अब लकडाउनको स्वरूप बदलिने: कस्तो हुन्छ स्वरूप ? - Himal Post Himal Post
  • ९ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 21 2025
Logo

अब लकडाउनको स्वरूप बदलिने: कस्तो हुन्छ स्वरूप ?



काठमाडौं- सोमबार राष्ट्रका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधन सम्पूर्ण रूपमा कोरोना रोकथाम र नियन्त्रणमा सरकारी प्रयासबारे केन्द्रित छ । सम्बोधनमा प्रधानमन्त्रीले कोरोना समस्या लामो समयसम्म रहने भएकाले अब लकडाउनको स्वरूप बदल्ने संकेत गरेका छन् ।

देशमा पहिलो कोरोना संक्रमित देखिएको चार महिना तथा लकडाउनको दुई महिनापछि प्रधानमन्त्री ओलीको कोरोनाकेन्द्रित सम्बोधन आएको हो ।

प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तनदेखि आगामी दिनमा गरिने कामका प्राथमिकताहरूको फेहरिस्त सार्वजनिक गरे । पछिल्लोपटक २० जेठसम्म बढाइएको लकडाउनलाई निरन्तरता दिए पनि स्वरूपमा सामान्य परिमार्जन हुने उनको संकेत छ ।

संक्रमण अझै केही अवधि जारी रहने भन्दै प्रधानमन्त्री ओलीले समुदायमा संक्रमण थप विस्तार हुन नदिन आवश्यक सावधानीका साथ सरकारले केही नयाँ कदम चाल्ने तयारी गरिरहेकोसमेत बताए ।

प्रधानमन्त्री ओलीले कुनै पनि विषयले कोरोनाविरुद्धको जारी ‘युद्ध’लाई कमजोर पार्न हुन्न भन्नेमा आफू स्पष्ट रहेको बताएका छन् । मानिसका लागि जीवन पहिलो कुरा भएको भन्दै रोग वा भोक केहीबाट पनि देशवासीको जीवन जोखिममा पर्न नदिन सरकार हदैसम्म प्रयत्नशील रहने प्रधानमन्त्रीले बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालीमा रहेको रोग प्रतिरोधात्मक क्षमता र अनुशासनले भाइरसविरुद्धको लडाइँ लम्बिने निश्चित भए पनि सहजै पराजित गर्ने विश्वास व्यक्त गरेका छन् ।

एउटा प्रयोगशालाबाट सुरु भएको परीक्षणको दायरालाई २० भन्दा बढी प्रयोगशालाबाट तीव्र बनाइएको भन्दै उनले यसबीचमै औषधि र स्वास्थ्य उपकरणको खरिदमा सिर्जना भएको अप्ठ्यारा हल भएको र विज्ञहरूको सल्लाहबमोजिम कम्तीमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजना रहेको सुनाए । केन्द्रले प्रदेश र स्थानीय तहसँगका सहकार्य र साझेदारीलाई थप प्रभावकारी बनाएर होटेल र सार्वजनिक स्थलहरूलाई क्वारेन्टाइन बनाउने र महामारी फैलिएको स्थललाई सिल गरी परीक्षण तथा नियन्त्रणको कामलाई युद्धस्तरमा बढाइने जनाएका छन् ।

एसइई परीक्षाको विकल्प खोजेर नियमित शैक्षिक सत्र प्रभावित हुन नदिनेदेखि आर्थिक क्रियाकलापलाई चलायमान बनाउने, उद्योगधन्दाहरू सञ्चालन गर्ने, कृषि उत्पादनसँग जोडिएका काम नरोक्नेलगायतका विषयमा सरकारले चाल्ने विभिन्न कदमबारे प्रधानमन्त्रीले आश्वस्त पार्ने प्रयास गरेका छन् । ‘एसइईका परीक्षार्थी विद्यार्थीको सिंगो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउनेछ,’ प्रधानमन्त्रीले भने ।

त्यस्तै, उनले महामारीको जोखिम न्यून गर्दै आवश्यक आर्थिक क्रियाकलापलाई सुचारु गरिने, खेतीपातीको याम खेर जान नदिन, सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषिकार्य अघि बढाइने पनि बताए । अर्थतन्त्रलाई चलायमान राख्ने र राष्ट्रिय गौरवका आयोजनालगायत कतिपय विकास आयोजनालाई अगाडि बढाउने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुपर्ने असहज अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश सरकारले जारी गर्ने बताएका छन् । ‘अहिले मुलुकबाहिर रहेका नेपालीको घर फर्किने क्रम बढेको छ । मैले नेपाली ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्रप्रमुखसँग गम्भीर संवाद गरेको छु,’ प्रधानमन्त्रीले भने, ‘यसका अतिरिक्त ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजना’सहितको आदेश तत्काल जारी गरिनेछ ।’

भारतबाट स्वदेश फर्कन चाहनेका लागि विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुरूप परीक्षण गर्न नसकिएको स्विकार्दै उनले त्यसरी भित्रिएकाहरूलाई छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टाइनमा रहेर अन्य नियमहरूको पालना गर्न ध्यानाकर्षण पनि गराए ।