गजल : .... जमाना गयो ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गजल : …. जमाना गयो !



– मनु मन्जिल

 भीरपाखा फूल फुल्ने जमाना गयो
महक बोकी हावा डुल्ने जमाना गयो।

वसन्तले हारेर गो’ शीतलहरको राज छ
मौसमले रङ बदल्ने जमाना गयो।

नदीमा छाल उठ्यो आज सायद कोही डुब्यो
माझीदाइले धुन सुसेल्ने जमाना गयो।

धमिलो छ पानी भित्र आकाश देखिँदैन
तलाउमा तारा बटुल्ने जमाना गयो।

कागहरूको गीत सुन्ने नयाँ आदत बस्यो
कोइली चुप ! तिमी बोल्ने जमाना गयो।