तसलिमा नसरिन – जीवन, लेखन र विवाद - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तसलिमा नसरिन – जीवन, लेखन र विवाद



तसलिमा नसरिनको जन्म २५ अगस्ट १९६२ का दिन एदुल आराको कोखबाट बङ्गलादेशको मैमनसिंह नगरमा भएको हो। उनका बाबु डा. राजब अली विख्यात डाक्टर र मैमनसिंह मेडिकल कलेज, ढाकाको सर सलिमुल्लाह मेडिकल कलेज तथा ढाका मेडिकल कलेजका चिकित्सा न्यायशास्त्र प्राध्यापक थिए।

सन् १९९४ मा आफ्नो भूमि बङ्गलादेश छोडेर युरोप र अमेरिकामा एक दशकभन्दा बढीको बसाइपछि तसलिमा २००४ मा भारत आइन्। उनलाई २००८ मा एकपटक निर्वासित गरिएता पनि, २००४ देखि दीर्घकालीन बहु-प्रवेश भिसामा उनी भारतमा बस्दै आएकी छिन्।

उनी विचारको स्वतन्त्रता र मानव अधिकारको वकालत गर्छिन्। यसो गर्ने उनका माध्यमहरू प्रकाशन, व्याख्यान र प्रचार हुन्।

प्रारम्भिक जीवन र शिक्षा
१९७६ मा माध्यमिक र १९७८ मा उच्च माध्यमिक शिक्षा प्राप्त गरेपछि उनले मैमनसिंह मेडिकल कलेजबाट १९८४ मा एमबिबिएसको डिग्री हासिल गरिन्। कलेजमा हुँदा कविता लेख्दै सेन्जुति नामको कविताको जर्नल सम्पादन गरेपछि उनले साहित्यप्रतिको झुकाव प्रदर्शित गरिन्। स्नातक गरेपछि उनले केही समयका लागि मैमनसिंहमा परिवार नियोजन क्लिनिकमा काम गरिन्। त्यसपछि उनको अभ्यास प्रमुख दुई ठाउँमा भयो – मिटफोर्ड अस्पतालको स्त्रीरोग विभागमा र ढाका मेडिकल कलेज अस्पतालको एनेस्थेसिया विभागमा। पढ्दा र काम गर्दा उनले बलात्कार गरिएका केटीहरू देखिन्, छोरी जन्मिँदा प्रसूति कक्षबाट आउने आमाहरूको चित्कार सुनिन्। उनको जन्म मुस्लिम परिवारमा भएता पनि समयान्तरमा उनी नास्तिक भईन्। लेखनमा उनको विचारधारा क्रान्तिकारी नारीवादी रह्यो।

प्रेम र वैवाहिक जीवन
बङ्गलादेशमा हैजाको प्रकोप हुँदा तसलिमा मैमनसिंह को सूर्यकान्त अस्पतालमा काम गर्दै थिइन्। यहीँ उनको भेट रुद्र मोहम्मद शहीदुल्लाहसँग भयो। रुद्र कवि थिए र तसलिमा पनि कवि थिइन्। कविताले कविताको सङ्गत पाएर उनीहरूको प्रेम असाधारण रूपले झाङ्गियो। १९८२ मा उनीहरूले गोप्य विवाह गरे। कविहरूको यो प्रेम विवाह लामो समयसम्म टिकेन र उनीहरूले १९८६ मा सम्बन्ध विच्छेद गरे। १९९१ मा रुद्र ३४ वर्षको उमेर मै खुदाका प्यारा भए।
उनले फेरि प्रख्यात पत्रकार तथा सम्पादक नईमूल इस्लाम खानसँग १९९० मा बिहे गरिन् तर यो विवाहले पनि १९९१ सालमा विश्राम लियो। उनको तेस्रो बिहे साप्ताहिक विचान्तरका सम्पादक मिनार महमूदसँग १९९१ मा भयो र लगत्तै अर्को वर्ष १९९२ मा सम्बन्ध विच्छेद भयो। तीनवटा असफल विवाह पछि नसरिनले बिहे गरिनन् र उनी निसन्तान छिन्।

