कथा : बुधनको घोडी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कथा : बुधनको घोडी



– मन्दिरा मधुश्री

हरियाको सलमान आफ्नी करिस्मामाथि उक्लिएको देखेर बुधनले सपना हो कि भन्ठान्यो। अनि त अझ बढी नियालेर हेऱ्यो। मनमनै भगवान्‌लाई पुकाऱ्यो। हे भगवान्‌ बिपना नै होस्। सत्य नै होस्।

आफूलाई चिमट्दा चस्स भएपछि आँखा पुनः त्यही दृष्यमा गाढ्यो। सलमान करिस्माको जिउमा घरि आफ्नो जिउ दराल्थ्यो, घरि मुख। तीन चार पटक नै सलमान करिस्मामाथि उक्लेको देखेपछि ऊ खुसीले झण्डै उफ्रेर पागल भएको। तर त्यो खुसी प्रकट गर्ने माध्यम नै पाएन उसले। न त खुसी बाँड्ने व्यक्ति नै। ऊ आफैँमा खुसी दबाएर ढुक्कसँग भन्यो आफैँसँग, “जे होस्, अब भने मेरा दुःखका दिन गइहाल्छ रे। अब करिस्माले एकटा बछडा दिइहाली भने त म उसको बड्का बनाएर बेचि लिइ हाल्छु। अनि गोपी सरले ऐलानी जग्गा मिलाईदिन्छु भनिलिएको छ। त्यहीँ फूसके घर बनाइलिइहाल्छु। अनि चन्दुलाई शादी करके ल्याइहाल्छु।”

सौराहा चोक टाँडीबाट एक हुल पर्यटक लगेर सौराहा बजारमा ओह्रालेपछि टाँगाबाट करिस्मालाई खोलेर चर्न छोडिदिएको थियो उसले राप्ती नदीको किनारमा। अलिक पर हरियाको ‘सलमान’ पनि चरिरहेको थियो। उसले उद्देश्यले चाहिँ छोडेको थिएन करिस्मालाई। न त त्यस्तो होला भन्ने आशा वा शङ्का नै तर अकस्मात् र अप्रत्याशित काम गरे सलमान र करिस्माले।

उसले वरिपरि नियालेर हेऱ्यो, कतै हरिया चाचाले त देखिलिएन ? यदि उसले देखेको भए फेरि आफ्नो घोडाको बालको रकम दिइहाल् भन्ने पो हो कि…। घोडाको एकचोटि बाल लगाइलिएको पच्चीस सय लिन्छ अरूलाई। आ…के मैले उसकहाँ लिएर गइलिएको हैन नि करिस्माको। चरनमा उसको सलमान नै दौडेर आइलिएको त हो नि करिस्माके सँग। तर के थाहा ? चाचाले यसैमा निहुँ खोजेर दुस्मनी गरिलिने पो हो कि ? आ गरे नि गरोस्। गरिलिएछ नै भने पनि करिस्माले एउटा स्वस्थ बछेडा दिइहाली भने त्यसको पच्चीस सय हैन तीन हजार नै दिदिन्छु लौ जा। आफैँलाई प…र पुऱ्याएर सोचेको थियो बुधनले। तर अहँ वरपर चियापसल तिर कतैपनि देख्दैन हरियालाई उसले। सायद चिया खान वा त सवारी खोज्‍न बजारतिर गइलिएको हुन सक्छ हरिया चाचा।” यस्तै सोच्यो बुधनले।

क्यामरा तेर्साएर मनोरम दृष्य कैद गरिरहेका अनि चियाको चुस्कीसँगै किनारामा आराम कुर्सीमा आराम गरिरहेका खैरे पर्यटकहरू प्रायः सबैको क्यामेरा सोझिएका थिए करिस्मा र सलमानको प्रणय क्रीडातिर। उनीहरूलाई यो अकस्मात् र क्षणिकको सुन्दर र दुर्लभ दृष्य थियो। क्यामेरामा कैद गर्न पाएका कुइरे पर्यटकहरू ल्यापटपमा डाउनलोड गरेर हेर्दै थिए। किनभने प्राणी वा जनावरको प्रजननका यस्ता दृष्य जहाँतहाँ कहाँ पाइन्छ र ? अकस्मात् र अप्रत्यासित भेटिएको यस्तो दृष्यलाई कैद गर्न पाएका कुइरेहरू दङ्ग थिए। भिन्दै मनोरञ्जन पाएका थिए सबैले। मोबाइल र ल्यापटपले देश विदेशमा पुऱ्याइरहेका थिए करिस्मा र सलमानको प्रणय लिला।

किनाराको एउटा ढिस्कोमा झोक्राएर बसेको बुधनलाई पनि खुसी गराएकी थिई करिस्माले। किनभने उसले सोचेको सपना आज पूरा हुने सङ्केत दिएकी थिई करिस्माले।करिस्मालाई किनेदेखि नै उसले एउटा सपना देखेको थियो। भरपर्दो सपना। करिस्माले बछेडा पाएपछि ठूलो बनाएर बेच्‍ने। बेचेपछि आएको पैसाले घर बनाउने। घर भएपछि घरजम गर्ने।

