कथा : निदाल - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

कथा : निदाल



~महेश पौड्याल~

अन्ततः धर्म बालाई बसाइँ सर्नैपर्ने भयो, सुलुबुङबाट। दुई छोरामा एउटा काठमाडौँ, एउटा बिर्तामोड। बराल बूढा–बूढीलाई आफूमात्रै गाउँमा बसिरहन सजिलो भएन।

“बा–आमा, मेरो जागिर उता छ। केटाकेटी उतै पढ्छन्। यहाँ पढाइ पनि खासै गतिलो हुँदैन। जौँ। केही वर्ष डेरामै बसौँला। अनि घर पनि बनाइहालिन्छ नि,” जेठो इन्द्रकुमारले धेरैपल्ट भनेको थियो। उसले बालकोटमा चार आना जग्गा जोडेको थियो, र ‘चारआने’ मा दरिएको थियो। घर भने बनाउन सकेको थिएन, डेरामै गुजारा चलाइरहेको थियो।

“आ, के बस्नु डेराको घरमा ! यत्तिका वर्ष शानले बसियो इलाममा। अब दिनकै खटनको पानी, खटनको बिजुली, खटनको हल्ला, सकिँदैन। भो, नजाने काठमाडौँ,” बूढा भनिरहन्थे। बूढीलाई पनि एउटा बाख्रो नपाले हुँदै नहुने। धेरै वर्षसम्म त केके भनेर टारिरहे, गएनन्।

कान्छो सन्तोषको बिहे भएको थिएन। ऊ अझै इलाम कलेजमै पढ्थ्यो, र अलिअलि राजनीति पनि गर्थ्यो। ऊ तर्क गर्थ्यो, समाजमा पुराना मान्यता भत्कनुपर्छ, र नयाँ र वैज्ञानिक मान्यताले ठाउँ लिनु पर्दछ।

इन्द्रकुमारलाई भाइको खासै भर लाग्दैनथ्यो। त्यसैले ऊ बूढाबूढीको स्वास्थ्यमा थोरै पनि उतारचढाउ आयो कि तुरन्तै काठमाडौँ झिकाउँथ्यो, औषधि–उपचार गराउँथ्यो, र उसको बुताले भ्याएसम्म बाआमालाई खुसी पारेर उतै राख्‍ने प्रयत्न गर्थ्यो। केही दिन बसेपछि बूढा भन्थे, “गाउँमा केके भैसक्यो होला। अब जाने।”

अनि, बूढी भन्थिन्, “बाख्रा भोकै पाऱ्यो होला कान्छाले। सम्झँदा पनि आधामासु हुन्छु।”

अनि, बाध्य भएर भद्रपुरसम्मको हवाई टिकट काटिदिन्थ्यो, र भाइलाई त्यहाँसम्म बोलाउँथ्यो बाआमालाई घर लान।

यो क्रम धेरै वर्षसम्म चलिरह्यो। गाउँमा ‘केके’ भैसकेको तर्कमा खासै दम छैन भन्ने लाग्थ्यो इन्द्रकुमारलाई। उसलाई थाह थियो, गाउँमा थोरै पढेलेखेकामध्ये एक थिए उसका बा। परिआएको खण्डमा तमसुक लेख्‍ने, उजुरीपत्र लेख्‍ने र मुद्दा छिन्ने काममा उनी सहयोग गर्थे। गाउँमा पढेलेखेका नयाँ पुस्ताका मान्छेहरू पनि आइसकेका थिए अब त। त्यसैले धर्म बा नभए पनि चल्थ्यो कामकुरो। सारमा इन्द्रकुमारलाई थाहा थियो, बूढालाई आफ्नै खाले साथी–सङ्गति चाहिन्थ्यो, हरेक साँझ बरपीपल डाँडामा बसेर समाज र राजनीतिको कुरो गर्नुपर्थ्यो, र मुद्दाहरूमा लगभग लगभग न्यायाधीशकै भूमिकामा उतारु हुनुपर्थ्यो।  काठमाडौँमा त्यो सबै सम्भव थिएन, र बूढा निस्ताउँथे।

तर, आमाको बाख्राप्रेम भने उसले सानैदेखि अनुभव गर्दैल्याएको कुरा थियो। एकदिन उसले सोधेको पनि थियो, “आमा, सधैँ बाख्रा चाहिँ किन घिस्याउनुपरेको यसरी?”