साहित्यिक जीवन
साहित्यिक जीवनको सुरुतिर नसरिनले धेरैजसो कविता लेखिन् र १९८२ देखि १९९३ को अवधिमा आधा दर्जन कविता सङ्ग्रह प्रकाशित गरिन्। यी कविताका थिमहरू महिलाको उत्पीडन नै हुन्थे, र प्राय अश्लील मानिएका शब्दावलीमा हुने गर्थे। उनले १९८० को दशकको अन्त्यतिर गद्य प्रकाशित गर्न सुरु गरिन्। उनको यथार्थपरक उपन्यास लज्जा प्रकाशित हुनुअघि तीनओटा निबन्धसङ्ग्रह र चारओटा उपन्यास प्रकाशित भैसकेका थिए। लज्जामा मुसलमान कट्टरपन्थीहरूले एउटा हिन्दू परिवारमाथि आक्रमण गरेको र उनीहरूले देश छोड्ने निर्णय गरेको कथा छ। इस्लाम धर्मको आलोचनात्मक समीक्षा गरेकाले र महिलाका लागि समानताको माग गरेकाले उनले धेरै पटक शारीरिक र अन्य किसिमका आक्रमणहरू झेल्नु पऱ्यो। अक्टोबर १९९३ मा लाखौँ कट्टरपन्थीहरू उनलाई झुन्ड्याएर मृत्यु दण्ड दिनुपर्ने माग गर्दै सडकमा उत्रिए। अक्टोबर १९९३ मा इस्लामिक सैन्य परिषद् नामको कट्टरपन्थी समूहले उनको मृत्युका लागि इनाम घोषणा गऱ्यो। मे १९९४ मा द स्टेट्सम्यानको कोलकाता संस्करणले उनको अन्तर्वार्ता छापेको थियो जसमा उनले कुरान परिमार्जन गर्नु पर्ने कुरा गरेको उल्लेख गरिएको थियो। उनले दाबी गरे अनुसार उनले इस्लामी धार्मिक कानुन सरिया हटाउनु पर्ने माग मात्र राखेकी थिइन्। अगस्ट १९९४ मा उनलाई उत्तेजक वक्तव्यहरू दिएको अभियोग लगाईयो र उनले इस्लामी कट्टरपन्थीहरूको आलोचना खेप्‍नु पऱ्यो। केही लाख प्रदर्शनकारीहरूले उनलाई “साम्राज्यवादी शक्तिहरूले इस्लामलाई बदनाम गराउन नियुक्त गरिएकी विश्वासघाती” भएको आरोप लगाए। एउटा उग्रवादी गिरोहले उनलाई मृत्यु दण्ड नदिउन्जेल ढाकामा हजारौँ विषालु सर्पहरू छोड्ने कुरा गऱ्यो। दुई महिना गुप्तवास बसेर, १९९४ मा उनी स्वीडेन पलायन भइन्। पछि उनले चिकित्सा क्षेत्र त्यागिन् र पूर्णकालीन लेखक र एक्टिभिस्ट बनिन्।