“करिस्मा गाभिन भइलियो भने त …? आफ्नो सपना पूरा हुन दुई चार वर्ष त हो नि !” दङ्ग पऱ्यो बुधन सपना पूरा हुाने सपना देखेर। वरपरको वातावरण बदलिइसकेको थियो। सलमान करिस्मालाई छोडेर नदीतिर झरिसकेको थियो पानी खान। पर्यटकहरू तितर–बितर भइसकेका थिए। करिस्मा पनि चर्न थालेकी थिई। बुधन करिस्माको नजिक गयो र चरिरहेको करिस्मालाई बिस्तारै सुम्सुम्यायो। कानका जरी र गाला मुसार्यो र अङ्गालो माऱ्यो। करिस्माले पनि आफ्नो नाक दराली उसको टाउकोमा। भरोसा दिएजस्तै लाग्यो बुधनलाई करिस्माले।

बेजुवान नै आफ्नो खुसी साट्यो करिस्मासँग बुधनले। दश बजेको पालो थियो बुधनको टाँगाको। तर किन किन उसलाई आज करिस्मालाई सवारी गराउन मन लागेन। घरमै लगेर आराम गर्न दिने सोच्यो। उसले डोऱ्याउँदै लग्यो टाँगा भएतिर।

सौराहा चौकनेर आइपुग्दा अकस्मात् आफ्नो सामुन्ने हातमा दुवाली लिएको हरियालाई उभिरहेको देख्यो। झण्डै सातो पुत्लो उडेको उसको। उसलाई लाग्यो, हरियालाई सब पता चलिसकेको छ। सलमान र करिस्माको कुरा। त्यसैले त उसलाई गाली गर्न वा पैसा माग्‍न उभिएको छ यहाँ। “हे रे बुधन, मलाई नसोधि मेरै सलमानसँग मिसाइलिस आफ्नो करिस्माको ? यही भनेर उसको गर्धनमा भएको गाम्छा समात्‍ने छ अनि पच्चीस सय निकालीलिन्छस कि यही दुवालीले मारिलिइहालुँ रे तँलाई ?” यसै भन्ला भन्ने डरले डराएर नीलो…भयो बुधन्।

“हे रे बुधन .., मेरो सलमानको….” यति मात्र बोलेको थियो हरिया, बोली टुङ्ग्याउनै दिएन बुधनले। अत्तालिँदै दाहिने हातले आफ्नो रुद्रघण्टी समाउँदै भन्यो, “राम कशम हरिया चाचा, मैले करिस्मालाई… सलमानको सँग…।” डराएर पूरा वाक्य बोल्नै सकेन बुधनले। हडबडाएर काँपेको स्वरमा बोलेको देखेर आशा विपरीत उसको काँध थपथपाउँदै हरियाले भन्यो, “रे के भयो रे बुधन तँलाई ? किन यसरी डराइलिएको ? मलाई भूत देखिलिइस कि के हो रे ? मैले त मेरो सलमानको देखिहालिस कि भनेर सोधिलिन खोजेको थिएँ, त करिस्मासँगै ल्याइदिहालेको भए हुने भनिलिन खोजेको थिएँ। मैले अच्छा खासा सवारी भेटेको छु। खैर छोडिहाल्। त्यही खोलोके छेउमे चर्न छोडिलिए थेँ। अब म गएर ल्यैहाल्छु रे। तँ जाँदै गर्…।” बोल्दै हिँडिसकेको थियो हरिया।

हरिया र बुधन विपरीत दिशातिर लागे। बल्ल बुधनको सास आयो। “धेत्तेरी… हरिया चाचाको त मालुम नै रहेनछ, बित्थामा म पनि यतिधेरै डराइलिएँ। आफनै टाउकोमा प्याट्ट पार्यो बुधनले अनि करिस्मातिर हेर्दै भन्यो, पता नचलोस चाचालाई एैले। बस् तँ एउटा राम्रो बछेडा दिइदिहाल, त्यसपछि त पच्चीस सय हैन तीन हजार नै दिदिन्छु रे।” ढुक्क हुन खोज्यो बुधन।

टाँगा लिएर घरसम्म पुग्दा उसले बाटाभरि केही र कसैलाई देखेन। रातो रातो, चिल्लो चिल्लो राम्रो, सानो करिस्मा जस्तै बछेडा उसको आँखाभरि दौडिरह्यो। बेलुका उसले अलिक बढी गुँड मिसाएर धान दियो करिस्मालाई। मायाले सुम्सुम्यायो। पानको पात तताएर उसको सुत सेकिदियो। कोइलामा खोर्सानी डडाएर करिस्मालाई सुँघायो र वरिपरि घुमायो अनि दोबाटोमा लगेर राखिदियो।

गोपी सरकोमा कुनै गाई भैँसीलार्इै बहर, राँगासँग मिसाएर ल्याएको दिन बेलुका यसै गरेको देखेको थियो। त्यस्तै दोहोऱ्यायो उसले पनि। यसो गर्नुको अर्थ न त उसलाई थाहा थियो न त यसो गर्दा के हुन्छ भनेर कहिल्यै सोध्यो गोपी सरलाई नै।

बुधन एकातिर धेरै खुसी थियो भने अर्कातिर त्यत्तिकै डराएको पनि। किनकि हरियालाई थाहा छैन। थाहा पाएको दिन बुधनलाई बाँकी राख्दैन। हरिया रिसाहा छ। उसको रिसको घानमा एकदिन आफू पक्कै पनि पर्छु, यहि डरले कुट कुट खाइरहन्छ भित्र भित्र बुधनलाई। हुनपनि पच्चीस सयको कुरा छ। कसरी छोड्छ त हरियाले सित्तैमा ? ढाँटिलिइस भनेर पछि पैसा दोब्बर छेराइलियो चाचाले भने ..? बिर्सन खोजे पनि बेला बेला झस्कन्थ्यो यो कुराले बुधन।

