म्यागसेसे पुरस्कार - सिद्धान्त, प्रक्रिया र क्षेत्र - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

म्यागसेसे पुरस्कार – सिद्धान्त, प्रक्रिया र क्षेत्र



-कुमुद अधिकारी 

म्यागसेसे पुरस्कार
‘एसियाको नोबेल पुरस्कार’ भनेर चिनिने म्यागसेसे पुरस्कार फिलिपिन्सका भूतपूर्व राष्ट्रपति रेमन डेल फियरो म्यागसेसेले सरकारमा देखाएको इमानदारिता, नागरिकहरूलाई दिएको उत्कृष्ठ सेवा, लोकतान्त्रिक समाजअन्तर्गत स्थापना गरेको प्रायोगिक आदर्शवादका उदाहरणहरूलाई चिरायु बनाउनका लागि स्थापित वार्षिक पुरस्कार हो।

सन् १९५८ देखि सन् २०१८ सम्ममा ३३० व्यक्ति तथा संस्थाहरूले म्यागसेसे पुरस्कार पाइसकेका छन्। एसियाली नागरिक तथा संस्थाहरूलाई दिइने यस पुरस्कारमा कुनै पनि आधारमा कुनै पनि किसिमको विभेद गरिँदैन।

रेमन डेल फियरो म्यागसेसेसन् १९०७ मा जन्मेका म्यागसेसे दोस्रो विश्वयुद्ध पछिका पिलिपिन्स गणतन्त्रका तेस्रा राष्ट्रपति थिए। उनको ठूलो प्रभाव आफ्ना देशवासीहरूमा मात्र नभएर अन्य धेरै देशहरूमा फैलिएको थियो। उनी आम मानिसहरूबारे सरोकार राख्‍ने र उनीहरूको आत्मसम्मान र महत्त्वमा विश्वास गर्ने एक जना साधारण र नम्र मानिस थिए। उनको जीवनको एकमात्र उद्देश्य आफ्ना फिलिपिनोहरूको उन्नति थियो जसका लागि उनी निश्वार्थ समर्पणका साथ काम गर्थे। काम गरिरहन र प्रभावकारी रहनका लागि सरकार पूर्ण रूपमा इमानदार हुनुपर्छ र सरकारले सर्वसाधारण जनताको इच्छा प्रतिबिम्बित गर्नुपर्छ भन्ने उनको दृढ विश्वास थियो।

उनी अपार उत्साह भएका महान मानिस थिए। उनी स्वतन्त्रता र खुसीले बाँच्‍ने अधिकार आफ्ना सबै मानिसको नैसर्गिक अधिकार भएको मान्थे । अन्याय र उच्च आदर्शको उल्लङ्घनमा क्रोधित हुन्थे। उनले एउटा राष्ट्र – एउटा विश्व – निर्माण गर्नका लागि काम गरे । उनको राष्ट्र/विश्वमा सम्पूर्ण मानिसहरू स्वतन्त्र थिए र एकअर्काप्रतिको सम्मानसहित शान्तिपूर्ण तरिकाले जीवनयापन गर्न सक्थे।

रेमन म्यागसेसे जीवन र कार्यावधिले विश्वलाई नै समृद्ध बनाउन मद्दत गरेको छ र आउने दिनहरूका लागि प्रोत्साहन भैरहनेछ। उनले उच्चतम र प्रतिष्ठित नेतृत्व प्रदर्शित गरेका थिए।
उनी ३१ डिसेम्बर १९५३ देखि १७ मार्च १९५७ सम्म फिलिपिन्सका राष्ट्रपति रहेका थिए।
रेमन म्यागसेसेको मृत्यु मार्च ३१, १९५७ मा भयो। उनको अन्त्येष्ठिमा करिब ५०,००,००० मानिसहरू उपस्थितभएको अनुमान गरिएको छ।

म्यागसेसे सिद्धान्त र विश्वास

• सरकार पुछारबाट सुरु भएर उँभो लाग्छ भन्ने कुरामा विश्वास गर्छु, किनकि राष्ट्रका सर्वसाधारणको भलाइका लागि नै सरकारको अस्तित्व रहेको हुन्छ।

