मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने



बुटवल ।प्रदेशहरुको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक स्थगित भएको छ ।

अस्थायी मुकाम तोक्न बुधबार विहान मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश अस्थायी मुकामसम्बन्धी प्रस्ताव पेश गर्नासाथ मन्त्रीहरुले आआफ्नो अडान राखेका थिए ।

एक मन्त्रीले भने, ‘सबैले आफ्नो अनुकुल अस्थायी मुकाम हुनुपर्छ भन्न थालेपछि बैठक लम्बियो र तीन बजे फेरि बस्ने गरी स्थगित भएको छ ।’

प्रधानमन्त्रीको प्रस्तावमा प्रदेश १ को अस्थायी मुकाम विराटनगर प्रस्ताव गरिएको छ । तर, राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका सुनिलबहादुर थापाले धनकुटा हुनुपर्ने तर्क अघि सारेका छन् ।

प्रदेश २ को राजधानी जनकपुर प्रस्ताव गरिएको छ भने ३ मा विवाद देखिएको छ । उपप्रधानमन्त्री कमल थापाले हेटौंडालाई अस्थायी मुकाम बनाउनुपर्ने माग राखेका छन् ।

प्रदेश ४ को अस्थायी मुकाम प्रस्ताव गरिएको छ । ५ को दाङ र बुटवल भन्नेमा मन्त्रीहरुबीच विवाद छ । ६ को सुर्खेत प्रस्ताव गरिएको छ भने ७ मा धनगढी र दिपायल भन्नेमा मन्त्रीहरुकाे मत बाझिएको छ ।