एमसीसीले निकाल्यो तीन वटा फरक फरक ठेक्का - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

एमसीसीले निकाल्यो तीन वटा फरक फरक ठेक्का



बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल)ले उच्च क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्न ठेक्का निकालेको छ। आगामी भदौसम्म निर्माण शुरू गर्ने तालिका अनुसार ठेकेदार छनोट गर्न सोमबार बोलपत्र आह्वान गरिएको छ।

एमसीए नेपालले लप्सीफेदी-रातमाटे-बुटवल प्रसारण लाइन निर्माणका लागि तीन वटा फरक फरक ठेक्का निकालेको छ। जस अनुसार, पहिलो लप्सीफेदी-रातमाटे-न्यू हेटौंडा पहिलो लट निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। दोस्रो लटमा रातमाटे-न्यू दमौली र तेस्रो लटमा न्यू दमौली-न्यू बुटवल तथा न्यू बुटवलबाट भारतीय सीमासम्म प्रसारण लाइन निर्माण गर्नुपर्ने ठेक्का छन्।

इच्छुक कम्पनीले यी प्रसारण लाइनको डिजाइन, आपूर्ति, डेलिभरी, जडान, परीक्षण तथा कार्यसम्पन्न गर्ने सुनिश्चितता गर्नुपर्नेछ। आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको छ। यस्तै, आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन, एलाइनमेन्ट सर्भे, जग्गा अधिग्रहण लगायतका काम अन्तिम चरणमा छन्। इच्छुक कम्पनीले चार महीनाभित्र आवेदन दिन सक्ने एमसीए नेपालले सूचनामा उल्लेख गरेको छ।

आगामी भदौदेखि शुरू गरेर पाँच वर्षभित्र यो आयोजनाको निर्माण सम्पन्न गर्नेबारे नेपाल र अमेरिकी सरकारबीच समझदारी भइसकेको छ। ठेकेदार छनोट तथा कार्य शुरू गर्न करीब ६ महीना लाग्ने अनुमानका आधारमा ठेक्का प्रक्रिया शुरू गरिएको हो। ४०० केभी उच्च क्षमताको डबल सर्किट यो प्रसारण लाइनले तीन हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकारबीच २०७४ भदौमै ५०० मिलियन डलरको यो परियोजना कार्यान्वयनका लागि समझदारी भए पनि नेपालमा यो परियोजनालाई लिएर राजनीतिक विवाद उत्पन्न भएको थियो। गत वर्ष संसद्ले दुई देशबीचको समझदारी अनुमोदन गरेसँगै यो कार्यान्वयनमा जाने सुनिश्चित भएको थियो। आयोजना निर्धारित पाँच वर्षको समयावधिमा सक्नैपर्नेछ। आयोजनाको औपचारिक काम शुरू हुनुअघि सम्पूर्ण तयारी सकेर निर्माण शुरू गरिन लागिएको हो।

प्रस्तावित आयोजनामा प्रसारण लाइनका कुल ८५६ वटा टावर निर्माण गरिनेछन्। टावर लाइन निर्माणका लागि अहिले रूख कटानको स्वीकृति र अधिग्रहणको प्रक्रिया चालू छ। यो प्रसारण लाइनले भारतसँगको दोस्रो अन्तरदेशीय प्रसारण लाइनका लागि आधार निर्माण गर्नेछ। अहिले भारतसँग ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइन मात्रै छ। न्यू बुटवलबाट भारतसम्म अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न नेपाल-भारतबीच सहमति भएर काम शुरू भइसकेको छ।

प्रसारण लाइनपछि अब सबस्टेशन निर्माणका लागि पनि ठेक्का निकाल्ने तयारी छ। यो प्रसारण लाइनका लागि नुवाकोटको रातमाटे, दमौली र बुटवल गरी तीन वटा सबस्टेशन निर्माण गर्ने तयारी छ।