निर्वासनको जीवन
१९९४मा बङ्गलादेशबाट भागेर तसलिमाले स्वीडेन, जर्मनी, फ्रान्स र अमेरिकामा दस वर्ष बिताइन्। उनी २००४ मा कोलकाता आएर त्यहाँ २००७ सम्म बसिन्। हैदराबादमा उनलाई मुसलमान कट्टरपन्थीहरूले आक्रमण गरेपछि उनले कोलकातामा घरमै नजरबन्द भएर बस्नुपऱ्यो। २२ जुलाई २००७ मा उनलाई पश्चिम बङ्गालबाट पनि खेदियो। त्यसपछिका तीन महिना उनले दिल्लीमा नजरबन्दी भएर गुजार्नुपऱ्यो। २००८ मा भारत छोड्ने बाहेक अर्को विकल्प उनीसँग थिएन। केही समयका लागि उनलाई भारतमा बस्न दिइएन। तर आफ्नो भारतीय उपमहाद्वीप मै बस्ने अठोटका कारण उनी फेरि अमेरिकाबाट भारत आइन्।
१९९४ मा बङ्गलादेश छोडेपछि उनलाई स्वीडेन सरकारले नागरिकता प्रदान गऱ्यो र उनले जर्मनीमा शरण लिइन्। उनको बङ्गलादेशी राहदानी रद्द भैसकेको थियो। भारत भ्रमण गर्ने भिसा प्राप्त गर्नका लागि उनलाई कथित छ वर्ष(१९९४-१९९९) लाग्यो। आफ्नी आमा र केही पछि पिता मृत्युशय्यामा हुँदा बङ्गलादेश फर्किनका लागि उनलाई बङ्गलादेशी पासपोर्ट दिइएन।
मार्च २००० मा आफ्नो उपन्यास शोध प्रबर्द्धन गर्न उनी मुम्बई गइन्। यस अवसरलाई धर्मनिरपेक्ष “नास्तिक” समूहहरूले अभिव्यक्ति स्वतन्त्रताको उत्सव मनाउने अवसरका रूपमा लिए भने, उग्र कट्टरपन्थीहरूले उनलाई जिउँदै जलाउने धम्की दिए।२००४-२००७, कोलकाताको जीवन
२००४ मा उनलाई भारत सरकारले नवीकरण गर्न सकिने अस्थायी प्रवास अनुमति पत्र प्रदान गऱ्यो र उनी पश्चिम बङ्गालको राजधानी कोलकाता आइन्। पश्चिम बङ्गाल र उनको मातृभूमिका साझा भाषा र सम्पदाहरू छन्। २००७ मा आफूलाई भाग्न बाध्य पारिनुअघि उनले कोलकातालाई आफ्नो घर भन्थिन्। आवधिक रूपमा भारत बस्ने अनुमति दिँदै भारत सरकारले उनको भिसा अवधि बढायो, यद्यपि भारतीय नागरिकता दिन भने अस्वीकार गऱ्यो। कोलकातामा बस्दा उनले समाचारपत्रहरू र पत्रपत्रिकाहरूमा नियमित रूपमा लेखिन्। यसमा आनन्दबजार पत्रिका र देश प्रमुख थिए। केही समयका लागि उनले द स्टेट्सम्यानको बङ्गाली संस्करणमा साप्ताहिक स्तम्भ लेखिन्।
इस्लामको आलोचना गरेकामा उनलाई फेरि धार्मिक कट्टरपन्थीहरूले विरोध गरे। जुन २००६ मा कोलकाता स्थित टिपु सुल्तान मस्जिदका इमामले नूरूर रहमान बर्कटीले नसरिनका अनुहारमा कालो मोसो दल्नेलाई आर्थिक पुरस्कार दिने घोषणा गरे। विदेशमा पनि उनी विवादमा तानिइनः २००५ मा उनले न्युयोर्क सहरको मेडिसन स्क्वायर गार्डनमा भैरहेको उत्तर अमेकिरी बङ्गाली सम्मेलनमा युद्ध विरोधी कविता “अमेरिका” पढ्ने प्रयास गरिन् र श्रोताको विरोधपछि उनले मञ्च छोड्नु पऱ्यो। यता भारतमा मार्च २००७ मा ‘अल इन्डिया मुस्लिम पर्सनल बोर्ड’ ले उनको टाउको काट्नेलाई पाँच लाख रूपैयाँको पुरस्कार घोषणा गऱ्यो। यो घोषणाको एउटै मात्र सर्त “नसरिनले माफि माग्नुपर्ने, आफ्ना सबै पुस्तक जलाउनुपर्ने र देश छोड्नुपर्ने” भनी सो समूहका अध्यक्ष तकीर रजा खानले उल्लेख गरे।
२००७ मै ‘अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुसलमान’का निर्वाचित र सेवाकालीन सदस्यहरूले उनी र सलमान रूस्दीविरूद्धको फतवा पूर्ण रूपमा लागू हुनुपर्ने अपील गरे। यो पार्टी एउटा राजनैतिक पार्टी हो।

कोलकाताबाट निष्कासन
अगस्ट ९, २००७ का दिन हैदराबादमा आफ्नो उपन्यास शोधको तेलुगु अनुवाद प्रस्तुत गर्न गएका बेला उनलाई ३ जना एमएलएहरू मोहम्मद मुक्तदा खान, मोहम्मद मोआजम खान र सैयद अहमद पासा क्वाद्रीले नेतृत्व गरेको गिरोहले आक्रमण गऱ्यो। एक हप्ता पछि अगस्ट १७, २००७ का दिन कोलकाताका मुसलमान नेताहरूले उनलाई पहिले जारी गरिएको फतवा पुनर्जीवित गराउँदै देश छोड्न भन्यो र उनलाई हत्या गर्नेलाई चाहिए जति(असीमित) रकम दिने घोषणा गऱ्यो। २१ नोभेम्बरमा कोलकातामा नसरिनविरूद्ध विरोध प्रदर्शनहरू भए। उग्रवादी इस्लामी गिरोह “अल इन्डिया माइनोरिटी फोरम”ले कोलकाता सहरमा विध्वंस मच्चायो र शान्ति पुनर्बहाली गर्नका लागि सरकारलाई सेना उतार्न बाध्य बनायो। यी दङ्गाहरूपछि तसलिमाले आफ्नो “आश्रयदाता सहर” कोलकाता छोड्नुपऱ्यो। उनी पहिले जयपुर गइन् र त्यसपछि दिल्ली।
सात महिनाभन्दा बढी समयका लागि उनलाई भारत सरकारले अज्ञातस्थलमा नजरबन्दमा राख्यो। जनवरी २००८ मा उनको महिला अधिकार बारेको लेखाईलाई सम्मान गर्दै उनलाई सिमोन द बुआ पुरस्कार प्रदान गर्ने निधो गरियो। तर उनले पुरस्कार ग्रहण गर्न पेरिस जान मानिनन् र भनिन्, “यसबेला म भारत छोड्न चाहन्न र मेरो स्वतन्त्रताका लागि यहीँ सङ्घर्ष गर्छु।” उनलाई धेरै समस्या परेका कारण तीन दिनसम्म अस्पलात भर्ना गर्नुपऱ्यो। उनको यो नजरबन्दले छिटै अन्तर्राष्ट्रिय आयाम प्राप्त गऱ्यो- लन्डनस्थित एमनेस्टी इन्टरनेसनललाई पठाएको पत्रमा, भारतीय विदेश सचिव मुचकुन्द दुबेले सो संस्थालाई तसलिमा नसरिनलाई सुरक्षित कोलकाता फर्काउन भारत सरकारलाई दबाब दिन अनुरोध गरे।

