गर्भवतीको मृत्युले अस्पतालमा तनाव - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गर्भवतीको मृत्युले अस्पतालमा तनाव



बुटवल । सुत्केरी हुन बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आएकी महिलाको मृत्यु भएपछि सोमबार दिनभर तनाव भएको छ । अस्पतालमा कार्यरत नर्सहरूले गलत औषधि बिरामीलाई स्लाइनमार्फत दिएर गर्भवतीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तालाबन्दी र नाराबाजी गरेका हुन् ।

पाल्पा झडेवाकी ३२ वर्षिया भगवती अधिकारीको आइतबार ११ बजे मृत्यु भएको थियो । बुटवलको अमरपथमा बस्दै आएकी उनी साथीसँग रिक्सा चढेर अस्पताल पुगेकी थिइन् । अञ्चल अस्पतालमै नियमित चेकजाँच गरिरहेकी उनको स्वास्थ्य अवस्था ठीक रहेको चिकित्सकले बताएका थिए ।

आइतबार सुत्केरीको बेथा लागेजस्तो भएपछि उनी अस्पताल पुगेकी थिइन् । अस्पताल पुग्नासाथ स्लाइन चढाइएपछि उनी अचेत बनेको उनका दाजु मोति खनालले बताए ।

भगवतीलाई सुत्केरी हुनका लागि डाक्टरले माघ २५ गतेको मिति दिएका थिए । गर्भवतीको मृत्यु भएपछि चिकित्सकहरूले फरकफरक कारण बताएपछि आफन्तहरू आन्दोलित भएका हुन् । घटनालगत्तै चिकित्सकले हृदयघातका कारण मृत्यु भएको बताएका थिए । पछि भने बच्चा रहने पानीको फोका फुटेर फोक्सोमा जाँदा मृत्यु भएको चिकित्सकको दावी छ ।
भगवतीका श्रीमान् पशुपति अधिकारीले चिकित्सकले गलत औषधि चढाएकै कारण श्रीमतीको मृत्यु भएको बताए ।

अञ्चल अस्पतालले आइतबार राति मात्रै उनलाई दिइएको औषधिको बिल देखाएका थिए । सो बिल साटिएको आफन्तले बताएका छन् । मृतक भगवतीका ७ वर्षिया एक छोरा छन् । सिलाई व्यवसाय गर्दै आएकी उनका श्रीमान् बजार व्यवस्थापनको काम गर्छन् ।

लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. कृष्ण खनालले घटनाको छानबिन गरिने बताए । घटनाको समिति बनाएर छानबिन हुने र अस्पतालको लापर्बाही भए क्षतिपूर्ति दिने उनले बताए । पोष्टमार्टम बिना के औषधि प्रयोग भएको भन्ने जानकारी नहुने उनले बताए ।
लुम्बिनी अञ्चल अस्पतालमा दैनिक २५ महिलाले प्रसुती सेवा लिँदै आएका छन् । अघिल्लो साता मात्रै अस्पतालकै लापर्बाहीले एक तीन दिने शिशुको मृत्यु भएको भन्दै आन्दोलन भएको थियो ।