हुनत हरियाले सलमानको प्रणय क्रिया नदेखेता पनि पछि करिस्मा बियाउने भएपछि, बियाएपछि त पक्कै पनि सत्य त लुक्दैन। थाहा पाइहाल्छ। किनभने सौराहा भरि नै उसको एउटा त हो नि बहर घोडा। त्यो पनि बिउकोलागि भनेर नै पालेको। त्यसैले हरिया सधैँ टाँगा चलाउँदैन। यदा कदा भने सलमानलाई लिएर बिदेशी पर्यटक ओसार्छ।

केही महिना त ढुक्कै भयो बुधन। चार पाँच महिना पछि त टाँगावालहरूमा गाइँ गुइँ हल्ला चल्यो। बुधनको घोडी बियाउने छ। हरियाले पनि सुन्यो यो कुरा। सम्झन खोज्यो उसले, अहँ करिस्मालाई लिएर बाल लगाउन त बुधन कहिल्यै पनि उसकोमा आएजस्तो लागेन। उसले स्वास्नीलाई पनि सोध्यो। “रे…झोँकुके माई, बुधन कहिले आकोथ्यो रे म नभइलिएको बेला ? उसको करिस्मालाई सलमानके सँग् मिसाउन ?”

“ना रे …। नहीँ आको छ ..।” स्वास्नीले भनी।

“त पक्कै पनि गडबड छ रे …। रे झौँकुके माइ, तँ भौजाई, चाची, मुन्नी के अम्मा सबैको लेकर गोपी सरकोमा आइहाल। कचहरी गरिलिनु पर्छ। म बिरादरीमा कुरा गरेर ल्याइहाल्छु” हरियाले भन्यो र निस्कयो। उसकी स्वास्नी झौकुलाई च्यापेर छिमेकतिर लागी।

टाँडीबाट सवारी लिएर मेघौली छिर्ने बित्तिकै सरदुले भेट्यो बाटोमा र भन्यो, “रे बुधन ? के गरिलिस रे तैँले ? हरियाले त गोपी सरकोमा कचहरी बोलाइलिएको छ रे तेरो लागि…। सबै बिरादरी बसिराखेको छ। तँलाई कुरिरहेको छ सबै। छिटै गै हाल। बचाइहाल रे आफूलाई। हरियाको रिस त मालुम छ नि तेरो….।”
सल्याक सुलक भयो बुधन। अखिर जे कुराको डर थियो त्यही भएर छोड्यो। यो त एक दिन हुने नै थियो। फेरि आफैलाई दह्रो बनायो। “मैले सलमानके सँग करिस्माको पठाइलिएको हैन त सलमान खुदै दौडेर आइलिएको हो करिस्माके सँग्। मैले त चाचाको नभनिलिएको मात्र त हो। अनि बाल दिदिन्छु भन्ने ठानीलिएकै छु।” आफैले आफ्नो दोष केलायो र आफैलाई सान्त्वना पनि दियो बुधनले। गोपी सरको आँगनभरि धेरै मान्छे देख्यो परैबाट। घर पुगेर टाँगबाट करिस्मालाई खोलेर तबेलामा बाँध्यो, आज धेरै दिन पछि उसले टाँगा चलाएको थियो। नत्र आजकल करिस्मालाई गाह्रो हुन्छ भनेर टाँगा चलाउँदैनथ्यो।

बुधनलाई सत्य थाहा थियो। किन किचहरी बसेको भन्ने। ऊ कपाल कन्याउँदै निन्याउरो मुख पारेर आँगनमा आयो। गोपी सर उठेर बुधनलाई थपथपाउँदै भने, “के रे बुधन् हरिया के भन्छ ? तैँले तेरो करिस्मालाई उसको सलमानसँग उसलाई जानकारी नै नगरी बाल लगाइस अरे, के साँचो हो यो कुरा ?”

“करिस्मा सलमानके सँग नै बाल गइलिएको छ सही हो, तर मैले हरिया चाचाके नभनी मिसाइलिएको भने होइन। सलमान त मेरो करिस्मा चरिलिएको ठाउँमा आफै दौडेर आएहाल्यो र करिस्मासँग मिसिहाल्यो। त मेरो कुनो गल्ती नही छैन गोपी सर यसमा।”

“हे हरिया ..? किन झुट बोलिस् तैँले ? तेरो सलमान आफैँ गाको अरे त करिस्मासँग चरनमा ?”
“आफै गइलिए त पनि बाल त मेरो सलमानके सँग् गएपछि बालको पैसा त तिरिलिनु पर्छ” बुधनलाई हरियाले भन्यो।
“अब जे भए पनि आफैँ लागेको भए पनि बालको पैसा दे भन्छ त हरिया। फेरि तेरो करिस्मा पनि त गाभिन भाकै रैछ त .?” गोपी सरले भने बुधनलाई।
पुलुक्क हेऱ्यो बुधनले हरियालाई।
“हे रे बेइमान्। पैसा तिरिलिनु पर्छ भनेर तैँले भनिनस् रे मलाई ? तो अब खुरुक्क तिरिहाल…।” बुधनपटि हेरेर जङ्गियो हरिया।
“मैले ठानिलिएको छु चाचा, तिमीलाई पैसा दिदिन्छु। तर करिस्माले बछेडा दियोस, बादमे दिइहाल्छु रे।” डराएरै भन्यो बुधनले, हरियापट्टि हेरेर।