नयाँ दिल्लीबाट तसलिमाले टिप्पणी गरिन् : ‘म अहिले धेरै लेखिरहेकी छु, तर इस्लाम बारे हैन। अब यो मेरो विषय रहेन। म राजनीतिबारे लेखिरहेकी छु। बितेका तीन महिनामा मलाई पुलिसले (पश्चिम) बङ्गाल परित्याग गर्न अत्यन्त धेरै दबाब दिएको छ।’ अज्ञात सुरक्षित स्थानबाट इमेल अन्तर्वार्तामा नसरिनले “यो सहनै नसकिने एक्लोपन, अनिश्चितता र मुर्दा शान्ति”ले दिएको तनाव बारे कुरा गरिन्। आफ्नो आत्मकथाको छैठौँ भाग ‘नेइ किछु नेइ’को प्रकाशन रद्द गरिन्, र दबाबमा परेर ‘द्विखण्डितो’का केही अनुच्छेदहरू हटाइन्। कोलकातामा दङ्गा उत्पन्न गर्ने यही विवादास्पद पुस्तक थियो। उनले १९ मार्च २००८ मा भारत छोड्न बाध्य हुनुपऱ्यो।
२००८ मा नसरिन स्वीडेन पुगिन् र पछि न्युयोर्क विश्वविद्यालयमा अनुसन्धान अध्येताका रूपमा काम गरिन्। उनी “मेरो आत्मा भारतमा बस्छ” भन्थिन् र २००५ मा मृत्युपश्चात् आफ्नो शरीर कोलकाता आधारित गैरसरकारी संस्था गण दर्पणलाई चिकित्सकीय प्रयोगका लागि दान गर्ने घोषणा पनि गरिन्। कालान्तरमा उनी भारत फर्किन् तर पश्चिम बङ्गाल सरकारले कोलकातामा उनलाई प्रवेश नदिएका कारण उनले दिल्ली मै बस्नु पऱ्यो। उनको भारतको भिसा नवीकरण भैरहेको छ र स्थायी बसोबासका लागि उनले दिएको निवेदन भारतीय गृहमन्त्रालय अन्तर्गत विचाराधीन छ।

२०१५ मा उनलाई अलकाइदासँग सम्बद्ध उग्रवादीहरूले कथित रूपमा धमकी दिए र त्यसैले उनलाई अनुसन्धान केन्द्रले अमेरिकाको यात्रा गर्न सघायो।

साहित्य सिर्जना
नसरिनले तेह्र वर्षकी हुँदादेखि कविता लेख्‍न सुरु गरिन्। मैमनसिंह कलेजमै हुँदा उनले उनले साहित्यिक पत्रिका ‘सेन्जुति’ को प्रकाशन गरिन् १९७८ देखि १९८३ सम्म। उनको पहिलो कविता सङ्ग्रह १९८६ मा प्रकाशित भएको थियो भने दोस्रो कविता सङ्ग्रह ‘निर्वासितो बाहिरे अन्तरे’ १९८९ मा प्रकाशित भयो। १९८०को दशकको अन्त्यतिर उनले पत्रिकामा स्तम्भ लेख्‍न सुरु गरेपछि उनले धेरै पाठकहरू कमाइन्। १९९० को दशकको सुरुमा उपन्यास लेख्‍न सुरु गरेपछि, उनको सम्मान पनि बढ्यो। समग्रमा उनले विभिन्न विधाका तीसभन्दा बढी पुस्तक लेखेकी छन्, र उनका पुस्तकहरू विभिन्न २० भाषाहरूमा अनूदित भएका छन्।
किशोरावस्थामा हुँदा आफूमाथि भएको यौन दुर्व्यवहार र स्त्रीरोग विशेषज्ञका रूपमा आफ्नो कामले इस्लाम धर्ममा महिलाहरूमाथि गरिने व्यवहार तथा समग्रमा इस्लाम धर्मका विषयमा उनको लेखनलाई धेरै प्रभावित पाऱ्यो। उनका लेखनका दुई संयुक्त तत्त्वहरू छन्, आफ्नो मूल संस्कृति इस्लामसँगको आफ्नो सङ्घर्ष र उनको नारीवादी दर्शन। उनले आफू भर्जिनियाँ उल्फ र सिमन द बुआबाट प्रभावित भएको भनेकी छिन्। आफ्नै ठाउँको कुरा गर्दाउनी बेगम रोकेयाको नाम लिन्छिन्, जो बङ्गाल विभाजन नहुँदै बेलाकी थिइन्।

