मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्षले झन्डै एक करोड भ्रष्टाचार गरेको भेटियो - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्षले झन्डै एक करोड भ्रष्टाचार गरेको भेटियो



रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले ९१ लाख ८६ हजार ५४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भेटिएको छ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान बयोगले छानबिन गर्दा उक्त रकमको स्रोत खुल्न नसकेको हो।

२०७४ सालमा उक्त गाउँपालिकाको अध्यक्ष चुनिएका उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

बानियाले गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएदेखि जाँच अवधिसम्ममा पारिश्रमिक, बैठक भत्ता लगायत, ट्र्याक्टर र हार्वेस्टर बिक्रीबाट प्राप्त रकम, उनको छोराको नाममा रहेको घर गाउँपालिकालाई बहालमा दिएबापत प्राप्त रकम, कृषि आय, बीमाबापत प्राप्त रकम, शाखारहित बैंक सञ्चालन र राईस मिलबाट ८४ लाख १० हजार ४ सय ५१ रुपैयाँ कमाएको भेटिएको छ।

तर, उनले छोराहरुलाई अध्ययन खर्च, घर निर्माण खर्च, छोराको नाममा विभिन्न ठाउँमा जग्गा खरिद, बीमाबापत बुझाएको प्रिमियम रकम, छोराको नाममा मोटरसाइकल र ट्र्याक्टर खरिद खर्च, कर्जाबापत तिरेको साँवा ब्याज रकम, राइस मिलको आयबापत तिरेको आयकर र आफू र आफ्ना परिवारका सदस्यको नाममा १ करोड ७५ लाख ९६ हजार ९९४ रुपैयाँ देखिएको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजायका साथै उनको र परिवारको नाममा हाल कायम रहेको सम्पत्तिसमेतबाट उक्त रकम असुल्न मागदाबी गरिएको छ।