लखनउ सुपरजायन्ट्ससँग टिकेन पञ्जाब किंग्स- सिजनकै विशाल स्कोर - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

लखनउ सुपरजायन्ट्ससँग टिकेन पञ्जाब किंग्स- सिजनकै विशाल स्कोर



इन्डियन प्रिमियर लिग–१६ मा लखनउ सुपरजायन्ट्सले पञ्जाब किंग्सलाई ५६ रनको अन्तरले पराजित गरेको छ । यो सिजनमा टोलीको पाँचौँ जित हो। टोली अंक तालिकाको दोस्रो स्थानमा छ ।

मोहालीको पीसीए आइएस बिन्द्रा रंगशालामा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २५७ रन बनायो । जवाफमा पञ्जाबका ब्याट्सम्यान १९.५ ओभरमा २०१ रनमा अलआउट भयो।

पञ्जाबका कप्तान शिखर धवन (एक रन) सुरुमै आउट भए । तेस्रो नम्बरमा खेल्न आएका अथर्व तायडे (६६ रन)ले पहिलो अर्धशतक बनाए । तायडेका अलावा सिकन्दर राजाले ३६, जितेश शर्माले २४ र लियाम लिभिङस्टोनले २३ रनको योगदान दिए । यश ठाकुरले चार विकेट लिए । नविन उल हकले तीन र रवि बिश्नोईले दुई विकेट लिए ।

यसअघि लखनउले लिगको इतिहासमा दोस्रो उच्च स्कोर बनाएको थियो । लिगमा उच्चतम स्कोर २६३ हो, जुन २०१३ मा बेंगलुरुमा पुणे वारियर्सविरुद्ध आरसीबीले बनाएको थियो। यो चालू सिजनको सबैभन्दा ठूलो स्कोर हो । यो खेलमा ६७ चौका लाग्यो ।

कप्तान केएल राहुल १२ रनमा आउट भएपछि काइल मेयर्सले ५४ रन र आयुष बडोनीले ४३ रन बनाए। यो साझेदारी टुटेपछि मार्कस स्टोइनिस र आयुष बडोनीले ४७ बलमा ८९ रनको साझेदारी गरे । स्टोइनिस (७२ रन)ले अर्धशतकीय पारी खेले । मिडल अर्डरमा निकोलस पूरन (४५ रन)ले तीव्र गतिमा रन बनाए ।

पञ्जाबका कागिसो रबाडाले दुई विकेट लिए । अर्शदीप, साम करन र लियाम लिभिङस्टोनले एक–एक विकेट लिए ।