“ना रे …। न हुन्छ रे। पछि त। दिइहाल त अहिले दिइहाल। पछि के कुरा रे ..? सासके धनको कुनो भरोसा हुन्छ रे …? दु चार दिन बाद हि तेरो घोडी मरिलियो भने ? बच्चा तुहाइलियो भने..? कसरी तिरिहाल्छस् रे …?” हरियाकी स्वास्नीले बिरोध गरी।

त्यसैमा हो मा हो मिलायो हरियाले पनि। “झौकुके माइको कुरा ठीक त छ नि ! यसैले बालको पैसा दिहाल त ऐले दिहाल। यसले त पाँचपाँच महिना मेरेको पता दिएन। ढाँटिलियो। मेरो धेरै रिस चढेको त्यैमा छ।”
चसक्क भयो बुधनको छाती चाचीको कुरा सुनेर। बर्रर आँसु नै खसाल्यो करिस्मालाई सम्झेर। आशापूर्ण नजर फ्याँक्यो गोपी सरतिर। गोपी सरले बुधनको आँखाको भाव पढेर पुन काँध थपथपाउँदै बिस्तारै भने,

“के गर्छस् त बुधन, तँ अब ? हरिया त छोड्दिन भन्छ।”

“अब चरनमा आफ्नो मनखुश सलमान करिस्मामे लाग्यो त मेरो कुन दोष ? मैले तिरिलिन्छु भनिलिएकै छु। चाचा दिहाल भनिलिन्छ। यसो मिलाइदे भनिलिनुस् म पन्ध्र दिनमे तिरिलिन्छु ”। रुँला रुँला जस्तै गरेर बुधनले भन्यो।

“हेर् हरिया, अब उसले जानाजान पठाएको हैन रहेछ। अब पशुलाई रोकेर रोक्न पनि त सकिन्न। तँ भएको भए के सलमानलाई नगर भन्थिस् ? आफै लागेको भए ता पनि बाल तिर्छु त भनेकै छ त बुधनले पनि। हेर्, उसले तेरो घरमा ल्याएर बाल लगाको हैन त्यसैले अब अलिकति पैसा घटाइदे। दुईहजार मात्र लिइदे ऊसँग। बिचरा ऊ पनि त तेरो छोरा जस्तै त हो नि ! पन्ध्र दिनको भाका मागेको छ उसले।” गोपी सरले हरियातिर फर्केर भने।

गोपी सरको कुरा काट्ने हिम्मत थिएन मेघौलीभरि कसैको पनि। हरिया पनि चुप भयो किनकि सबैलाई थाहा छ गोपी सरको फैसला निष्पक्ष र न्यायसङ्गत हुन्छ। त्यसैले दुवै चुप भए। “चाचा मलाई माफ गरिदिहाल। मैले बालको पैसा तिर्न नचाहेको हैन। पैसा नभएर नभनिलिएको तिमीलाई।” बुधनले हरियालाई हात जोड्यो।

सरकारी र निजी बाहेक भाडाका गाडी सौराहा प्रवेशमा निषेध थियो। भाडामा गाडी छिर्न दिए वर्षौँदेखि टाँगा चलाएर जीविका गर्नेको रोजीरोटी बन्द हुन्थ्यो। त्यसैले पनि टाँगा चालक सङ्घले कुनै भाडाका गाडी छिर्न दिँदैनथे टाँडी बजारबाटै। टाँढी–मेघौली–सौराहामा टाँगा गाडीको मात्र आनन्द लिन पाइन्थ्यो। पर्यटक(आन्तरिक तथा विदेशी)बढी आउने भएकोले राम्रो आम्दानीको आसले टाँडी चितवनको यातायात व्यवसायी वा केही व्यक्तिहरू पटकपटक जबर्जस्ती गर्न खोज्छन् भाडाका गाडी कुदाउन। कसैले त निजी वा सरकारी नम्बर प्लेट टाँसेर पनि कुदाइहाल्छन्। यसका विरुद्ध टाँगावालहरू पनि बेला बेलामा आन्दोलनमा उत्रिहाल्छन्। यस्ता कैयौँ आन्दोलनमा बुधनले पनि नेतृत्व गरेको छ। आफ्नो करिस्मासँगै।

नेताहरूले सिकाएका नेपाल बन्दको प्रभाव टाँगावालहरूममा पनि पर्छ बेलाबेला। उनीहरूले पनि विरोध गर्ने माध्यम त्यही टाँगा बन्द त हो। यही टाँगा बन्दको नराम्रो र गहिरो घटना जोडिएको छ बुधनको जिन्दगीसँग पनि।

बुधन जन्मदा सौराहा मेघौली टाँडी सडक बन्द थियो। सडक बन्द भएपछि टाँगा पनि बन्द। सुत्केरी ब्यथा लागे पनि तत्काल अस्पताल लैजाने साधन नपाएकोले बच्चा जन्मेपछि बढी रक्तश्राव भएर बुधनकी आमाको मृत्यु भएको थियो। गोपी सरले मोटरसाइकलमा राखेर डाक्टर ल्याइपुऱ्याए पनि ढिलो भैसकेको थियो आइपुग्दा। सात महिना सकेर आठौँ महिना नलाग्दै जन्मेको बुधनले आफ्नी आमालाई देख्दै देखेन। उसको बाबु को हो ? ऊ मात्र हैन गाउँघर, गोपी सर कसैले पनि चिनेकै छैन आजसम्म पनि। केवल उसकी आमा गोनुरीले बाहेक।