• मलाई लाग्छ जसको जीवनमा थोरै छ, उसका लागि कानुनमा धेरै हुनुपर्छ।

• सानो मान्छेलाई आधारभूत रूपमा नै पेटमा अलिक बढी अन्न, पिठ्यूँमा अलिक बढी कपडा र टाउका माथि अलिक बढी छानोको अधिकार रहेको हुन्छ भन्ने मलाई लाग्छ।

• यो राष्ट्र मेहनती र साहसी मुटुले सम्पन्न छ र यससँग प्रयोग गर्न बाँकी क्षमताहरू र असाधारण लचकताहरू छन् भन्ने विश्वास मलाई छ।

• सबै वृत्तका सरकारी क्रियाकलापहरूमा अटल नैतिकताको चेतना व्याप्त हुनुपर्छ भन्ने मलाई लाग्छ।

• सरकारको स्पन्दन सशक्त र अविचल हुनुपर्छ र शासन गर्ने मानिसहरू उत्साहले भरिएका हुनुपर्छ भन्ने कुरामा म विश्वास गर्छु।

• म संवैधानिक र कानुनी प्रक्रियाको गौरवमा तथा मानव अधिकारको पवित्रतामा विश्वास गर्छु।

• स्वतन्त्र विश्व संयुक्त रूपमा सशक्त हुन्छ र मानिसहरूको आत्मसम्मानको सम्झौता गर्नु पर्ने आवश्यकता वा कारण हुँदैन भन्ने कुरामा म विश्वास गर्छु।

• म साम्यवाद अन्याय हो र यसले ईसाई धर्मका सिद्धान्तहरूमा गर्ने हिंसा पनि अन्याय नै हो भन्ने कुरामा विश्वास गर्छु।

• राष्ट्रपतिले ठूलो हृदयको, इमानदार मस्तिष्कको, स्वस्थ विवेकको, स्वस्थ धर्मको र सामान्य मानिसप्रति स्थायी प्रेमको उदाहरण पेस गर्नुपर्छ भन्ने मलाई लाग्छ।

रेमन म्यागसेसे पुरस्कार फाउन्डेसन

रेमन म्यागसेसे पुरस्कार फाउन्डेसनले म्यागसेसे पुरस्कारको व्यवस्थापन गर्दछ। यस फाउन्डेसमना सात जना फिलिपिनी नागरिकहरू र दुई जना पुरस्कृतहरू गरी जम्मा नौ जनाको एउटा संरक्षक बोर्ड छ। यस बोर्डको कार्यकाल चार वर्षको हुन्छ। नौ जनाको संरक्षक बोर्ड कार्यकारी प्रकृतिको हुन्छ जसमा एक जना अध्यक्ष, एक जना कोषाध्यक्ष र सात जना सदस्य(ट्रस्टि)हरू हुन्छन्। यस बोर्डमाथि सभापति र उपसभापति रहेका हुन्छन्।
रेमन म्यागसेसे पुरस्कार फाउन्डेसन सन् १९५७ मा गठन गरिएको हो। यही वर्ष राष्ट्रपति रेमन म्यागसेसेको विमान दुर्घटनामा मृत्यु भएको थियो। उनी सम्पूर्ण फिलिपिनी जनताका आदरणीय थिए।

रेमन म्यागसेसेका विश्वभरिका प्रशंसकहरूमध्ये अमेरिकाका रकफेलर दाजुभाइ पनि थिए। फिलिपिन्स सरकारसँग मिलेर रकफेलर ब्रदर्स फन्ड(आरबिएफ)ले राष्ट्रपति रेमन म्यागसेसेको सामुदायिक सेवामा इमानदारिताको उदाहरण र व्यावहारिक आदर्शवादलाई चिरायु बनाउन र फैलाउन रेमन म्यागसेसे पुरस्कार स्थापना गऱ्यो।

आरबिएफबाट प्राप्त उदार वृत्तिदानको सहयोग पाएपछि रेमन म्यागसेसे पुरस्कार फाउन्डेसनले मे १९५७ मा रेमन म्यागसेसे पुरस्कार स्थापना गऱ्यो। फाउन्डेसनको पहिलो संरक्षक बोर्डमा सात जना प्रतिष्ठित फिलिपिनी नागरिकहरू थिए। त्यस फाउन्डेसनले त्यसैबेला देखि सो पुरस्कार दिँदै आएको छ। एसियाका मानिसहरू प्रति निस्वार्थ सेवाको उत्साहलाई सम्मान गर्दै सो पुरस्कार दिइन्छ। पहिलो म्यागसेसे पुरस्कार अगस्ट ३१, १९५८ मा दिइएको थियो जसमा इन्डोनेसिया, फिलिपिन्स, चीन गणतन्त्र(ताइवान), श्री लङ्का र एउटा फिलिपिन्स आधारित सङ्गठनमा काम गर्ने पाँच जना प्रतिभाशाली व्यक्तिहरू थिए।