र आमाले भावुक हुँदै भनेकी थिइन्, “बाबु ! तँलाई थाहै छ, तेरा मावलका हजुरबाहरू पहिले आसाम बस्थे। म बाह्र वर्षकी हुँदा तेरा बासँग मलाई उतै बिहे गरिदिए, र केही महिनापछि उनीहरू सबै नेपाल फर्किए। फर्किने बेलामा मेरा बाले मलाई एउटा बाख्रो दिएर भनेका थिए, ‘यो तँलाई दाइजो’। बाख्रो देख्यो कि माइतीजस्तो लाग्छ। बाख्रोबिना म बस्नै सक्तिनँ। पछि, पचास सालमा नेपाल फर्केपछि पनि बाख्रा पाल्न सजिलो होस् भनेर अहिलेको बारी किनेको हामीले। तेरा बालाई  जागिर खुवाउँदा पनि एउटा खसी बेचेकै पैसाले काम काटेको थियो। त्यै जागिरले तिमेर्लाई पढायो–लेखायो। तिमेरु सबैको प्राण हो नि बाख्रो भन्नु।”

इन्द्रकुमारले फेरि बाख्राको प्रसङ्ग कोट्याएन। घर गएपिच्छे उसले बुवालाई भने भनिरह्यो, “अब उमेर पनि धेरै भयो, बुवा। उतै सर्नुपर्छ।”

यस्ता धेरै प्रस्तावहरूलाई बूढाले पारि कञ्चन्जङ्घाको शिर हेरेरै टारिदिन्थे।

र एकदिन समाचार आयो, कान्छो सन्तोषले तल धुलाबारीबाट लिम्बूकी छोरी पार्वतीलाई भगाएछ। समाचार सुनेपछि बूढा–बूढी घरबाट निस्कनै छोडे। कान्छो पनि सोझै घर आउने कुरो भएन। इन्द्रकुमार बिदा निकालेर इलाम पुग्यो।

“जे भयो भयो। बोलार टीकोटालो गर्दिऔँ। आजभोलि यो जातभातको कुरा पनि मान्दैनन् मान्छेहरू।”

बूढा–बूढी बोलेनन्। आँखा टिलपिल पारिरहे। पारि पहाडतिर हेरिरहे।

हिँडिरहने बूढाले आफैँलाई नजरबन्द गरेर राखे। सुलुबुङका बाटाघाटा उदास देखिन थाले। बरपीपलको सायम्‌कालीन रौनक घट्यो। सबैका मनमा प्रश्नहरूको पहाड खडा भएको अनुभव भयो।

बूढीले आँखाबाट जोगमाई झारिरहिन्। मौनता उनका ओठमा अड्डा जमाएर बस्यो।

इन्द्रकुमारलाई धेरै दिन त्यहाँ अलमलिने समय थिएन। घाउ अझै बसेको थिएन बाआमाको। आँसु अझै ओभाएकै थिएनन्। उसले भन्यो, “जौँ काठमाडौँ।”

निकै लामो सन्नाटापछि आमाले भनिन्, “बाख्रा छन् नि।”

“बेचिदिऔँ यी बाख्रा।”