आफ्नो तीनओटा छोराछोरीबाट उबारेर दिएको गोपी सरको मायाँले नै जीवन बुझ्न सक्यो बुधनले पनि। उसले पाएको आफन्तको तातो स्पर्श भनेको त्यही करिस्मालाई किनेर ल्याएपछि उसको मात्र हो। उसको आँत नभरिए पनि उसको त्यही एक मुठी मायाले जीवनको गोरेटो कोरिरहेको छ बुधनले। बूढो बाबुसँग बस्दै आएकी लठेब्री र बोल्न नसक्ने बुधनकी आमा गोनुरी त्यतिबेला पन्ध्र वर्षकी मात्र थिई। एकदिन बेलुका मुट्ठीभरि दुईतीन सय खुजुरा पैसा र रक्ताम्मे पिँडुला लिएर आई। गोपी सरकोमा कचहरी बस्यो। त्यस्तासँग जाइलाग्‍ने कुनचाहिँ नरपशु थियो, कसैले पनि देखे, सुने, चिनेको बताएनन्। गोनुरीले इशारामा बताएको हुलियाबाट धेरैलाई अड्कल गरे तापनि को हो यकिन साथ भन्न सकिएन। चारपाँच दिनसम्म थला परी गोनुरी। बल्ल बल्ल तङ्ग्रिएकी गोनुरीले आठ महिना नलाग्दै बुधनलाई जन्म दिएकी थिई।

सत्य के हो कसैलाई पनि थाहा नभए पनि सबै भन्थे, गोनुरी पनि बूढोकै छोरी हो। दुईतीन वर्षकी गोनुरीलाई कतै भेटेर छोरी बनाएर पालेको अरे। उसका अरू परिवार को छन् ? कहाँ छन् ? कसैलाई पनि थाहा छैन। छसात वर्ष अघि एक दिन गोपी सरकोमा शरण लिन आइपुगेका थिए बाबुछोरी। आफ्नो बारेमा कसैलाई केही पनि बताएको थिएन उसले। गोपी सरले नै चोकनिरको ऐलानी जग्गामा एउटा झुप्रो हाल्ने व्यवस्था मिलाइदिएका थिए। गोनुरी आफूले सकेको काम सघाउँथी गोपी सरकोमा।

बुधनलाई आमालबाबु सबै बनेर बूढोले नै सघायो। एक त उमेरै नपुगेकी आमाबाट जन्मेको सन्तान, त्यसमा पनि मैन्हा नपुगी जन्मेको, अर्को जन्मने बित्तिकै आमा मरेको, तेस्रो लोग्‍नेमान्छेले सह्यारेको बच्चा। बुधन कुपोषणको शिकार थियो। लुरे र मरन्च्याँसे। आँत छिनेको। ऊ तीन पुगेर चार लागेपछि बूढो पनि उसलाई एक्लै छोडेर गयो कहिल्यै पनि नफर्कने ठाउँमा।

गोपी सरकै छत्रछायामा उसले छ कक्षा सम्म पढ्यो। छुट्टीमा र फुर्सदमा कहिलेकाहीँ हरिया चाचा र अरूहरूकै टाँगामा चढेर कहिले टाँडी र कहिले सौराहा गर्दा टाँगा चलाउन सिकिसकेको थियो। ऊ भागीभागी टाँगा हाँक्न जान्थ्यो। उसले कति गर्दा पनि पढ्नमा ध्यान लगाउन सकेन। पछि उसले टाँगा चलाउने रहर गरेकोमा एउटा बछेडी किनिदिए गोपी सरले नै। शिक्षाको महत्त्व बुझेका गोपी सरले पढाउने हर प्रयास गरे। तर बुधन धेरै जसो त बिरामी भएर नै पढ्न सकेन। पछिपछि पटक्कै मन पनि गरेन।
सबै टाँगावालहरले आफ्नो घोडाघोडीको नाम हिन्दी सिनेमाका हिरोहिरोइनहरूका नाम राख्थे। उसले पनि घोडीको नाम आफूलाई मनपर्ने हिरोइन करिस्माको नाम राखेको थियो। एकपटक राजा हिन्दुस्तानी फिल्म हेरेपछि उसलाई करिस्मा एकदम मनपरेकी थिई।

राजा हिन्दुस्तानीमा पनि गरिब ट्याक्सी चलाउने ड्राइभरसँग धनी बाबुकी छोरी करिस्माको प्रेम भएको थियो। ऊ पनि मख्ख पर्थ्यो करिस्मालाई सम्झेर। करिस्मा जस्तै केटी आफ्नो टाँगामा बसाएर सवारी गराउने मीठो कल्पनामा मग्‍न हुन्थ्यो बुधन।
००
महिनादिन सम्मको भाका राख्‍नु पर्नेरहेछ। यस्तै यस्तै सोच्दै आयो घरमा बुधन। आजकल करिस्मा पनि त्यति फुर्तिली छैन। भारी जिऊ। एकक्षण हिँड्दा पनि फ्याँफ्याँ गरिहाल्छे। मान्छे पनि कम राख्‍नु पर्छ। छ जना राख्दा त तान्नै सक्दिन कुइरे भेट्यो भने त हुन्थ्यो। तर कुइरेहरू प्रायः सबै होटलको गाडीमा नै सौराहा आउनेजाने गर्छन्। कुनै कुनै टाँगा चढ्ने रहेले मात्र त हो।

हरियाले दिएको समयमा पाँच दिन त त्यत्तिकै बित्यो। दुई दिन करिस्मा नै बिरामी परी। बसी रही। कति गर्दा पनि उठ्दै उठिन। एक दिन उसले राम्रो सवारी भेट्यो। एक हजार रूपैयाँ पाएको थियो उसले। आज सम्म यस्तो चिठ्ठा त कहिल्यै परेको थिएन उसलाई। तर यसैमा आफ्नो खाना, करिस्माको दाना, घाँस सबै किनेर बाँकी रह्यो पाँचसय। यस्तै सवारी दुई खेप भेटि लिए त आसानले तिरिहाल्थेँ रे.. पैसा। यहि सोचेर अबेर निदायो बुधन।

