मन्त्री र वरिष्ठ नेताहरूको जमानत नै जफत - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

मन्त्री र वरिष्ठ नेताहरूको जमानत नै जफत



काठमाडौं । दुई पटक सांसद र दुई नै पटक मन्त्री भएका जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, तीनपटक सांसद र एकपटक मन्त्री भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता लक्ष्मणलाल कर्णको जमानत ‘जफत’ हुने भएको छ ।

त्यस्तै, दुई पटक सांसद र एकपटक राज्यमन्त्री भएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता रामवीर मानन्धर पनि यो निर्वाचनमा जमानत जोगाउन नसक्ने पंक्तिमा परेका छन् । प्रतिनिधिसभामा काठमाडौं ७ बाट उम्मेदवार श्रेष्ठ एक महिनाअघि मन्त्री थिए । न्यूनतम १० प्रतिशत मत कटाउन नसक्दा उनको जमानत जफत भएको हो ।

कुल सदर मतको १० प्रतिशत कटाउन नसक्ने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था छ । काठमाडौं ७ मा कुल ३६ हजार ६१ सदर मत रहेकामा श्रेष्ठले २ हजार ४ सय ६१ मत मात्रै पाए । कुल सदर मतको अनुपातमा उनले ६.८ प्रतिशत मत पाएका छन् । मध्यावधि निर्वाचन २०५१ मा प्रत्यक्ष सांसद विजयी श्रेष्ठ २०७४ मा जसपाबाट समानुपातिक सांसद थिए । उनी दुईपटक मन्त्री भइसकेका छन् ।

श्रेष्ठ २०५५ मा आवास तथा भौतिक योजनामन्त्री र शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिए । जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि उनीसहित जसपाका चार मन्त्रीलाई देउवाले गत २७ असोजमा बर्खास्त गरेका थिए । यसैगरी, जमानत जोगाउन नसकेका पूर्वराज्यमन्त्री मानन्धर हुन् ।

एमालेबाट टिकट नपाएपछि काठमाडौं ७ बाटै स्वतन्त्र चुनाव लडेका मानन्धर १ हजार २ सय १५ मतमै सीमित भए । यो कुल सदर मतको ३.३ प्रतिशत हो। मानन्धर यही क्षेत्रबाट २०७० र २०७४ मा गरी दुईपटक सांसद जितेका नेता हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा २०७६ मा उनी सहरी विकास राज्यमन्त्री थिए ।

लोसपाका वरिष्ठ नेता कर्णले पनि यसपटक जमानत जोगाउन सकेनन् । पर्सा १ बाट उम्मेदवारी दिएका उनले १ हजार १ सय १७ मत पाए । ४८ हजार ५ सय २६ सदर मतमा उनले पाएको हिस्सा २.३ प्रतिशत मात्र हो । २०६४ र २०७० मा समानुपातिक सांसद बनेका उनी २०७४ मा पर्सा ४ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा उनी बिना विभागीय मन्त्रीसमेत बने ।

पराजित प्रदेशमन्त्री
पराजित मन्त्रीमध्ये प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव पर्छन् । मोरङ ५ (ख)बाट उम्मेदवारी दिएका जसपाका नेता यादवलाई कांग्रेसका अमृतकुमार अर्यालले पराजित गरे । अर्यालले १५ हजार ८९ र यादवले १० हजार ८१ मत ल्याए । उनी ५ हजार ८ मतले पारजित भएका हुन् ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह पनि पराजित भए । सप्तरी २ (क)मा चुनाव लडेका जसपाका नेता साहलाई जनमत पार्टीका सतिशकुमार सिंहले हराए । उनी दोब्बर मतले पराजित भएका हुन् । सिंहले १६ हजार ७ सय ३४ मत ल्याउँदा साहले ८ हजार २ सय ९२ मत मात्र ल्याए । त्यस्तै, मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव पनि पराजित भएका छन् ।

रौतहट १ (ख)मा जसपाका उम्मेदवार उनलाई कांग्रेसका कृष्णप्रसाद यादवले हराए । दोब्बरभन्दा बढी मतले पराजित भएका उनी नतिजामा तेस्रो स्थानमा छन् । यादवले १२ हजार ४ सय ८९ मत ल्याउँदा उनले ५ हजार ७ सय २९ पाए । बाग्मती प्रदेशका श्रम तथा रोजगारमन्त्री घनश्याम दाहाल पनि पराजित भए ।

चितवन २ (क)बाट चुनाव लडेका माओवादी केन्द्र उम्मेदवार दाहाललाई एमालेका कृष्णप्रसाद सिलवालले पराजित गरेका हुन् । सिलवाल १६ हजार ५ सय मतसहित विजयी भए भने दाहालले पाएको मत १५ हजार २ सय ६० हो । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमाल पनि पराजित भए । कांग्रेसबाट बाँके २ (ख)मा चुनाव लडेका उनी प्रतिस्पर्धामा तेस्रो स्थानमा पुगे ।

जसपाका आदेशकुमार अग्रवालले ८ हजार २ सय ४६ र उनले ६ हजार २ सय ४७ मत ल्याएका थिए । यसैगरी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल पनि पराजित भएका छन् । कांग्रेसबाट चुनाव लडेका उनी नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीसँग पराजित भए । कैलाली १ (ख) बाट उम्मेदवार बनेका चौधरीले ११ हजार ३ सय १८ मत ल्याउँदा रावलले ८ हजार ५३ मत मात्र प्राप्त गरे । सुदूरपश्चिमकै सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा पनि पराजित भएका छन् ।

डडेलधुरा (ख)बाट चुनाव लडेका उनलाई स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीले हराए । जोशीले ११ हजार १ सय ६२ मत ल्याउँदा कांग्रेस उम्मेदवार बोहराले १० हजार ७ सय ३७ मत मात्रै प्राप्त गरे । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन मतपरिणाम सार्वजनिक क्रम जारी नै छ ।

तर, अहिलेसम्म सार्वजनिक मतपरिणामअनुसार भने केही पूर्वमन्त्री, पटकपटक सांसद भएका नेताको जमानत जफत हुने क्रम बढ्दै छ । यी चर्चित नेता जमानतसमेत जोगाउन नसक्ने अवस्थामा पुगेपछि चर्चा चुलिँदै छ ।