नेपालका हरेक व्यक्तिको सुरक्षाको जिम्मेवारी म लिन्छु- लामिछाने - Himal Post Himal Post
  • १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
Logo

नेपालका हरेक व्यक्तिको सुरक्षाको जिम्मेवारी म लिन्छु- लामिछाने



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सार्वजनिक यातायात सुधारको काम आज देखि नै थाल्ने बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेखेले लामिछानेले सार्वजनिक यातायात सुधारका विषय पहिलेदेखि नै उठेपनि काम नभएको तर अब कुनै हालतमा काम हुने बताएका छन ।

उनले लेखेका छन्, “सार्वजनिक यातायात सुरक्षा बारे छलफल गरिरहेकै थियौं। तर अब आज बाटै प्रभावकारी काम शुरु हुनेछ, घटना सेलाए पनि काम सेलाउन दिन्नौ।”

यस्तै, उनले सरकारले विमान दुर्घटनाको शोक मनाउन बिदा दिएको निर्णयमा आएका प्रतिक्रिया र सुझावलाई आगामी दिनमा मनन गरिने पनि उल्लेख गरेका छन् । “उपप्रधान तथा गृहमन्त्रीका हैसियतले शोक बिदाको निर्णय प्रति आएका धारणाहरु प्रति सम्मान प्रकट गर्दै आगामी दिनमा यस्ता सुझावहरुलाई मनन गरिने जानकारी गराउँदछु।” गृहमन्त्री लामिछानेले लेखेका छन् ।

घटनाको विस्तृत अनुसन्धान गर्न पाँच सदस्यीय आयोग गठन गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नेपालभित्र उडान भर्ने सबै विमानको अवस्था जाँच गर्न निर्देशन दिइएको उनले बताएका छन् ।

“हाम्रो हवाई र सडक यातायातको सुरक्षा रेकर्ड अस्वीकार्य छ। राजनैतिक संरक्षणमा जनतालाई असुरक्षित र महँगो सेवाहरू प्रदान गर्दै, विदेशमा नेपालको प्रतिष्ठा र त्यससँगै नेपालको उड्डयन र पर्यटन उद्योगलाई ध्वस्त पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालका मतदातालाई नेपालमा भ्रष्टाचारको अन्त्य गर्ने वाचा गरेको छ र हामी महत्वपूर्ण परिवर्तन हुनेछ भनी सुनिश्चित गर्न लड्नेछौं। गृहमन्त्रीको हैसियतमा नेपालका हरेक व्यक्तिको सुरक्षाको जिम्मेवारी म लिन्छु। विगतका निर्णयहरू र विगतका आयोगहरूका प्रतिवेदनहरूको समीक्षाको साथसाथै कारणहरूको विस्तृत अनुसन्धान हुनेछ भनी म सुनिश्चित गर्नेछु । पोखरामा भएको दुर्घटना नेपालको इतिहासमा अन्तिम दुर्घटना होस् भन्ने सुनिश्चित गर्न म सक्दो प्रयास गर्नेछु।” लामिछानेले लेखेका छन् ।

उनले खोजी तथा उद्धार कार्यमा अथक परिश्रम गर्ने विशेषगरी नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् । गृहमन्ती लामिछानेले दुर्घटनाले निकै पीडा दिएको भन्दै गुमेका आफन्तहरु सँधै सम्झनामा मात्रै रहने बताएका छन् ।