खै किन हो, जिन्दगीमा पहिलोपल्ट आमाले बाख्रा बेच्‍ने प्रस्तावको विरोध गरिनन्।

भोलिपल्ट बिहानै इन्द्रकुमारले बाख्राका ग्राहक घरैमा ल्यायो। एक माउ बाख्रो र दुई बोका बेचिए। पहिलोपल्ट यो घर बाख्राविहीन भयो। तानिँदै ओरोलो लगिँदैगरेका बाख्रालाई आमाले आँगनको डिलमा उभिएर धेरैबेर हेरिन्, र तल उत्तिसघारी काटेपछि साडीको सप्कोले आँसु पुछ्दै सिकुवामा बसेर खुई गरिन्।

बाख्रा नरहेपछि घर छोड्न कुनै महाभारत भएन। भोलिपल्ट बिहान इन्द्रकुमारले भाइ सन्तोषलाई फोन गरेर भन्यो, “अब घरमा आएर बस्, लठ्वा। उताबाट कहिले बोलाएर टीकोटालो गर्ने हुन् थाहा छैन। घर पस्नुभन्दा अगाडि भट्टराई बालाई बोलाएर सुलुबुङका मन्दिरमा सामान्य विधि चाहिँ गर्नू। आमाबा मसँग जानुहुन्छ काठमाडौँ।”

सन्तोषले “हस्” बाहेक केही पनि भनेन। घरमा ताल्चा ठोकेर छिमेकीकहाँ साँचो छोडिराखेर उनीहरू ओरालो लागे।

केही दिनपछाडि सन्तोषले इन्द्रकुमारलाई फोन गऱ्यो, “दाइ, हामी सुलुबुङ नबस्ने। पार्वती त्यहाँ जानै मानिनन्। उनको काम पनि बिर्तामोडमा छ। हामी यतै डेरा गरेर बस्छौँ।”

“ए,” भनेर इन्द्रकुमारले फोन राखिदियो।

साँझ बाआमासँग सल्लाह गऱ्यो। निचोड निकाले, घर लडाएर काठपात काठमाडौँ लाने, र त्यहाँ घर बनाउने।

वास्तवमा, सन्तोष त्यो घरमा जाँदै गएन। मिर्मिरेमा इन्द्रकुमार बालाई लिएर बिर्तामोड पुगेपछि मिसियो सन्तोष, र उनीहरू तीन जना गाडी चढेर उकालो लागे। खासै कुराकानी गरेनन् बाटोमा।

साँझपख उनीहरू सुलुबुङ  पुगे। घरमा ताल्चा छँदैथियो। उनीहरूले छिमेकी चिरञ्जीवी पौडेलका घरमा बास मागे। सन्तोष भने प्रकाश सुब्बाको घर जान्छु भनेर उकालो लाग्यो, चौतारातिर।

“बिहान छिटै आउनू। केही लाठे पनि ल्याउनू,” इन्द्रकुमारले हिँड्ने बेलामा सन्तोषलाई भन्यो।

“हस्,” भन्दै सन्तोष उकालो लाग्यो।

राति अबेरसम्म सुख–दुःखका कुरा गरे बूढाहरूले। गफको अधिकांश हिस्सा सन्तोषको बिहेले नै ओगट्यो। अचेल जातभात महत्त्वपूर्ण नरहेको कुरो सबैले स्वीकारे, तर भँडारका कुरा, कुल देउताको पूजाआजा र पितृ कार्जेमा अप्ठेरो पर्छ भन्ने आशय बूढाले दोहोऱ्याइरहे।

भोलिपल्ट बिहानै सन्तोष पनि आइपुग्यो। केही लाठे साथी पनि ल्यायो। इन्द्रकुमारले पनि छिमेकका केही साथी बोलायो। चिया–नास्तापछि उनीहरू घर लडाउने कार्यमा जुटे।  ताल्चा खोलियो।

