जमिन खेती गर्नेसँग : गिरी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जमिन खेती गर्नेसँग : गिरी



भैरहवा । प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले खेती गर्नेसँग कम र नगर्नेसँग बढी जग्गा हुँदा पर्याप्त उत्पादन हुन नसकेको भन्दै यो समस्यालाई नीति निर्माणगरी समाधान गर्नुपर्ने बताएका छन् । ‘खेती गर्नेसँग जग्गा छैन । जसले खेती नै गर्दैन उसैले जमिन ओगटेर बसेको छ ।’ उनले भने –‘खेती गर्नेसँग जमिन भयो भने सदुपयोग हुन्छ । उत्पादन पनि बढ्छ ।’

साना किसान सहकारी संस्था लि. गोनहा, रूपन्देही अन्तर्गत साना किसान सहकारी संस्था लि. सेमरा, रूपन्देहीको समुद्घाटन गर्दै मन्त्री गिरीले कृषि सेवा केन्द्रबाट पनि किसानले सोचे जस्तो सेवा पाउन नसकेको बताए । उनले उर्वरभूमि मर्चवारका जनता मिहिनेती भएको कुरा आफूले पहिलेदेखि नै बुझेको बताए ।

उनले मर्चवारको विकासको लागि प्रदेशसभाको माध्यमबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबैले बचतको बानीको विकास गरे देशको आर्थिक अवस्था मजबुत हुने धारणा राखे ।
त्यस्तै साना किसान सहकारी संस्था लि. गोनहा, रूपन्देहीका अध्यक्ष एवं पूर्व कृषिराज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीले सेमरालाई स्थापना कालदेखि नै सहकारीले वित्तीय तथा गैरवित्तीय सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । त्यस्तै रूपन्देही क्षेत्र नं. ३(२) का प्रदेशसभा सदस्य तुल्सी प्रसाद चौधरीले खर्च गरेपछि बच्ने पैसालाई घरमा राख्नुको सट्टा सहकारीमा बचत गर्न स्थानीयवासीलाई आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पम्फावती खनालले साना किसान सहकारी संस्थाले गरिबी निवारणको लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताइन् । मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँले साना किसान सहकारी संस्था घरदैलोमा आइसकेकोले अब भारतीय बैंकमा पैसा बचत नगरी घरदैलोमा रहेको साना सहकारी संस्थामा बचत गर्न आग्रह गरे ।

समाजसेवी साधुसरण सहानी, कृष्ण कुँवरलगायतले सहकारी संस्थाले महिलाको जीवनस्तर उकास्ने काम गरेको बताए । लक्ष्मीदेवी मौर्यको स्वागत मन्तव्य तथा अभय कुमार तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।