२०१६ का पदाधिकारीहरू(२०२० सम्मको कार्यकाल)

सभापति
रेमन आर. डेल रोजारियो, जुनियर

उप-सभापति
एडगर ओ. चुआ

कार्यकारी समिति
अध्यक्ष
कार्मेन्सिटा टि. अबेला

कोषाध्यक्ष
डिओग्रासियास एन. भिस्टन

सदस्यहरू(ट्रस्टिहरू)

सेनेन सि बकानी
मारिया सिन्थिया रोज बि. बौटिस्टा
अमिना जाल्मिया रसुल-बर्नार्डो
डाटो पाडुका टिमोथी ओङ टेक मोङ
एलेक्जान्ड्रा प्रिएटो-रोमुआल्डेज
एम्ब. टोसिनाओ उराबे
जैमे अगस्टो जोबेल डे अयाला

पुरस्कार छनोट प्रक्रिया

हरेक वर्ष रेमन म्यागसेसे पुरस्कार फाउन्डेसनले अन्तर्राष्ट्रिय नामाङ्कनकर्ताहरूबाट पुरस्कारका लागि नामाङ्कन आह्वान गर्दछ। ती नामाङ्कित व्यक्ति/संस्थाका क्रियाकलापहरूको गहन र विस्तृत अनुसन्धान गरिसकेपछि फाउन्डेसनको संरक्षक बोर्डले व्यापक मूल्याङ्कन प्रक्रिया अगाडि बढाउँछ र अन्त्यमा पुरस्कृत हुने व्यक्ति/संस्थाहरूको छनोट गर्छ।

पुरस्कार दिइने क्षेत्र

सन् १९५८ बाट दिन सुरु गरिएको म्यागसेसे पुरस्कार निम्न पाँच क्षेत्रमा दिइन्थ्यो :

• सरकारी सेवा : प्रशासनिक, न्यायिक, वैधानिक वा सैनिक सहित सरकारको कुनै पनि शाखामा सार्वजानिक हितमा उत्कृष्ठ सेवा गरेबापत

• लोक सेवा : कुनै व्यक्तिले नीजि रूपमा सार्वजानिक हितको उत्कृष्ठ सेवा गरे बापत

• सामुदायिक नेतृत्व : सुविधाहीनहरूलाई पूर्ण अवसरहरू प्रदान गर्न र राम्रो जीवन बिताउन मद्दत गर्ने सामुदायिक नेतृत्व गरेबापत

• पत्रकारिता, साहित्य र सिर्जनात्मक सञ्चार कला : सार्वजानिक हितका लागि वा सार्वजानिक शक्तिका हितमा प्रभावकारी लेखन, प्रकाशन, फोटोग्राफी गरेबापत वा रेडियो टेलिभिजन, सिनेमा वा कार्यसम्पादन कलाको प्रयोग गरेबापत

• शान्ति र अन्तर्राष्ट्रिय समझदारी: देशभित्र र बाहिर दिगो विकासका लागि मित्रता, सहनशीलता, शान्ति र ऐक्यबद्धतालाई आधारका रूपमा प्रबर्द्धन गरेबापत।

सन् २००० को पुरस्कार पछि पुरस्कारका लागि छैठौँ क्षेत्र पनि सिर्जना गरियो – उदीयमान नेतृत्व। यसमा चालीस वर्ष वा कम उमेरका नेतृत्वकर्तालाई आफ्नो समुदायमा सामाजिक परिवर्तनका उत्कृष्ठ कार्यहरू गरेबापत दिइन्छ। यस अन्तर्गत पहिलो पुरस्कार २००१ मा दिइयो। यसरी २००१ देखि २००८ सम्म छवटा क्षेत्रमा पुरस्कार दिइयो। २००८ पछि पुरस्कारका लागि कुनै वर्ग तोकिएन। वर्ग नतोतिएका पनि रेमन म्यागसेसे रूपमान्तरणीय नेतृत्व संस्थाले विभिन्न मुद्दाहरू(ISSUES)मा आधारित रहेर पुरस्कार दिन योग्य व्यक्ति वा संस्थाको चयन गर्दछ।