स्तम्भ र निबन्ध
१९८९ मा तसलिमाले साप्ताहिक राजनैतिक पत्रिका ‘खबोरेर कागोज’ मा स्तम्भ लेख्‍न थालिन्। यस पत्रिकाको सम्पादन नईमुल इस्लाम खानले गर्थे र यो ढाकाबाट प्रकाशित हुन्थ्यो। उनका नारीवादी दृष्टिकोण र धर्म-विरोधी टिप्पणीहरूले व्यापक ध्यान तान्न थाल्यो र उनले आफ्ना स्वच्छन्दतावादी टिप्पणीहरू र सुझावहरूले बङ्गलादेशको धार्मिक र परम्परागत समाजमा ठूलै खैलाबैला मच्चायो। पछि उनले यी स्तम्भलेखहरूलाई सङ्कलन गरी पुस्तकाकार रूप दिइन् जसको नाम ‘निर्वाचित कोलम’ थियो। यही पुस्तकले उनलाई बङ्गाली लेखकहरूका लागि दिइने प्रतिष्ठित ‘आनन्द पुरस्कार’ दिलायो। उनी कलकत्तामा बस्दा ‘द स्टेट्सम्यान’को बङ्गाली संस्करण ‘दैनिक स्टेट्सम्यान’मा साप्ताहिक निबन्ध लेख्थिन्। तसलिमाले जहिले पनि समान नागरिक आचारसंहिताको वकालत गरिन् र भनिन्, “इस्लामी देशहरूमा धर्म निरपेक्षता स्थापित गर्ने एउटा मात्र उपाय इस्लामको आलोचना गर्नु हो।” उनले सम्बन्ध विच्छेद गर्दा भनिने तीन तलाक निन्दनीय कुरा हो भनिन् र ‘अल इन्डिया मुस्लिम पर्सनल ल बोर्ड’ लाई खारेज गर्नुपर्छ पनि भनिन्। उनले ‘द प्रिन्ट इन इन्डिया’ नामक अनलाइन मेडियाका लागि पनि लेखहरू लेखिन्।

उपन्यासहरू
१९९२ मा तसलिमाले दुईवटा उपन्यासिका प्रकाशित गरिन् जसले कुनै ध्यान आकृष्ठ गर्न सकेन। उनको महत्त्वपूर्ण उपन्यास ‘लज्जा’ १९९३ मा प्रकाशित भयो र विवादास्पद विषयवस्तुका कारण यसले ठूलो ध्यान आकृष्ट गऱ्यो। यसले मुस्लिम वातावरणमा देशभक्त बङ्गलादेशी हिन्दू परिवारका सङ्घर्षहरू देखाएको छ। प्रारम्भमा उनले यसलाई सानो यथार्थ लेखका रूपमा लेखेकी थिइन्। पछि परिमार्जन गर्दै जाँदा सो पूर्ण उपन्यास बनेको थियो। छ महिनाको समयमा बङ्गलादेशमा ‘लज्जा’ पचास हजार प्रति बिक्री भयो। बङ्गलादेश सरकारले त्यही वर्ष उपन्यासमा प्रतिबन्ध लगायो।
उनको अर्को प्रसिद्ध उपन्यास ‘फ्रान्सेली प्रेमी’ हो जुन २००२ मा प्रकाशित भएको थियो।आत्मकथा
उनका आत्मकथाहरू खरोपन र स्पष्टवादिताका लागि प्रसिद्ध छन्। यिनै कारणले कतिपय पुस्तकहरू बङ्गलादेश र भारतमा प्रतिबन्धित छन्। ‘आमार मेयेबेला(मेरो बालापन)’ उनको पहिलो आत्मकथा हो जसलाई बङ्गलादेश सरकारले हजरत मोहम्मद प्रति अपमानजनक टिप्पणी गरेकाले १९९९ मा प्रतिबन्धित गऱ्यो। उनको आत्मकथाको दोस्रो भाग ‘उत्ताल हाउया(उत्ताउलो हावा)’लाई बङ्गलादेश सरकारले २००२ मा प्रतिबन्धित गऱ्यो। ‘क(बोल)’ उनको आत्मकथाको तेस्रो भाग थियो र यसलाई पनि बङ्गलादेश उच्च अदालतले २००३ मा प्रतिबन्धित गऱ्यो। यही पुस्तक पश्चिम बङ्गालमा ‘द्विखण्डिता’ नामले प्रकाशित भएको थियो। मुसलमान कट्टरपन्थीहरूको दबाबका कारण भारतमा पनि यसमाथि प्रतिबन्ध लगाइयो, र तीन हजार प्रति तुरुन्तै जफत पनि गरियो। पश्चिम बङ्गालका थुप्रो लेकहरूले यस प्रतिबन्धको आलोचना गरे। यो प्रतिबन्ध २००५ सम्म फुकुवा गरिएन। ‘सेइ सोब ओन्धोकार(ती सब अँध्याराहरू)’ उनको आत्मकथाको चौथो भाग हो र यसलाई पनि बङ्गलादेश सरकारले २००४ मा प्रतिबन्ध लगायो। अहिलेसम्म उनका आत्मकथाहरूका सात भागहरू प्रकाशित भएका छन्। ‘आमी भालो नेइ तूमि भालो थेको प्रियो देश(म राम्री छैन तिमी राम्रो बस मेरो देश)’, ‘नेइ किछु नेइ(छैन केही छैन)’, र ‘निर्वासितो(निर्वासित)’ सहित सातै भाग पिपल्स बुक सोसाइटी कोलकाताले प्रकाशित गरेको हो। उनले ‘आमार मेयेबेला(मेरो बालापन)’का लागि दोस्रो आनन्द पुरस्कार २००२ मा प्राप्त गरिन्।

