दीपक मनाङे प्रवेश गरेपछि एकीकृत समाजवादीमा लफडा सुरू - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

दीपक मनाङे प्रवेश गरेपछि एकीकृत समाजवादीमा लफडा सुरू



मनाङबाट निर्विरोध निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि पार्टीमा लफडा सुरू भएको छ ।

मनाङे प्रवेश गरेपछि एकीकृत समाजवादीकै नेताहरू असन्तुष्ट बनेका छन् । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने तयारीका साथ मनाङे प्रवेश गरेसँगै पार्टीमा लफडा सुरू भएको हो ।

उनलाई पार्टी प्रवेश गराएकोमा अध्यक्ष माधवकुमार नेपालप्रति पार्टीका नेताहरू असन्तुष्ट बनेका छन् । एकीकृत समाजवादी कास्कीका नेताहरू बढी असन्तुष्ट देखिएका छन् । मनाङेलाई अध्यक्ष नेपालले स्वागत गरेको तस्वीर राख्दै कास्कीका नेता शिवजी गुरुङले फेसबुकमै व्यंग्य गरेका छन् ।

शिवजी गुरुङले असन्तुष्टि जनाउँदै सोमबार साँझ लेखेका छन्, ‘हालै सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशमा कुनै पनि क्षेत्रमा जित्न नसकेको र समानुपातिकतर्फ जम्मा ९५७३ ल्याएको नेकपा (एकीकृत समाजवादी)ले संगठन विस्तारको गज्जबको कार्यक्रम लिएर आएछ – मनाङेलाई पार्टीमा प्रवेश गराउने ।’

उनले चुनावमा आएको नतिजाको वस्तुगत समीक्षा गर्नुको सट्टा मनाङेहरुलाई पार्टी प्रवेश गराउँदा पार्टी शून्यतातर्फ जानेसम्मको तर्क गरेका छन् । नेता गुरुङले पार्टी छोड्नेसम्मको अभिव्यक्ति दिएका छन् । ‘असफलताको वस्तुगत समीक्षा गरी जनचाहना अनुरुपको नीति(–कार्यक्रम तथा युवा नेतृत्वसहित अगाडि बढ्नुपर्नेमा मनाङेहरूलाई पार्टी प्रवेश गराउँदै जाने हो भने पार्टी शून्यतातर्फ जाने छ । बेलैमा चेतना भय । तैपनि पार्टी नेतृत्वको यही चाहना हो भने उहाँलाई प्रवेश गराउँदै गर्नु । हामी बहिरिदिउँला नि बरु,’ नेता गुरुङले भनेका छन् ।

नेता गुरुङ कास्की २ बाट प्रतिनिधिसभा सदस्य लड्न चाहन्थे । टिकट पाउन पार्टीका प्रभावशाली नेताको साथ पाएपछि उनले प्राध्यापन नै छोडेर आउनेसम्मको तयारी गरेका थिए । तर, त्यहाँ अन्तिममा पार्टीका अर्का नेता श्रीनाथ बराललाई टिकट दिइएपछि उनी असन्तुष्ट रहँदै आएका छन् ।