अब सधैँ करिस्मा टाँगा तान्न पनि त सक्दिन। र सकेसम्म जोत्‍नु पनि हुँदैन। आराम गर्न दिए पछि मात्र स्वस्थ्य बछेडा जन्माउँछे। बियाएको बेला पनि खुवाउनलाई दाना धान गुँड पनि किनेर राख्‍नुपर्छ। फेरि आफ्नो टाँगा पनि हुन्न। ल्याउन पनि। टाँडी बजारबाट नै किनेर ल्याउन त गाह्रो हुन्छ बा। सँधै बेलुकी यस्तै सोच्छ बुधन।

अरू एकदिन ऊ आफै ज्वरो आएर सुत्यो। टाँगा यसै बस्यो। दुई सय रुपियाँको त औषधि नै खायो। नत्र निमोनियाले समाइहाल्छ उसलाई। तराई मधेश सङ्घियताको विषयमा विद्रोह पुन: चर्किएर नेपाल बन्द भयो। दुई दिनसम्म चक्का जाम भयो। टाँगा पनि चक्का भित्र नै पऱ्यो। सधैँ चहलपहल हुने सौराहा शून्य भयो। सडकमा घोडाको टाप बजेको पनि सुनिएन।

जम्मा पाँच दिन बाँकी थियो हरियालाई दिएको भाका। पहिला दिन बिराएर टाँगा चलाउँथ्यो। करिस्मालाई ध्यान दिएर। अब त जम्मा पाँच दिन। उसले दिन दिनै लग्यो टाँडी तिर। एक दिन तीन सय। दुई दिन दुईदुई सय। जम्मा सात सय। पहिलाको तीनसय गरेर जम्मा एक हजार। बाँकी एक हजार।

तोकिएको म्यादको अघिल्लो दिन टाँडी हानियो टाँगा लिएर। सायद नारायणघाटबाट वा पूर्व बन्द नै रैछ। सवारी पटक्कै भेटेन। दिनभरि टाँडी चोकमा कुरेर बसिरह्यो। भोलि हरियाले आफूलाई गर्न सक्ने कुरा अनुमान लगाइरह्यो बेला बेला। सिरिङ्ग हुन्थ्यो जिउ नै उसको।

पाँच बजे बन्द खुलेपछि सवारी पाइने आशाले ऊ बारम्बार राजमार्ग हेरिरहन्थ्यो। अगाडिको चियापसलमा झुन्ड्याइएको घडीमा बेला बेला आँखा पुऱ्याउँथ्यो। बाह्र घण्टाको दिन पनि उसलाई पचहत्तर घण्टा जत्तिकै लामो लाग्यो।

पाँच बजेपछि बन्द खुल्यो। नभन्दै एक्कासी सवारी साधन चल्न थाले। बाटोमा अडकिएका पर्यटकहरू बोकेका गाडीहरू धमाधम हुइँकिन थाले धूलो उडाउँदै। बुधनले कहिल्यै नसम्झने भगवान्‌लाई आज मनमनै पुकारा गरिरह्यो। सिरुवा मेलामा एक जोर परेवाको बच्चा र भन्टाको भार बनाएर चढाउँछु भनेर भाकल गऱ्यो।

जति जति समय बित्थ्यो, बुधन पनि निराश बन्दै जान्थ्यो। ऊ भन्दा पनि थकित करिस्मा देखिन्थी। दाना पनि राम्ररी खाएकी थिइन। बुधन मानसिक रूपमा र करिस्मा शारीरिक रूपमा। केही दिनदेखि करिस्मालाई पनि बिसन्चो भएकोले ऊ भन्दा पनि थकित करिस्मा देखिन्थी। करिब सात बजेतिर पाँच जनाको एउटा समूह आयो र उसको टाँगा सोधे सौराहा जाने भए कति हो ?
पुरै रिजर्भ हो कि सिङ्गल हो हजुर ? बुधनले सोध्यो।
हामी पाँच जना छौँ। कति हो ..?
दिनमे त आठसय हो हजुर। अब रात झर्न लागिगो हजार दिइलिनुस। हजार लिन सके मात्र उसको समस्या टर्ने थियो। राम्रो होटलसम्म पुऱ्याउने सर्तमा मन्जुर भए सबै।
करिस्माको अवस्थाबाट परिचित बुधन विवश थियो सवारी बोक्न। करिस्मा गाभिन भएको चार महिना पछि त उसले चार जना भन्दा बढी सवारी पनि हालेकौ थिएन। पातला मान्छे र केटाकेटी भए मात्र पाँच जना।
चल रे करिस्मा चल..।
यात्री चढेपछि सवारी चलाउन खोज्यो बुधनले। अहँ करिस्मा सुस्त देखिई। उसले बिस्तारै सुम्सुम्यायो। चल करिस्मा चल रे ..। तीन चार चोटि बिस्तारै फकायो। मनमनै माफ गरिदिहाल रे करिस्मा आज मलाई। भोलिदेखि मा कसम। म टाँगा नै चलाइलिन्न रे। तँ चङ्गा नहुन्जेल सम्म। कसैले नसुन्ने गरी भन्यो। हरिया चाचाको पैसा भोलि नै दिनु दिइदिहाल्नुपर्ने भएर मात्रै हो रे..। आफ्नो पीडा पनि पोख्यो उसले करिस्मालाई। करिस्माले कति बुझि थाहा भएन।

