सरकारविरुद्ध आन्दोलन गर्ने महासेठको चेतावनी - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सरकारविरुद्ध आन्दोलन गर्ने महासेठको चेतावनी



नेकपा एमालेका सचिव रघुवीर महासेठले अब बन्ने सरकारले नागरिकता विषयमा ठोस निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

एमालेले मधेशमा नागरिकताको विषयमा ठोस निर्णयका लागि पहल गर्ने भनेर नै मतदातासमक्ष चुनाव अघि प्रतिवद्धता व्यक्त गरेकाले त्यसका लागि आफू गम्भीर रहेको उनले बताए।

उनले नयाँ सरकार बनेको ३ महिनाभित्रै नागरिकता समस्या समाधान गर्न ठोस निर्णय नगरिए मधेश मात्र नभई देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिए।

‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ, यदि अब बन्ने सरकारले निर्णय गरेन भने नेकपा एमालेको नेतृत्वमा हामी देशव्यापी आन्दोलन गर्छौं,’ महासेठले भने।

नागरिकता नपाएर ७ लाखभन्दा बढी युवाको भविष्य अन्योलमा रहेको उनको भनाइ थियो।

यता सरकार गठनका लागि वामदलहरुबीच समीकरण बनाउने कुरा निराधार रहेको उनको भनाइ थियो। ‘एमाले दोस्रो ठूलो दल बनेको छ, ५ दलीय गठबन्धनले के गर्छ त्यसकै प्रतीक्षामा हामी छौँ,’ महासेठले भने, ‘त्यसपछि मात्रै मन मिल्ने दलसंग कुरो अगाडि बढाउने छौं।’

यद्यपि माओवादीसँग अहिले तालमेल गर्ने हाम्रो कुनै योजना नरहेको उनको भनाइ थियो। ‘वामपन्थीहरुको नेता शेरबहादुर देउवा हुन सक्दैनन् तर प्रचण्डजी उनकै शरणमा पुग्नु भएको छ, त्यस्ता वामपन्थी कहलाउनेसँग हामीले के तालमेल गर्ने।’

पुराना गल्तीहरुको समीक्षा गरेर मात्रै आए त्यस विषयमा विचार गर्न सकिने महासेठको भनाइ थियो।