तसलिनाको पक्ष र विपक्षमा लेखक र बुद्धिजीवी
लक्ष्यित अपमान गरेकामा बङ्गलादेश र पश्चिम बङ्गाल दुवैका लेखकहरू र बुद्धिजीवीहरूले तसलिमा नसरिनको आलोचना गरेका छन्। ‘क’ मा घृणित, गलत र हास्यास्पद टिप्पणीहरू गरेकामा बङ्गलादेशी कवि र उपन्यासकार सैयद शामशुल हकले २००३ मा नसरिन विरूद्ध अपमानको मुद्दा दायर गरेका थिए। ‘वादीको प्रतिष्ठालाई अपमानित गर्ने उद्देश्यले’ ती टिप्पणीहरू गरिएको हकको तर्क थियो। पुस्तकमा भने नसरिनले हकले आफ्नो सम्बन्ध भाउजूसँग भएको कुरा स्वीकार गरेको कुरा उल्लेख गरेकी थिइन्। पश्चिम बङ्गालका कवि हसमत जलालले पनि त्यसै गरे र यसले उच्च अदालतलाई सो पुस्तकमा प्रतिबन्ध लगाउन कर लगायो। सो पुस्तक पश्चिम बङ्गालमा ‘द्विखण्डिता(दुई भागमा विभाजित)’ नाममा प्रकाशित गरिएको थियो। सो पुस्तक प्रकाशित भएपछि करिब चार मिलियन डलरको क्षतिपूर्ति दाबी गरिएको थियो। २४ जना साहित्यिक बौद्धिकहरूको दबाबमा पश्चिम बङ्गाल सरकारले २००३ मा उनको पुस्तकमाथि प्रतिबन्ध लगाएको थियो। नसरिनले केही चिनेका व्यक्तिहरूबारे आफूले अनुमति नलिई लेखेको स्वीकार गरिन् भने कतिपयले उनले प्रसिद्धि पाउनका लागि लेखेको कुरा गरे। त्यस्ता सम्पूर्ण आरोपहरूबाट आफ्नो बचाउ गरिन्। आफूले आफ्नै जीवनको कथा लेखेको हुनाले आफ्ना यौन क्रियाकलापहरूको खुलासा गर्ने आँट गरेको कुरा उनले बताइन्। यति हुँदाहुँदै पनि आनन्दशङ्कर रे, शिवनारायण रे र अमलन दत्तजस्ता लेखकहरूले उनको समर्थन गरिरहे।
पछिल्लो समयमा उनलाई प्रतिष्ठित लेखिका महाश्वेता देवी, नाट्य निर्देशक विवश चक्रवर्ती, कवि जय गोश्वामी, कलाकारहरू प्रकाश कर्माकर र परितोष सेनले समेत उनको समर्थन र बचाउ गरेका छन्। प्रतिष्ठित लेखिका अरून्धति रोय, नाटककार तथा कलाकार गिरीश कर्नाड र अन्यहरूले पनि २००७ मा उनी दिल्लीमा नजरबन्दमा रहँदा उनको बचाउ गरेका थिए र भारत सरकारसमक्ष उनलाई स्थायी बसोवास गर्ने अनुमति दिन वा उनले मागेको खण्डमा भारतीय नागरिकता दिन अनुरोध गर्दै संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका थिए। बङ्गलादेशमा लेखक र दार्शनिक कबीर चौधरीले उनलाई सशक्त समर्थन गरे।

