गृहमन्त्री लामिछानेको नागरिकता विवादको अन्तिम सुनुवाइ हुँदै, के आउला फैसला ? - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

गृहमन्त्री लामिछानेको नागरिकता विवादको अन्तिम सुनुवाइ हुँदै, के आउला फैसला ?



उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।

संवैधानिक इजलासले पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा पुस २२ गते दुवै पक्षको छलफल गरेको थियो। उक्त इजलासले माघ ११ गतेका लागि पूर्ण सुनुवाइको पेशी तोकिएको थियो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन्।

रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको थियो। दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्।

अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा रबि लामिछानेले पार्टी दर्ता गरी पदाधिकारी रही उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको थियो। रिटमा रबि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको थियो।