अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री गिरीले भने- मैले राजीनामा दिन्न - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री गिरीले भने- मैले राजीनामा दिन्न



आफ्नो समर्थनमा रहेका २५ सांसदहरुले आफ्नो साथ छोडेपछि अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजीनामा नदिने निर्णय लिएका छन्।

कानुनी बाटोबाट अघि बढ्ने उनको निष्कर्ष छ। अल्पमतमा परेको भनेर राजीनामा नदिने निर्णयमा पुगेका उनले संसद् समक्ष फेस गर्ने निर्णय लिएको मुख्यमन्त्री गिरीका प्रेस संयोजक टिका बस्नेतले बताए।

बस्नेतका अनुसार मुख्यमन्त्री गिरीले अबको एक महिना भित्रमा संसद्मा विश्वासको मत माग्ने छन्। ‘संविधानको धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले संसद्मा विश्वासको मत माग्नु पर्छ र उहाँले अबको एक महिना भित्रमा विश्वासको मत माग्नु हुन्छ,’ बस्नेतले भने ‘यदि विश्वासको मत नपाए अर्को धारा प्रयोग गरेर उहाँ अघि बढ्नु हुन्छ।’

मुख्यमन्त्री गिरीले विश्वासको मत नपाए संविधानको धारा १६८ (३) लागु हुन्छ। मुख्यमन्त्री गिरी यही धारालाई उपयोग गर्दै थप अर्को एक महिना सम्मका लागि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निचोडमा पुगेको उनका प्रेस संयोजक बस्नेतले जानकारी दिए।

संविधानको धारा १६८ (३) ले संसदको ठुलो दलले सरकार गठन गर्न पाउने व्यवस्था गरेको छ। संविधानको धारा १६८ (३) अनुसार गिरीले आफ्नै नेतृत्वमा सरकार गठन गरे त्यसको एक महिना भित्र पुनः विश्वासको मत लिनु पर्ने हुन्छ।

यो बेला पनि विश्वासको मत नपाए संविधानको धारा १६८९५० लागु हुने र यो धाराले मुख्यमन्त्री पदमा कायमै रहन गिरीलाई गाह्रो पर्ने देखिन्छ। यो धाराले बहुमत जुटाउन सक्ने सांसदले सरकार गठन गर्न सक्ने व्यवस्था छ।

यता मुख्यमन्त्री नियुक्तिका लागि चाँडै मार्ग प्रशस्त चाहेको गठबन्धनले नैतिकताका आधारमा पनि मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने बताउँछ।