महन्थ ठाकुर राष्ट्रपति बन्ने दौडमा, ओलीले दिए 'लिफ्ट' - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

महन्थ ठाकुर राष्ट्रपति बन्ने दौडमा, ओलीले दिए ‘लिफ्ट’



सत्तारूढ गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ राष्ट्रपतिको उम्मेदवारलाई लिएर चिसोपना बढ्दै गएका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिको उम्मेदवार बन्न सक्रियता बढाएका छन्।

दुई दलको विवादबीच आफू राष्ट्रपति बन्न सक्ने सम्भावना रहेको औल्याउँदै उनले राजनीतिक भेटघाटलाई तीव्रता दिएका हुन्।

ठाकुरनिकट तथा जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार पछिल्लो साता ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव नेपालसँग समेत सो विषयमा कुराकानी गरिसकेका छन्। लोसपाले राष्ट्रपति पदमा ठाकुरलाई अघि सार्ने तयारीसमेत गरेको छ। यसबारे निर्णय लिन लोसपाले यही फागुन १० गते कार्यकारिणी समितिको बैठक बोलाएको छ।

त्यो बैठकले ठाकुरलाई राष्ट्रपति पदमा अघि सार्ने निर्णय गर्ने झाले बताए। ‘उहाँ (ठाकुर) ले जीवनमा ठुलो राजनीतिक योगदान र त्याग गर्नुभएको छ। आफूमा भएका अनुभव, निष्ठा, इमानदारीलगायत विभिन्न कारणले अहिलेको सन्दर्भमा राष्ट्रपतिका लागि सबैभन्दा उपयुक्त व्यक्ति ठाकुरज्यू नै हुनुहुन्छ,’ झाले भने, ‘पछिल्लो १५ वर्षदेखि ठाकुर सार्वजनिक लाभको पदमा बस्नुभएको पनि छैन। केहीलाई मन्त्री बनाउनुभयो, केहीलाई सांसद बनाउनुभयो तर उहाँ आफू लाभको पदमा जानुभएन। त्यसैले यसपटक राष्ट्रपतिमा पार्टीहरूले उहाँलाई अघि सार्नुपर्छ।’

केही दिनअघि एमाले अध्यक्ष ओलीले नयाँ बानेश्वरस्थित संसद् भवनबाटै आफ्नो गाडीमा ‘लिफ्ट’ दिएर ठाकुरलाई बालकोट लगेका थिए। बालकोट पुगेपछि ओली र ठाकुरबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको स्रोतले बतायो। लोसपाका एक नेताले भने, ‘त्यस भेटमा ओलीज्यूले ठाकुरलाई सकरात्मक प्रतिक्रिया मात्र दिनुभएन, राष्ट्रपतिका लागि अघि सर्न ओलीले नै ठाकुरलाई प्रस्ताव गर्नुभएको थियो।’ ती नेताले भने, ‘त्यसपछि उहाँको सक्रियता झनै बढ्यो र पार्टीभित्र छलफल भयो।’

लोसपा अध्यक्ष ठाकुरको सम्बन्ध देउवा, ओली, दाहाल र नेपालसँग बराबरी छ। ओली प्रधानमन्त्री हुँदा ओली सरकारमा ठाकुरनिकट नेताहरू सहभागी मात्र भएनन्, अन्तिम समयमसम्म ओलीलाई टिकाउन ठाकुरले निकै प्रयाससमेत गरे। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भने उनी एमालेसँगको सम्बन्ध तोडेर कांग्रेस र माओवादी केन्द्र नेतृत्वको तत्कालीन पाँच दलीय गठबन्धनमा सहभागी भएका थिए।

पाँच दलीय गठबन्धनमा सहभागी भए पनि उनले ओलीसँगको सम्बन्धलाई कायमै राखेका थिए। ठाकुरनिकट एक नेताले भने, ‘राष्ट्रपतिको निर्वाचनमा प्रमुख दलहरूबीच, त्यसमा पनि सत्तारूढ दलहरूबीचमै सहमति जुट्न नसकेका बेला र यही विषयले गठबन्धनमै फुट आउन सक्ने सम्भावना भइरहेका बेला राष्ट्रपतिका लागि सबैलाई मान्य हुने उपयुक्त व्यक्ति म हुन सक्छु भन्ने महसुस उहाँ (ठाकुर) ले गरेको हुनुपर्छ।’

यसैगरी एमालेले गत पुस १० गते आफ्नो दल र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान राखेको छ। एमालेबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, महेन्द्रबहादुर पाण्डेलगायत राष्ट्रपतिका लागि आकांक्षी छन्।

राष्ट्रपतिका लागि बहुमत जुटाउन कांग्रेसले पनि विभिन्न किमिसबाट प्रयास गरिरहेको छ। कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्ण सिटौला, दमननाथ ढुंगाना, गोपालमान श्रेष्ठलगायतले चासो देखाएका छन्। सरकारको नेतृत्व गर्दै आएको माओवादी केन्द्रले राष्ट्रिय सहमतिको प्रस्ताव अघि सार्दै ढुंगाना, कल्याण श्रेष्ठलगायतको नाम अघि सारेको नागरिकमा खबर छ।