टाँगामा जोतिएको घोडाले के नै पो गर्न सक्थ्यो र। जति अशक्त भए पनि। घोडाको गति पनि माहुतेको हात र इशारामा हुने। खुट्टा कपाउँदै करिस्मा बिस्तारै हिँड्न थाली बुधनको इशारामा। सुनसान सडकमा करिस्माको टापको टक टक बाहेक बेला बेला बुधनको चल करिस्मा चल….। बाहेक अरू आवाज सुनिँदैनथ्यो। बन्दले गर्दा बाटो सुनसान थियो। लामो बाटो हिँडेर थाकेर हो कि टाँगाका यात्रि पनि चुपचाप थिए।

करिब पाँच मिनेट हिँडे पछि करिस्माको गति क्रमशः कम हुन्थ्यो। पुनः बुधन एकचोटि दुवालीले उसको डँडेल्नोमा बिस्तारै हान्थ्यो र भन्थ्यो चल करिस्मा चल….। तर फेरि केही पाइला चलेपछि पुन: सुस्त हुन्थी करिस्मा।

के हो टाँगावाला, तिम्रो टाँगा हो कि यो गोरुगाडा हो ? एउटा यात्री झर्कियो।
यस्तै हो भने त टाँगा चढेर हैन हिँडेर नै पो छिटो पुगिन्छ होला है ….? अर्कोले थप्यो।
अलिक छिटो कुदाओ रे भैया…अघिकै फेरि बोल्यो.।
यसपालि बुधनले अलिक साह्रै स्वाँट्ठ हान्यो दुवालीले करिस्माको डँडेल्नोमा। झस्केर अलिक तेजले दौडी करिस्मा। तर एकक्षण पछि उही गति भो उसको।
जसोतसो खोलाको पुल तरेर उकालो लागेपछि अलिअलि गर्दै स्थिर भई करिस्मा।
बुधनले धेरै चोटि फकायो। चल करिस्मा चल …। फ्याँ फ्याँ गरिरही करिस्मा।
अघिकै यात्रु फेरि झर्कियो, के हो टाँगावाल…? पैसा मात्र लिने ? के हो यस्तो घोडा पनि…..?
ना हजूर …। अलिक बेरामी भएकोले…।
डराएको स्वर थियो बुधनको। कतै यात्रु ओर्लेर नहिँडिदिउन…भनेर।
अनि यस्तो टाँगा तान्न नसक्ने घोडा किन राख्‍नु त ? ल अब हामी हिँडेर नै जान्छौँ। ओर्लन खोज्यो अघिकै यात्रु।
ना हजुर ना…..। एकैछिन सुस्ताइलिन दिहाल्नुस। अनि त हजुर हिँडिलिइहाल्छ नि …।
पुन: दुवाली बर्सायो डँडेल्नोमा करिस्माको। अहँ करिस्मा हल्लिन। डेगै चलिन। उसले धेरै पटक भन्यो, चल करिस्मा चल…। तर नसुनेझैँ नै भई करिस्मा। खुट्टा थरथरी काँपिरहेका थिए। कोखा भुक्लुक भुकलुक गरिरहेको थियो। नाकको पोरा फूलाउँदै हऱ्याकहऱ्याक गरिरहेकी थिई। जिउ पुरै तातो थियो। आँखाबाट बरबरी आँसु झरिरहेको थियो। करिस्माको अवस्था थाहा भए पनि बुधन विवश थियो। यात्रु उत्रेर हिँडे भने उसले कबोले जति पैसा पाउँदैनथ्यो। पैसा नभए भोलि हरियाले उसको हुर्मत लिनेमात्र हैन ढुकढुकी नै छाम्छ।

यो सम्झँदा उसलाई चिसो भयो। अनि अलिक जोडले फेरि दुवाली बर्सायो। अहँ करिस्मा अटेरी नै भइरही। सिरिङ्ग आङ जर्काउँदै ऊ उभिइरही। नाक र मुखबाट ऱ्याल काडिरही। चल रे करिस्मा चल…। अलि कड्केर बोल्यो र अझै साह्रो दुवाली माऱ्यो। गाभिन भएको करिस्मा माथि निर्दयी भयो बुधन दुवाली बर्सायो। लाचार भएर ढाड थापिरही करिस्माले पनि। तर पाइला चाल्नै सकिन। बल गरेर अगाडि बढ्न खोज्दा पनि तानिँदै तानिएन टाँगाको भार करिस्माको शरीरले। डँडेल्नाभरि सुम्ला भए।

बुधन टाँगाबाट तल ओर्लियो। एकक्षणको लागि मोटा खालका दुई जना यात्रुलाई पनि अनुरोध गरेर तल ओराल्यो र बिस्तारै करिस्माको याल खेलाउँदै फकाउँदै भन्यो चल रे करिस्मा चल …। टाँगा अलिक हलुका भएपछि करिस्मा बिस्तारै हिँडी। उकालो कटेपछि बुधनले पछाडिको उनार मिलायो। अगाडि पातला खालका र पछाडि मोटा यात्रुहरू मिलाएर राख्यो।

