रिडीमा माघे सङ्क्रान्ति मेला शुरु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रिडीमा माघे सङ्क्रान्ति मेला शुरु



गुल्मी (रासस) । विगतका वर्षमा जस्तै यस पटक पनि गुल्मीको धार्मिक क्षेत्र रिडीमा आजदेखि माघे सङ्क्रान्ति मेला शुरु भएको छ ।

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्रको रिडीमा वर्षेनी तीन दिनसम्म भव्यरुपमा माघे सङ्क्रान्ति मेला लाग्ने गर्दछ ।

रुरु क्षेत्र विकास समितिको व्यवस्थापनमा सञ्चालन हुन गइरहेको उक्त मेलालाई थप व्यवस्थित बनाउन यस पटक कालीगण्डकीको किनारलाई सफा गरी तीर्थालुलाई नुहाउन सहज बनाइएको छ ।

समितिको पहलमा पहिलो पटक रिडी क्षेत्र धाममा आउने तीर्थयात्रीलाई ऋषीकेश मन्दिर परिसरमा निःशुल्क भोजन गर्ने व्यवस्था समेत मिलाइएकोे रुरु क्षेत्र विकास विकास समितिका अध्यक्ष रामलाल विश्वकर्माले बताउनुभयो ।

मेलाको अवसरमा टाढाटाढाबाट व्यापार गर्न आउने व्यवसायीका लागि समितिले स्टल निर्माण गर्ने काम सम्पन्न गरिसकेको छ । विगतमा व्यवसायीलाई खाली जग्गालाई व्यवसाय सञ्चालनका लागि भाडामा उपलब्ध गराउँदै आएकोमा यस पटकदेखि समितिको पहलमा २०० स्टल निर्माण गरिएको हो ।

स्थानीय रुरु फ्रेण्डस क्लबले रिडीको खेल मैदानमा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित बृहत् सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्न लागेको छ । मेलामा बाल उद्यान, कृषि सामग्री प्रदर्शनी, स्थानीय खाद्य परिकारलगायत पहिलो पटक फोटो प्रदर्शनी राखिने भएको छ । स्थानीय युवाको पहलमा प्रदर्शनीमा रुरु क्षेत्रसँग सम्बन्धित पुराना र नयाँ तस्वीर प्रदर्शनीमा राखिने बताइएको छ ।

विशेष गरी जेठी, माइली र कान्छी सङ्क्रान्ति गरी तीन दिनसम्म सञ्चालन हुने माघे सङ्क्रान्तिको पहिलो दिन दिनभर कालीगण्डकी नदीमा स्नान गर्न आउने श्रद्धालुको घुइँचो लाग्ने गर्दछ । रुरु क्षेत्रअन्तर्गत रिडीस्थित कालीगण्डकी नदिमा स्नान गरेपछि श्रद्धालु कालीगण्डकी नदी नजिकै रहेको ऋषीकेश मन्दिरमा पुगी पूजाआजा गर्ने गर्दछन् ।

माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित गर्नका लागि गुल्मी, पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधिले चक्रिय प्रणालीमा नेतृत्व लिने गरी रुरु क्षेत्र विकास समितिको गठन गरिएको छ । रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले धार्मिक एवं पर्यटकीयस्थल रिडी क्षेत्रको विकास, त्यसको प्रचारप्रसारका साथै मेलाको व्यवस्थापन कार्यमा सहयोग पुराउँदै आएको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी अधिकृत नरेश भण्डारीले बताउनुभएको छ ।

माघे सङ्क्रान्तिको दिनमा कालीगण्डकीमा गएर स्नान गरेपछि मानिसले अन्जानका गरेका सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ । त्यसै विश्वासका आधारमा कालीगण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा ऋषी ऋण तिरिने धार्मिक मान्यताका कारण हजारौँ श्रद्धालु रिडी क्षेत्र धाममा आउने गर्दछन् ।