सुलुबुङमा कहलिएको घर थियो धर्म बरालको। छरछिमेकमा त्यत्तिको अग्लो र बलियो घर अर्को थिएन। ढुङ्गाको गारो, दुई तले घर। छत्तीस सालमा त्यस प्रकारको घर बनाउने चलन भित्रिएकै थिएन सुलुबुङमा। दश कक्षा पास गरेका बरालले सुलुबुङ  हाइस्कुलमा शिक्षकको जागिर पाएकै साल यत्रो संरचना तयार पारेका थिए। घरको आकार र आकृतिले पनि उनलाई त्यस गाउँको अघोषित न्यायाधीश बनाएको थियो। शिक्षक भए पनि उनी त्यस गाउँको स्थानीय सरकारका अघोषित सल्लाहकार थिए, र धेरैलाई गुन लगाएका थिए।

“हैट ! यो घर पनि यसरी लडाइएला कुनैदिन भन्ने मैले सोचेकै थिइनँ, इन्द्र भाइ,” पुष्कर अधिकारीले भने।

“यो घर लड्नु धेरै कुरा लड्नु हो,” बलरामले मत राखे।

घर लडाउने काम अझै सुरु भएको थिएन। स्कुलका चौकीदार दामोदर भट्टराईले मलिन अनुहार पारेर भने, “नलडाउन पाए हुन्थ्यो यो घर। हामी सबैले बनाको। आफ्नैजस्तो लाग्छ।”

घर लडाउन जुटेका धेरैजसोले घर लडाउनु हुँदैन भन्ने मत प्रकट गरे। तर इन्द्रकुमारले निर्णय फेरेन।

“खै कहाँबाट सुरु गर्ने हो?” खैलाबैला गरे खेतालाले।

“छानाबाटै गरौँ। सजिलो हुन्छ,” घनश्यामले भने।

छरछिमेकबाट सिलो गरेरै औजारहरू जुटाइए। भाला, गैँती, मार्तल, रेन्ची, प्लायर्स, सनासो, फरूवा, साबेल, आरा आदि औजार भेला पारिए। सबै मिलेर पहिले घरका सरसामान घरमास्तिरको चौरमा भेला पारे। धर्म बाले हरेक माल बढो निमेकपूर्ण ढङ्गले निरीक्षण गरे। केही कागजपत्र र पुराना फोटाहरू छानेर छुट्टै राखे। केही भने फ्याँक्न मिल्ने गरी फोहोरको थुप्रोमा मिसाए।

केहीबेर चलेको यस उपक्रमपछि केही लाठे छानामाथि चढे र जस्तापातामाथि ठोकिएका स्क्रु खोल्न थाले। अरू, भित्रपट्टि बाँसका भाटा लिएर खडा भए, ताकि स्क्रु खोलिएका जस्ता पातालाई भित्रपट्टिबाट घोचेर सुरक्षित झार्न सकियोस्।

सन्तोष र उसका दौँतरी जुटेका थिए यस काममा। इन्द्रकुमार चाहिँ उसको बुवाका दौँतरी घनश्याम दाइकै छेउमा उभिएर यो प्रक्रिया हेरिरहेको थियो।

“तिम्रा बा महान हुन्, भाइ,” घनश्यामले भने। “उनको आँट मान्नुपर्छ। आजभन्दा करिब चालीस वर्ष अगाडि, एउटा तीस वर्षको ठिटोले, यत्रो घर बनाएर देखाएकै हो ! धेरैजसो डाँडाभाटा आफैँ जम्मा गरे। घर बनाउन पुग्ने ढुङ्गा, खै काँक्काँबड हो आफैँ थुपारे। जस्ता पाता इलाम बजारमा किनेर खच्चडलाई बोकाएर ल्याए। तलो हाल्ने चिर्पट आफैँ चिरेर थुपारे। मान्नुपर्छ।”

“हगि।”

“कम्ता गारो काम हो? घरचैँ सुबानेले बनायो। आफू हेड मिस्त्री, जुगाली अरू नै खोज्यो। तर, हात उसको लागे पनि बुद्धि चैँ सब तिम्रै बाकै हो। हेर न दैलामाथिका काठका बुट्टा ! आफैँ खोपेका हुन् तिम्रा बाले। देख्‍ने म छु।”

