पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता छैन- माधव नेपाल - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता छैन- माधव नेपाल



काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन्।

शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरू विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका हुन्।

उनले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि प्रतिफल नआएको बताए। विमानस्थल बनाउने पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने उनको भनाइ छ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राखे। उनले देशमा आवश्यकताहरूको प्राथमिकीकरण गर्न नसकिएको टिप्पणी गरे। उनले कुनैपनि कुरामा दूरगामी सोँच राख्न नसकिएको बताए।

अध्यक्ष नेपालले देशको सबै क्षेत्रहरूमा समस्या भएको भन्दै समस्याको मुख्य कारण भ्रष्टाचार भएको बताए। भ्रष्टाचारको अन्त्य सिंहदरबारबाट मात्रै गर्न सकिने उनको भनाइ छ।

उनले मुख्य नेतृत्वबाट नै भ्रष्टाचारको अन्त्य गर्न सकिने उल्लेख गरे। मुख्य नेतृत्वहरूमा भ्रष्टाचार अन्त्य गर्ने इमान्दार प्रतिवद्धता नहुञ्जेलसम्म भ्रष्टाचारको अन्त्य गर्न नसकिने अध्यक्ष नेपालको भनाइ छ।