लोटे छिरिङसँग पनि दुई पक्षीय भेटवार्ता गरेका छन्।

सन् २०१४ मा प्रधानमन्त्री बनेपछि मोदी आफ्नो पहिलो विदेश भ्रमणमा भुटान गएका थिए।

भारतीय विदेश मन्त्रालयले छिमेकी पहिला नीतिअनुसार मोदी र जयशङ्कर ती देशहरूको भ्रमण गरेको जनाएको छ।

मोदीको सपथ ग्रहणमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

(एजेन्सी)