“सारै दुःख गर्नुभाको हो, बाले,” इन्द्रकुमारले भन्यो।

“हो। सारै कष्ट सहेर बनाए यो घर। हामी गाउँलेले पनि गारो लाउँदा, तलो छाप्दा, टिन ठोक्दा, लिपपोत गर्दा मद्दत नगरेका चैँ होइनौँ। त्यसैले, यो घर सधैँ हामी सबैको साझा घर नै रह्यो।”

“लडाउन त हामीलाई पनि मन थिएन। तर त्यस्तै पऱ्यो, दाइ,” इन्द्रकुमारले भने।

“दाइलाई सबभन्दा सारो त यो निदालको मूढो ल्याउँदा परेको थियो। माथि माइपोखरीछेउबाट ल्याएका हुन्। खै कोसँग मागे, त्यो चैँ ठ्याक्कै बिर्सेँ। तर, ढालेर डोरीले बाँधेर एक्लै तानेछन्, निकै तलसम्म। हातको एकसरो छाला लोक्तिएको देख्दा मलाई त भननन रिँगटै चलेको। पछि हामी भेला भयौँ र सघायौँ। घरमा पुग्दासम्म हातैभरि ठेलैठेला थिए दाइका। सारै बिजोग।”

यतिबेरमा जस्ताका केही पाता खसे, घरको पछिल्तिरको कान्लोमा। केही गाउँलेहरूले ती पातालाई थाक बनाएर एकठाउँ राखे। घर क्रमशः उदाङ्गो हुँदै गयो।

इन्द्रकुमारले पुलुक्क बाको अनुहार हेऱ्यो। खासै उल्लेखनीय भाव देखेन। उसले अपेक्षा गरेको उदासी देखेन।

“अनि एक्लै ताछे यत्रो ठूलो मूढो। आरा पनि आफैँ चलाउने, बसिल्ला पनि आफैँ। यत्तिको ठूलो निदाल सुलुबुङमा कसैका घरमा छैन, लु बाज्जी। मलाई झलझली सम्झना छ दाइले भनेकोः भाइ, यो निदाल मेरो आफ्नै करङ हो।”

छानो क्रमशः नाङ्गिदै गयो। आकाशबाट उज्यालो घरभरि खस्यो। घरको मस्तिष्क अब काठका डाँडाभाटाहरूको अस्थिपञ्जजस्तो मात्रै देखिन थाल्यो। भैँमा जस्ता पाताका थाकहरू निकैवटा बने। लाठेहरू केहीछिनका लागि भैँमा ओर्लिए।

“अब फटाफट कैँची–बटम निकाल्नुपर्छ। काँटी निकालेपछि बडो होसियारीका साथ तल फाल्नू है। भाँचियो भने काम लाग्दैन काठ,” दामोदरले अरू लाठेहरूलाई अह्राए।

केहीबेरमा कैँची–बटम भैँमा आइपुगे। अब माथिल्लो तलामा दुईतिरका चतुर्भुज भित्ता, र दुई छेउका त्रिकोणाकारका भित्तामात्रै ठडिएका देखिए।

“अब यी भित्ता पनि लडाऔँ, र यो तलोको माटो फ्याकौँ। त्यसपछि तलो छापेका चिर्पट भैँमा थुप्रो लाग्छन्। ती धुवाँले खाएका चिर्पट अबको सय वर्ष पनि काम लाग्छन्,” घनश्यामले भने।

इन्द्रकुमारले पुलुक्क बाको अनुहारमा हेऱ्यो। अनुहार निकै मलिन थियो। बज्र भनेर चिनिएका उसका बा अलि गलेकाजस्ता देखिए।

“बा !” उसले बोलायो।

“हाइ।”

“किन दुःखी देखिनुभाको?”

