मुख्यमन्त्री शाही भन्छन: आफ्नै पार्टीका नेताहरू अराजक छन् - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

मुख्यमन्त्री शाही भन्छन: आफ्नै पार्टीका नेताहरू अराजक छन्



सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय सदस्यले आफ्नै पार्टीका नेताहरू अराजक भएकोले पार्टीको भविष्यप्रति चिन्ता गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल निर्माण व्यवसायी संगठनको प्रदेश स्तरीय कमिटी गठन तथा शपथग्रहण कार्यक्रमलाई शनिवार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले पार्टीका जिम्मेवार नेता/कार्यकर्ताले भेटेर सुझाव दिनुको साटो सामाजिक सञ्जालमा सरकारको विरोध गर्ने गरेकोप्रति गुनासो गरे ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पार्टी नेताहरूमै अराजक प्रवृत्ति हाबी भएकाले लगाम कसले लगाउने भनी प्रश्न गरे ।

‘नेकपा अनैतिक व्यक्तिको जमघट गर्ने थलो होइन, घोषणापत्रअनुसार काम नभएको भए पार्टीले फिर्ता गर्नुपर्छ,’ उनले भने, ‘पार्टीका नेता/कार्यकर्ताले सरकारलाई सकारात्मक सुझाव दिनुपर्छ, सरकार नेकपाकै हो, सरकारको मात्रै असफलता हँुदैन, यसमा पार्टी पनि भविष्य जोडिएको छ ।’

मुख्यमन्त्री शाहीले विगतमा जस्तो बजेट बाँड्ने तर काम नहुने प्रथाको अन्त्य गर्न जरुरी रहेको बताए ।

नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले समृद्ध कर्णालीका लागि हातेमालो गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । नेकपा निकटका व्यवसायीले राज्यले दिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढंगले सम्पन्न गरेर पार्टीको शाख बचाउनुपर्ने उनले सुझाव दिए ।

प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले आफ्नो डेढ वर्षे कार्यकालमा ३ सय योजनाको बोलपत्र तथा ७ अर्ब बराबरको ठेक्का स्वीकृत गरिएको जानकारी दिए ।

भेलाले जुम्लाका निर्माण व्यवसायी अशोक श्रेष्ठको संयोजकत्वमा ४३ सदस्यीय तर्दथ समिति गठन गरेको छ ।