भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग प्रहरीले लियो ३ घण्टा लामो बयान - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग प्रहरीले लियो ३ घण्टा लामो बयान



काठमाडौँ- आफैले आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको घटनामा जोडिएकाहरूसँग प्रहरीले बयान लिएको छ । आचार्यले उठाएको विषयसँग सबन्धित रहेका व्यवसायीहरू बयान लिने काम सकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले बताएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग करिब ३ घण्टा बयान लिएको पाइएको छ । आचार्यले उधारोमा समान लिएर भाटभटेनीले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैँले नाफा कमाउने गरेको आरोप लगाएका थिए ।

प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग पनि बयान लिएको छ । आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले चलाएको नेपाल गाग्रोध्योग कम्पनीलाई आफुले बेचेको घ्यूको पैसा नदिएको आरोप लगाएका थिए ।

यस्तै क्याथफोर्ड कलेजका सञ्चालक सुमन कटुवालसहित १२ जना व्यक्ति र संस्थाका प्रतिनिधिहरूसँग बयान लिएको छ । ललितपुरको बालकुमारीमा सञ्चालित क्याथफोर्ड कलेजले दादागिरी शैलीमा १ लाख ७५ हजार नदिएको आचार्यले आरोप लगाएका छन् ।

पवन गोल्यानको गोल्यान एग्रो र नक्सालस्थित शान इन्टरनेशल कलेजका प्रतिनिधिसँग प्रहरीले बयान लिएको छ । यस्तै बिग मार्टले ५–७ लाखको समान अर्डर गरेर ७५ हजार देखि डेढ लाख मात्रै भुक्तानी दिने गरेको आचार्यले आत्मदाह अघि फेसबुकमा लेखेको स्ट्याटसमा उल्लेख गरेका छन् ।

यस्तै शान इन्टरनेशनलले ९० हजार नदिएको आचार्यको आरोप छ । थापाथलीस्थित सुजुकी शोरुमले आफ्नो ४ लाख फिर्ता नगरेर आत्मदाह गर्न बाध्य बनाएको उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् ।

आरोपीहरूले बयानमा भनेका कुरा र तथ्यहरूबारे प्रहरी विश्लेषण गरिरहेको छ । आत्मदाह अघि आचार्यले पोस्ट गरेको ६ हजार शब्दभन्दा लामो फेसबुक स्ट्याटस र उनको पत्नीले दिएको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।