आँखामा पसेको कुनै कसिङ्गर पुछेजस्तो गरी उनले आँखा पुछे, र भने, “केही भएको छैन। हेर् न ! यो छानोमा, टिनमुनिको बटमको कापमा भँगेराले गुँड लाउँथ्यो सालैपिच्छे। भर्खरसम्म पनि थियो, कतै कतै। छानो गएसँगै त्यो गुँड पनि गयो। अब हाम्रो घरमा कहिल्यै भँगेराले गुँड लाउँदैन।”

“बा, के भो त?”

“भँगेराले गुँड लाउनु भनेको सह हो। हाम्रो घरको सह गयो।”

“काठमाडौँमा नयाँ घर बन्छ नि। त्यहाँ लाउँछ।”

“काठमाडौँमा भँगेरा छैनन्। र हुन सक्दैनन् पनि।”

इन्द्रकुमारले केही भनेन। मनमनै भन्यो, बुवाका कुरामा सत्यता छ।

“त्यहाँ धेरै थोक छ, धेरै थोक छैन,” बाले पुनः भने।

गरल्याम्म लड्यो माथिल्लो तलाको उत्तरतिरको गारो। ठूलो होहल्ला गरे लाठेहरूले। भैँबाट धुवाँ उडेझैँ उड्यो धुलो। आँखामा धुलो पसेजस्तो गरी धर्म बाले आँखा पुछे।

केही समयको अन्तरालमा दक्षिणतिरको गारो पनि लड्यो। अब पूर्व र पश्चिमका त्रिकोण आकारका गारामात्रै बाँकी रहँदा घरले एक बीभत्स आकार ग्रहण गऱ्यो।

इन्द्रकुमारले बुवाको मुखमा हेऱ्यो। टोलाएका थिए आँखा, केही खुलेका थिए ओठहरू। उसका बा आफैँले निर्माण गरेको एक विपुल सभ्यताको क्रमिक अवशान भावशून्य आँखाले हेरिरहेका थिए।

क्रमशः पूर्व–पश्चिमका भित्ता पनि गए। लाठेहरूले दुई तलाहरूको बीचको माटो फरुवाले निर्ममतापूर्वक खने र भैँमा झारे। क्रमशः करङ्जस्ता चिर्पट देखिँदै गए। धर्म बरालले आफ्ना धुलाम्य हातले छातीको बीच भागमा दाहिने हात राखे, अनायासै। इन्द्रकुमार एकछेउ उभिएर उसका बाको भावभङ्गी हेरिरह्यो। उसलाई पहिलोपल्ट बोध भयो, उसका बाको छाती निकै सुकेको थियो, र करङहरू केही ठाउँमा स्पष्ट देखिन थालेका थिए। आजसम्म उसले यत्ति कुरा पनि ख्याल गरेको रहेनछ।

बीचको तलो गयो। धर्म बाले करिब चालीस वर्ष सुतेको ठाउँ गयो। यसै तलोमा हुर्केका थिए उनका दुई सन्तान। कुनामा धानको भकारी पनि यहीँ त थियो। कुल देउताको थान, पूजाकोठो, रुपियाँपैसा राख्‍ने बाक्सा, सबै सबै यसै तलोमा सुरक्षित हुन्थे। तलो ढलेपछि बाले आकाशतिर हेरेर ओठ टोके। तर एक शब्द बोलेनन्।

माथिल्लो तलोमा रहेका सबै सामान तल्लो तलोमा फ्याँकियो, र जहाँ सकिन्छ त्यहीँ राखियो। अब घरको संरचनामा भुइँतला वरिपरिका भित्ता, भित्तामा रहेका झ्यालढोका, र पूर्व–पश्चिम वारपार तेर्सो राखिएको निदाल मात्रै त बाँकी थिए।

“यो निदाल मेरो आफ्नै करङ हो,” धर्म बाले पुनः भने। उनको गलामा कम्पन भएको सबैले महसुस गरे। उनका आँखा देखिने गरी ओसिएका थिए।