रेमन म्यागसेसे रूपान्तरणीय नेतृत्व संस्था(Ramon Magsaysay Transformative Leadership Institute)

वैश्विक विकासको अग्रपङ्क्तिमा एसिया रहँदा, जटिल समस्याहरूले यहाँका जनताहरूलाई गाँजेको छ। ती समस्याहरूको समाधान गर्नका लागि लागि असाधारण उपायहरू अवलम्बन गर्नुपर्ने अत्यन्त कठिन चुनौतीहरू छन्।
रूपान्तरणीय नेतृत्वको समृद्ध भण्डारसहित यो चुनौतीको सामना गर्न रेमन म्यागसेसे रूपान्तरणीय संस्था सुसज्जित छ। बितेका पचास वर्षमा म्यागसेसे पुरस्कार विजेताहरूले आफ्नो योगदान र समर्पणले आफ्नो समाज र समुदायलाई राम्रो बनाएका छन् । उनीहरूले यी यावत् मुद्दा(ISSUES) हरूको समाधानतर्फ विशिष्ट, धरातलीय र समावेशी समाधानका उपायहरू अपनाएका छन् र जीवन परिवर्तन गरेका छन्। यिनै मुद्दाहरूमा आधारित रहेर म्यागसेसे पुरस्कारलाई रूपान्तरणका निम्न क्षेत्रहरूमा वर्गीकरण गरिएको छ।

आइ (I) – Inclusive Education and Cultural Development (समावेशी शिक्षा र सांस्कृतिक विकास)
एस (S) – Sustainable Environment and Food Security(दिगो वातावरण र खाद्य सुरक्षा)
एस(S) – Social Enterprise and Rural Livelihood(सामाजिक उद्यम र ग्रामीण रोजगार/जीविका)
यु((U) – Universal and Affordable Healthcare(व्यापक र वहनयोग्य स्वास्थ्यस्याहार)
इ(E) – Ethical Governance and Engaged Citizenship(नीतिपरक शासनविधि र संलग्न नागरिकता)
एस(S) – Social Justice and Peace Building (सामाजिक न्याय र शान्ति-स्थापना)

पुरस्कारमा प्रदान गरिने वस्तुहरू

प्रमाणपत्र, राष्ट्रपति म्यागसेसेको चित्र अङ्कित मेडल र अमेरिकी डलर ५०,०००/- नगद

पुरस्कार वितरण समारोह

रेमन म्यागसेसे पुरस्कार अगस्ट ३१ का दिन फिलिपिन्सको राजधानी मनिलामा भव्य समारोहका बीच प्रदान गरिन्छ। अगस्ट ३१ राष्ट्रपति रेमन म्यागसेसेको स्मृति दिवस हो।

नेपालबाट म्यागसेसे पुरस्कार प्राप्त गर्ने व्यक्ति/संस्थाहरू :

नेपालबाट हालसम्म चार जना व्यक्तिहरू र एउटा संस्थाले म्यागसेसे पुरस्कार प्राप्त गरेका छन्। व्यक्तिहरू/संस्थाको परिचय र उनीहरूले गरेका कामबारे छोटो परिचय :

१. महेशचन्द्र रेग्मी: पुरस्कृत वर्ष सन् १९७७


महेशचन्द्र रेग्मी रेमन म्यागसेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली हुन्। उनले यो पुरस्कार पत्रकारिता, साहित्य र सिर्जनात्मक सञ्चार कलाको क्षेत्रमा प्राप्त गरेका हुन्। आफ्ना मानिसहरूलाई आफ्नो उत्पत्ति पत्ता लगाउन र राष्ट्रिय विकल्पहरू निरूपित गर्न सक्षम बनाउँदै नेपालको भूत र भविष्यलाई लिपिबद्ध गर्दै ‘अनुसन्धान शृङ्खला(Research Series)’ निर्माण गरेबापत इतिहासकार र अभिलेखविद् महेशचन्द्र रेग्मीलाई म्यागसेसे पुरस्कार प्रदान गरिएको हो।