तसलिमा र विवाद
तसलिमा र विवादलाई पर्यायवाची भन्दा फरक पर्दैन। भारतीय पत्रिका टाइम्स अफ इन्डियाले त उनलाई विवादकी प्यारी छोरी समेत भनेको छ। उनको व्यक्तिगत जीवनसम्बन्धी विचार, उनको आचरण र उनको लेखन पनि विवादमुक्त रहन सकेका छैनन्।

उनले आफू सानै हुँदा आफन्तहरूले नै यौन शोषण गरेको स्वीकार गरेकी छिन्। यद्यपि त्यसबेला उनलाई त्यसबारे त्यति धेरै थाहा थिएन तर पछि ठूली भएपछि आफूमाथि गरिएको व्यवहार असामाजिक, अनैतिक र अधार्मिक रहेको उनलाई थाहा भयो। ती पापीहरूलाई घृणा गर्नुको साटो उनले धर्म र ती पापीहरूले दिने धार्मिक शिक्षालाई घृणा गर्न थालिन्। उनलाई संसारमा सबैतिर महिलालाई शोषण गरिन्छ भन्ने लाग्न थाल्यो र मुसलमान महिलाहरू सबैभन्दा पीडित छन् भन्ने उनको निष्कर्ष रह्यो। यो भावनाले उनलाई विद्रोही बनायो र उनको लेखन पनि विद्रोही बनेर निस्कियो। कति हो कति विवाद निम्तिए।

माथि उल्लेखित केही विवादहरूसहित अन्य केही विवादहरूलाई बुँदागत रूपमा हेरौँ।

  • क) उनका कविताहरू र गद्य लेखनीमा शब्दहरूको प्रयोगको कुनै सीमाना हुँदैन। उनी पुरुष र महिलाका यौनाङ्गहरू, चरत्मोत्कर्ष, वा हस्तमैथुन जस्ता शब्दहरू प्रयोग गर्न डराउँदिनन्। उनको एउटा कविताको शीर्षक नै ‘हस्तमैथुन’ छ। अस्सीको दसकको मध्यतिर उनको कविता ‘नियति’मा ‘ऊ दूध चुस्छ’ भन्ने शब्दावलीलाई अत्यन्त अश्लील ठानेर मुद्दा दायर गरिएको थियो।
  • ख) १९८२ मा अयोध्यास्थित बाबरी मस्जिद भत्काएपछि बङ्गलादेशमा मुसलमानहरूले हिन्दू अल्पसङ्ख्यकहरूमाथि गरेको अत्याचारमा आधारित उपन्यास हो लज्जा। एउटा देशभक्त हिन्दू परिवारले भोग्नु परेको पीडा र राज्यले उनीहरूको सुरक्षामा गरेको बेवास्ता बारे पुस्तक बोल्छ। यस पुस्तकले तसलिमा नसरिनलाई तुरुन्त लोकप्रिय बनायो र पुस्तका प्रतिहरू रातारात बिके। तर कट्टरपन्थीहरूले गरेको विरोधका कारण यो पुस्तकमाथि प्रतिबन्ध लगाइयो, फतवा(धार्मिक मृत्युदण्ड) घोषणा गरियो र तसलिमालाई बङ्गलादेशबाट खेदियो।
  • ग) उनले कोलकाताको ‘द स्टेट्सम्यान’मा दिएको अन्तर्वार्तामा कुरानलाई परिमार्जन गर्नुपर्ने कुरा उल्लेख गरिन्। यसले समग्र पश्चिम भारतमा सनसनी उत्पन्न गऱ्यो। पछि आफूले कुरान को ‘शरिया’ नामक पारिवारिक कानुनलाई मात्र परिमार्जन गर्नुपर्ने कुरा गरेको र पत्रकारले गलत उल्लेख गरेको कुरा उनले गरिन्। तर यस प्रसङ्गलाई सो मेडियामा ल्याउने पत्रकार सुजाता सेनले तसलिमाको कुरा ठाडै अस्वीकार गरिन्। मुसलमान कट्टरपन्थीहरूले उनको टाउकाको मोल तोके र मृत्युदण्डको घोषणा गरे।
  • घ) उनले आफ्नो तेस्रो पति मिनार मोहमद(एमएम)ले आफूप्रति गरेको अत्याचार खुलस्त लेखेकी छिन्। मिनार जँड्याहा थिए र तसलिमालाई मुढ्क्याइरहन्थे र घाँटी अँठ्याउँथे। कैयन् पटक उनका आँखाबाट रगतै आउँथ्यो। उनले यो कुरा ‘द्विखण्डिता’ नामक आत्मकथाको पुस्तकमा लेखेकी छन्।
  • ङ) पुस्तक मात्र हैन तसलीमाका ट्विटहरू पनि विवादास्पद हुने गरेका छन्। यस्तै एउटा ट्विटमा उनले पश्चिम बङ्गालका प्रतिष्ठित बङ्गाली लेखक र साहित्य एकेडेमीका अध्यक्ष सुनी गङ्गोपाध्यायले आफूमाथि यौन शोषण गरेको आरोप लगाइन्। यसले भारतमा ठूलै तरङ्ग उत्पन्न गऱ्यो।
  • च) त्यस्तै तसलिमाको नेपाल सम्बन्धी ट्विट पनि छ। अगस्ट २०११ मा नेपाल लिटरेचर फेस्टिबलमा आउने कुरा तय भएको थियो। त्यतिबेला उनले ट्विट गरेकी थिइन्, “मेरा नेपाली साथीहरू, आज मैले काठमाडौँको उडान छोड्नुपऱ्यो। मैले नेपाललाई अर्को देश नठानेकाले पासपोर्ट बोक्न बिर्सिएँ।” यसले सामाजिक सञ्जाल र मिडियामा ठूलो तरङ्ग ल्याएको थियो।
  • छ) उनको पहिलो पति रुद्रसँगको सम्बन्धविच्छेदले पनि निक्कै होहल्ला मच्चायो। पारिवारिक नाटक सार्वजानिक रूपमा कवितामार्फत् मञ्चन गरिएको थियो।