यात्रुहरू एक मुख लगाएर घुर्काउन थाले यस्तो टाँगामा पनि नचढ्ने र पैसा पनि नदिने। याात्रुको रिस उसले करिस्मामाथि पोख्यो। कसेर तीन स्वाँठ दुवाली हिर्काएपछि लाचार करिस्मा फ्याँफ्याँ गर्दै हिँड्न थाली। परिवन्दले निर्दयी बन्यो बुधन। आवश्यकताका अघि उसको मानवता हरायो। पशुनै भए पनि संसारमा आफ्नो भन्ने त्यही करिस्मा माथि उसले पहिलेचोटि कठोर हुनुपऱ्यो।

घिस्रेर सौराहा पुऱ्याई करिस्माले टाँगा। बेजुवान पशुको दर्द र पीडा कस्ले पो बुझ्ने ? एकातिर बुधन उसले भनेजति वा चाहिएजति पैसा पाएकोमा खुसी थियो भने अर्कातिर जान्दाजान्दै पनि परिस्थितिवस करिस्मा माथि कठोर भएकोमा आत्मग्लानी र पश्चाताप लागिरहेको थियो। मन हुँडलीरहेको थियो। उसको।
टाँगाबाट खोलेर तबेलामा पुऱ्याउने बित्तिकै करिस्मा भ्यात्त परेर बसी। पुरै जीउ छोडेर र टाउको र खुट्टो पनि तन्काई। आँखाबाट बर्बर आँसु झरिरहेको थियो। जिउ पनि आरनमा हालेजस्तो तातो थियो। मुखबाट हऱ्याकहऱ्याक भइरकेको थियो। ऱ्याल झरिरहेको थियो।

त्यति दयनीय अवस्थामा आफ्नी करिस्मालाई देख्दा बुधनको पनि धैर्यको बाँध टुट्यो। ऊ करिस्माको टाउकोलाई अँगालो हालेर सिरानी बनाएर धुरुधुरु रोयो। बेजुवान नै पीडा साट्यो। मलाई माफ गरिदिहाल रे करिस्मा…। बरु हरिया चाचाको कुटाइ खाइलिएकै भए हुन्थ्यो। पैसाको लोभ बेक्कारमा गरिलिएँ मैले…।

निकैबेर रोएपछि उसको मन अलिक हलुका भयो उसको। उसले करिस्माको आँखा, मुख पुछिदियो। पानी ल्याएर खान दियो। अहँ, उसले कुनै प्रतिक्रिया देखाइन। बेला बेला आँखा झिम्काउनुबाहेक…।
उसले पिठोको तातो खोले पकाएर ल्याएर दियो तर करिस्माले हेर्दा पनि हेरिन। तेल तताएर कानको जरी, नलिखुट्टा, टाउकोमा लगाइदियो। दुवालीले बर्साएको सुम्लोमा पनि तातो तेल लगाएर मालिस गरिदियो। सायद दुखेर होला, यसो गर्दा चाहिँ करिस्माले जिउ मर्काई।

उसले सधैँझैँ बिस्तारै करिस्माको भुँडीमा हात लगेर सुम्सुम्यायो। यसो गर्दा करिस्मा नाकका पोरा दरालिदिन्थी बुधनलाई तर आज केही गरिन करिस्माले।
बुधनलाई घरभित्र पसेर सुत्‍न मन लागेन। त्यही करिस्मा छेउमा बोरा ओच्छ्याएर पल्ट्यो। गर्मी, भोक र थकाइ र करिस्माको पीरले निद्रा लागेन। करिस्मालाई सुम्सुम्याएर माफी मागिरह्यो आफ्नो बुद्धि बिग्रिएकोमा पश्चाताप गरिरह्यो। रातको तेस्रो प्रहरतिर मात्र उसको आँखा लागेछ चराहरूको चिर्बिराहटले उसको निन्द्रा खुल्यो।

बेला बेलामा करिस्मा छटपटिरहेको देख्यो उसले र एकाएक तर्सियो। करिस्माको पुच्छर रगतको आहालमा डुबेको रहेछ। के भएको हो उसले खुट्याउनै सकेन। अनिष्टको शङ्काले हत्त न पत्त थानदेउतालाई सम्झेर एकजोर परेवा र एक भार बैगनको भाकल गऱ्यो। भगवान्‌ करिस्माके केही नभइलियोस् ..।

बुधन करिस्माको टाउको काखमा राखेर मुसारेर बसिरह्यो। करिस्माका जस्तै उसका आँखा पनि बर्सिरहेका थिए। बेला बेला करिस्मा छटपटाएर खुट्टा फ्याँक्थी। त्यो देख्दा करिस्मालाई सहनै नसक्ने पीडा भएको छ भन्ने बुझ्यो बुधनले तर के पो गर्न सकथ्यो र ऊ..? आफूलाई सराप्‍नुबाहेक..।
आधा घण्टा जति त्यसैगरी छट्पटाएपछि एकचोटि झण्डै डल्लो पर्ने गरी छटपटाइ करिस्मा। मुखबाट एकखालको आवाज पनि निकाली। यही आवाज सँगै उसको बच्चा निस्कियो। रगतको खोलो बग्यो सँगै। हत्त न पत्त बुधनले हेऱ्यो, भर्खर स्वरूप मात्र राम्ररी बनिसकेको कलिलो कालोकालो बच्चा जन्माएकी थिई करिस्माले तर त्यसमा प्राण थिएन।

त्यसैबेला हरिया पाँच, छ जनाको जमात लिएर बुधन भएतिर आउँदै गरेको देख्यो बुधनले। बुधनले एकचोटि हिजो बेलुका पाएको पैसा छाम्यो गोजीमा राखेको अनि हेऱ्यो घरि हरिया र घरि करिस्माको निर्जीव बछेडातिर …।