लुम्बिनी घुम्ने पर्यटक बढे - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

लुम्बिनी घुम्ने पर्यटक बढे



बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा सामान्य वृद्धि भएको छ । स्थल मार्ग र हवाई मार्ग हँुदै सन् २०१७ मा जम्मा १ लाख ४५ हजार ७ सय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा ९ हजार पर्यटक बढे पनि यो सन्तोषजनक नभएको पर्यटन व्यवसायीहरू बताउँछन् । यस वर्ष लुम्बिनीमा हुने महत्वपूर्ण पूजा मोन्लम नभएकाले पर्यटकको आवागमनका केही कमी आएको हो । मोन्लम पूजामा करिब २० हजार तेस्रो मुलुकका पर्यटकहरू आउने गरेका थिए । यस वर्ष सो पूजा भारतको बोधगयामा भएको छ ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार भारतीय पर्यटकको संख्या भने बढेको छ । ‘सन् २०१६ को तुलनामा सबै पर्यटकको संख्या बढेको छ । नेपाली, भारतीय र पासपोर्ट बोकेका पर्यटक झण्डै १६ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।’

सन् २०१७ मा १ लाख ५५ हजार ४ सय ४४ भारतीयले लुम्बिनीमा भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषले तेस्रो मुलुकका पर्यटकको संख्या टिकटको आधारमा र अन्यको भ्रमण पुस्तिकाका आधारमा निकाल्ने गरेको छ । २०१६ मा १ लाख ३४ हजार २ सय भारतीय लुम्बिनी आएका थिए ।

लुम्बिनी भ्रमणका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या भने निकै बढेको छ । एकै वर्षमा सवा दुई लाख आन्तरिक पर्यटकको वृद्धि भएको हो । सन् २०१६ मा १० लाख १५ हजार १ सय ५० नेपाली लुम्बिनी पुगेका थिए भने सन् २०१७ मा १२ लाख ५१ हजार ३ सय ४६ आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरे ।

पर्यटकहरूका लागि स्तरीय होटल, खर्च गर्नका लागि स्थान अभावका कारण लुम्बिनी आउने पर्यटकहरू निकै छोटो अवधी मात्रै बस्ने गरेका छन् । लुम्बिनी तथा बुटवल, भैरहवा क्षेत्रका पर्यटन व्यवसायीहरू तेस्रो मुलुकभन्दा भारतीय पर्यटकलाई स्वागत गर्न बढी आतुर देखिन्छन् । पाँचतारे टाइगर प्यालेस रिसोर्टका सञ्चालक नवराज बजगाईले लुम्बिनी आसपासमा भारतीय पर्यटक मात्रै ल्याउँदा नेपालले धेरै फाइदा लिन सक्ने बताउँछन् । ‘नेपालमा खर्च गर्ने पर्यटककोे खाँचो छ । लुम्बिनीमा रोटी राखेको टिफिन बोकेर आउने पर्यटकले आर्थिक उर्पाजन हँुदैन’, उनले भने ।

झण्डै चार दशकअघि केञ्जो टाँगेले बनाएको लुम्बिनी गुरुयोजना छिटो कार्यान्वयन गरी जापानी प्रोफेसर डा. क्वाकले बनाएको गुरुयोजना कार्यान्वयनमा सरकार लाग्नुपर्ने पर्यटन व्यवसायीको भनाई छ । लुम्बिनी गुरुयोजना पूरा भए कम्तिमा एक दिन लुम्बिनीमा पर्यटक बस्न सक्ने अपेक्षा छ ।

लुम्बिनीसँगै तिलौराकोट, देवदह र रामग्रामको विकास आवश्यक रहे पनि त्यसो हुन सकेको छैन । संस्कृतिविद् डा. गितु गिरीले बौद्ध संस्कृतिको अवलोकन गर्न आउने पर्यटकलाई पनि यहीँ रात बिताउने गरी टुर प्याकेज बनाउनु पर्ने बताउँछन् ।

अहिले तेस्रो मुलुकबाट आउने पर्यटकहरू अधिकांश भारतीय गाइडमार्फत करिब एक घण्टाका लागि मात्रै लुम्बिनी आउने गरेका छन् । लुम्बिनीलाई पोखरा र सौराहासँग हवाई मार्गबाट जोड्न सके पनि पर्यटकको संख्या बढ्न सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

ठूला लगानीका होटलहरू लुम्बिनी क्षेत्रमा सञ्चालनमा आएकाले केही पर्यटकलाई तान्न सक्ने अपेक्षा गरिएको छ । ‘हामीले मात्रै वार्षिक कम्तिमा एक लाख पर्यटकलाई सेवा दिने अपेक्षा राखेका छौं । यहाँ खर्च गर्न आउने पर्यटकका कारण अरू संख्या पनि बढ्न सक्छ’, टाइगर प्यालेसका सञ्चालक बजगाईले भने ।

लुम्बिनी क्षेत्रलाई पर्यटन उद्योगका रूपमा विकास गर्ने खाका सरकारले बनाए पर्यटकको संख्या दोब्बरको दरले वृद्धि हुने पर्यटन व्यवसायीको दावी छ । त्यसका लागि यस क्षेत्रमा अर्गानिक कृषि उत्पादन, विमानस्थल, स्तरीय बसपार्क, सडक सहजता आवश्यक रहेको उनीहरूको भनाई छ । पर्यटन गुरुयोजना बनाएर दीर्घकालीन सोचबाट काम गर्नुपर्ने बजगाईले बताए ।