कविता : साला पहाड मे क्या है ! - Himal Post Himal Post
  • ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
Logo

कविता : साला पहाड मे क्या है !



~मीन बहादुर बिष्ट~

१. मुहानबाट निस्केर फुत्त
कहीँ हुत्तिँदै कहीँ थामिँदै
तर कहीँ कतै पनि
पछाडि फर्केर
एक नजरसम्म
नलगाउँदै
बरु उल्टै दुई किनारहरूमा
सालिकझैँ
उभिएका रोगी पहाडहरूलाई
लात हान्दै बेस्सरी
भागिरहेछ नदी
देश छोडेर !

२. काँधमा रातो रुमालले बीचमा
टपक्क बाँधेको झोला र
कम्मरमा
वर्षौँदेखि शान नलगाई
खिया परेको
खुकुरी भिरेर
थला परेका
बूढा बाआमालाई
मुर्दाघर जस्तो घर
रुङ्न अह्राउँदै
पियारीहरूलाई साथमा लिएर
हिँडिरहेछन् तन्नेरी छोराहरू
जनम ठाउँ छोडेर ।

३. बेमौसम
अज्ञात मुलुकबाट
आएको बताससँगसँगै
लहस्सिँदै र बतासिँदै
उडिरहेछन् दिशाहिन भएर
सुन्दर, मुलायम
फूलका कलिला कोपिलाहरू
र हरिया, नरम पातहरू
बिल्कुल नाङ्गो र कुरुप पार्दै
पर्वतका शृङ्खलाहरूमा
लाम बाँधेर
परेडमा उभिएका सिपाहीझैँ
उभिएका वटवृक्षहरूलाई ।

४. लामो खडेरीपछि आएको
अविरल हुरी र झरीद्वारा
घरद्वार गुमाएका
परेवाका बथानहरू
सुकुम्बासीझैँ
खडेरीले शुष्क भएको छाती र
बर्सात्‌ले निथ्रुक्क भिजेको जिउ लिएर
न बस्ने बासको ठेगान
न खाने गाँसको ठेगान
बिल्कुल बेठेगान भएर
भौतारिइरहेछन्
कहिले पूर्व दिशा त
कहिले पश्चिम दिशा ।

५. त्यस्तो केही छैन पहाडमा
जसको म एउटा कविता लेख्‍न सकूँ
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको कुनै लेखकले एउटा
निवन्ध लेख्‍न सकोस्
जस्तो कि
धेरै वर्ष
लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कँदा
बातैपिच्छे
भन्ने गर्छन् लाहुरेहरू
‘साला पहाडमे क्या है’
हो, केही छैन ‘साला’ पहाडमा
केही छैन, तर जरुर केही छ पहाडमा
जस्तो—
नवजात शिशु मरेका आमाहरूझैँ
असाध्यै पीडामा आँसु बगाइरहेका
नदीका मुहानहरू छन्,
चटक्क माया मारेर हिँडे पनि नदीले
अलिकति फोहोर पानी र
केही भ्यागुताहरूको पसल थापेर
कत्ति पनि हलचल नगरी
चट्टान झैँ जमेका
केही पोखरीहरू छन्,
एक्कैसाथ घर रुङ्दै र काल कुर्दै गरेका
केही बूढाबूढीहरू छन्,
अनुहार सक्किएका केही पर्वतहरू र
यौवनमै ठहरै परेका
केही वटवृक्षहरू छन्
र छन् आँखाबाट रगतको आँसु चुहाउँदै
कलेजै कटाउने गरी
घुरिरहेका सुकुम्बासी
परेवाका बथानहरू ।

-0-