तसलिमाले रुद्रका लागि लेखिन् :

मैले बरू कुकुर पालेकी भए हुनेरहेछ
ब्वासाँहरूलाई पनि सधाउन सकिन्छ
र मैले त दूध र केरासँग एउटा कवि पो पालेँछु
मतिर पुच्छर फर्काउनु अघि र मबाट चिप्लिनुअघि
यसले मलाई टोक्यो।
रुद्रले यसको जबाफ कवितामै लेखे :
हो मेरी प्रिये,
कुकुर वा विरालो नै पाल
सुँगुरले पनि काम दिन सक्छ
जसले परस्परको मायाको साटो
फोहोर दिन सक्छ।

तसलिमाका प्रकाशित कृतिहरू
कविता
शिकडे बिपुल क्षुधा, १९८२
निर्वासित बाहिरे अन्तरे, १९८९
आमार किछू याए आसेना, १९९०
अतले अन्तरीन, १९९१
बालिकार गोल्लछूट, १९९२
वेहुला एका आसियेछिलो भेला, १९९३
आय कष्ट झेँपे, जीवन देबो मेपे, १९९४
निर्वासित नारीर कविता, १९९६
जलपद्य, २०००
खालि खालि लागे, २००४
किछुखन थाको, २००५
भालो बासो छाई बासे २००७
वन्दिनी, २००८

निबन्ध सङ्ग्रह
निर्वाचित कलाम, १९९०
जाबो ना क्यानो, जाबो, १९९१
नषेट मेयेर नष्ट गल्प, १९९२
छोटो छोटो दुःख कथा, १९९४
नारीर कोनो देश नेई, २००७,
निषिद्ध, २०१४
तसलिमा नसरिनेर गद्य,पद्य २०१५

उपन्यास
अपरपख्ख, १९९२
शोध, १९९२
निमन्त्रण, १९९३
फेरा, १९९३
लज्जा, १९९३
भ्रमर कईऊ गिया, १९९४
फरासि प्रमिक,(फ्रान्सेली प्रेमी) २००२
शरम, २००९

कथासङ्ग्रह
दुःखवती मेये, १९९४
मिनू, २००७

आत्मकथा
आमार मेयेबेला, १९९९
उत्ताल हाऊया, २००२
क, २००३(पश्चिम बङ्गालमा ‘द्विखण्डीत’ नामले प्रकाशित, २००३)
सेई सब अन्धकार, २००४
आमी भालो नेई, तूमी भालो थाको प्रियो देश, २००६
नेई किछू नेई, २०१०
निर्वासन, २०१२

पुरस्कार तथा सम्मान
आनन्द साहित् पुरस्कार – १९९२ र २००२ मा दुई पटक(पश्चिम बङ्गाल)
नाट्यसभा पुरस्कार – १९९२ (बङ्गलादेश)
फ्रान्स सरकारबाट मानवाधिकार पुरस्कार – १९९४
फ्रान्सको ‘एडिक्ट फ नान्टेस’ पुरस्कार – १९९४
स्वीडेनको स्वीडिस पेन ‘कर्ट टुचोल्स्की’ पुरस्कार – १९९४
जर्मनीको एर्विन फिसर पुरस्कार – २००२
लगायत अन्य थुप्रै सम्मान, मानार्थ विद्यावारिधी र मानार्थ नागरिकताहरू।

***