२. भरत दत्त कोइराला: पुरस्कृत वर्ष सन् २००२


भरत दत्त कोइरालालाई यो पुरस्कार पत्रकारिता, साहित्य र सिर्जनात्मक सञ्चार कलाको क्षेत्रमा दिइएको हो। उनी चार दशकसम्म पत्रकारिताको क्षेत्रमा योगदान दिएका प्रतिष्ठित वरिष्ठ पत्रकार हुन्। उनले सन् १९६५ मा द राइजिङ नेपालको प्रमुख सम्पादक भएर आफ्नो पत्रकारिताको सुरुवात गरे र गोरखापत्रको सम्पादक हुँदै गोरखापत्र संस्थानको महानिर्देशक सम्म भए। उनी नेपाल प्रेस इन्स्टिच्युट, नेपाल वातावरण पत्रकार मञ्च, मेडिया सर्भिसेज इन्टरनेसनल र रेडियो सगरमाथाका संस्थापक पनि हुन्।

३. डा. सन्दुक रुइत: पुरस्कृत वर्ष सन् २००६


डा. सन्दुक रुइतलाई यो पुरस्कार शान्ति र अन्तर्राष्ट्रिय समझदारीको क्षेत्रका लागि प्रदान गरिएको हो। डा. सन्दुक रुइत तिलगङ्गा नेत्रविज्ञान प्रतिष्ठानका संस्थापक मध्येका एक हुन् र अत्यन्त कम शुल्क लाग्ने मोतीबिन्दु चिकित्सा ‘रुइतेक्टोमी’ का आविष्कारक हुन्। उनको प्रविधिले मोतीबिन्दु शल्यक्रियाको खर्च ९०% सम्म घटाएको छ। यी प्रकाण्ड प्रतिभाशाली नेत्र शल्यचिकित्सकले १,२०,००० जनाभन्दा बढीको आँखाको शल्यक्रिया आफ्नै हातले गरिसकेका छन्। हाल तिलगङ्गा नेत्रविज्ञान प्रतिष्ठानका निर्देशक रहेका रुइतलाई भारत सरकारले सन् २०१८ मा चौथो सर्वोच्च नारगिक पुरस्कार ‘पद्मश्री’ प्रदान गरिसकेको छ।

४. महावीर पुन : पुरस्कृत वर्ष सन् २००७


महावीर पुनलाई यो पुरस्कार सामुदायिक नेतृत्वको क्षेत्रमा प्रदान गरिएको हो। महावीर पुन शिक्षक, सामाजिक उद्यमी र सक्रियतावादी हुन्। उनलाई हिमाली तथा दुर्गम क्षेत्रको विकासका लागि ताररहित प्रविधि विकासका लागि चिनिन्छ। उनको परियोजनाको नाम नेपाल ताररहित सञ्जाल परियोजना(नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट) हो। उनकै पहलमा नेपालमा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना भएको छ। उनको मानवतावादी कार्यले देशमै फर्केर विकासका लागि केही गर्न युवाहरूलाई प्रेरित गरेको छ। महावीर पुनको कार्यलाई अशोका फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्बोल आइडियाज बैङ्कले पनि मान्यता दिएको छ।

५. शक्ति समूह : पुरस्कृत वर्ष सन् २०१३

शक्ति समूहलाई यो पुरस्कार अवर्गीकृत क्षेत्रका लागि प्रदान गरिएको हो। शक्ति समूह १२ जना मानव तस्करीका शिकार नेपाली चेलीहरूद्वारा ‘आँसुलाई शक्तिमा बदल्ने’ अठोटका साथ सन् १९९६ मा सुरु गरिएको संस्था हो। स्थापना कालदेखि नै यस संस्थाले सुसूचीत गरेर, सशक्तिकरण गरेर र सङ्गठित बनाएर मानव तस्करीबाट पीडित र मानव तस्करीको जोखिम भएकाहरूका लागि सामाजिक न्याय सुनिश्चित गर्ने तर्फ काम गरिरहेको छ। यस संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगबाट मानव तस्करीबाट प्रभावितहरूलाई न्याय प्रदान गर्ने काममा पनि अग्रसरता देखाएको छ।

लेखकबाट थप :-

तसलिमा नसरिन – जीवन, लेखन र विवाद