लाठेहरू माथि चढे, र निदाललाई घरको बीच भागबाट पल्टाउँदै गारोको उत्तरी किनारमा लगे। अब एकपल्ट गुडाउँदा निदाल भैँमा खस्ने थियो।

धर्म बाले भने, “एकछिन नझार त्यो निदाललाई। मलाई एकपल्ट माथि उक्लन देओ।”

बा उक्लिए। निदालमाथि एक छेउदेखि अर्को छेउसम्म हिँडे, त्यहाँबाट देखिने जति इलाका हेरे र भने, “मैले आफैँले बनाएको घरबाट मैले मेरो संसार अन्तिमपटक हेरेँ। अब मलाई ओराल।”

उनलाई ओराले, लाठेहरूले। उनी केही कदम पछि हटे, र नजिकै रहेको एउटा ढिस्कोमाथि रहेको ढुङ्गोमा टुक्रुक्क बसे। युवाहरू निदाल भैँमा झार्ने उपक्रममा जुटे।

इन्द्रकुमारलाई भने खै कुन छैठौँ चेतनाले निर्देशित गरेर हो, लाठेहरूको काम भन्दा पनि आफ्ना बाको क्रमशः परिवर्तन हुँदैगरेको मुखमण्डलको आभा हेरिरहन मन लाग्यो। ढुङ्गामाथि बसेका बा एकटक लगाएर त्यही निदालतिर हेरिरहेका थिए। घनश्याम दाइले इन्द्रकुमारलाई भनेकै थिए कि उनका बाबु संसारकै एक निर्भीक र आँटी पुरुष हुन्। उनले यो पनि भनेका थिए, सुलुबुङमा उनले पराक्रमकै कारण उँचो सम्मान प्राप्त गरेका थिए।

इन्द्रकुमारलाई धनश्याम दाइका शब्दमा पूर्ण भरोसा थियो। ऊ आफू भने सानैदेखि काठमाडौँ पढ्न हिँडेको, र उतै बसेको, कहिलेकाहीँ दशैँ–तिहारमा मात्रै घर आउने गरेकोले बुवाको पछिल्लो समयको स्वभावबारे खासै जानकार थिएन। घनश्याम दाइका कुरामा भरोसा गर्नुबाहेक ऊसँग अरू कुनै उपाय पनि थिएन।

“डङ् !” आवाज गरेर निदाल भैँमा खस्यो। सबै जना त्यतैतिर दौडिए। कतै भाँचियो कि भन्ने त्रास सबैमा थियो। इन्द्रकुमार पनि त्यतैतिर तानियो। आरा नै लाए पनि सबैभन्दा सुन्दर काठ त्यसैबाट निस्कने सबैले बुझेका थिए।

तल खसेको निदाल केही बल्ड्याङ खाएर कान्लोको ओरालोमा अलिकति तल गएर जाक्कियो। त्यहाँ उपस्थित सबै गाउँलेहरू त्यसलाई बोकेर माथि सम्ममा निकाल्नतिर लागे। केहीले एउटा छेउ बोके, केहीले अर्को छेउ। जनशक्ति निकै जुटेकाले त्यो भीमकाय निदाललाई पनि सजिलै बोकेर आँगनमा सुताए।

“आबुइ बा ! लौन के भयो?” कसैले आत्तिएर कराएको सुनियो। आवाज निकै चर्को थियो। अन्य गाउँले अलमल्लिरहँदा इन्द्रकुमार भने आफ्ना बा बसेकै ढुङ्गोतिर कुद्‌यो।

उसका बा त्यस ढुङ्गोबाट गुल्टेर तल जमिनमा बेहोस लडिरहेका थिए।

गाउँलेहरू निदाल छोडेर त्यतैतिर कुदे।

अन्य धेरै, धेरै कुरा हाललाई स्थगित भयो। झारिएको निदाल, ढलेको घरको आँगनमा एक्लै लडिरहेको देखिन्थ्यो।

-0-