कुखुरा पालन व्यवसायमा रमाउँदै प्रेम - Himal Post Himal Post
  • १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
Logo

कुखुरा पालन व्यवसायमा रमाउँदै प्रेम



कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका इमिलियामा विगत चार वर्षदेखि प्रेम रानाले उन्नत जातको कुखुरा पालन गरेका छन् । ९ वर्ष वैदेशिक रोजगारीमा साउदी बसेका राना नेपालमै केही गर्ने योजनाका साथ नेपाल आएर पशुपालनतर्फ लागे । उनको जिल्लाको इमिलियामा करिब ३२ कट्ठामा कुखुराको खोर र माछापोखरी रहेको छ । वैदशिक यात्राको मोह त्यागेर नेपालमा पशुपालन क्षेत्र अंगालेका राना अहिले परिवारसँगै बसेर गरेको यो व्यवसायबाट खुसी छन् ।

उन्नत जातको लेस कुखुरा अण्डाको लागि पाल्ने गरिन्छ । जो रानाले पालेका छन् । सुरुवातमा एउटा खोर बनाई १२ सय कुखुरा राखेका रानाले फाइदा भएपछि अहिले अर्को खोर बनाई २४ सय कुखुरा पालेका छन् । १४ लाखको लगानीबाट सुरु गरेको व्यावसाय बाट अहिले मासिक १ लाख ८० हजार आम्दानी गरिरहेको रानाको भनाइ छ ।

रानाको यहि कमाईबाट छोरालाई काठमाडांै पढाएका छन् । बिहान ४ बजे उठेर कुखुरको स्याहारसुसारमा लाग्ने गरेको बताउँछन् । श्रीमती र आफ्नो प्रयासले यो व्यवसायबाट सफल हुन सकेको उनको भनाइ रहेको छ ।

२४ सय कुखुराबाट दैनिक १९ सय अण्डा उत्पादन हुने गर्दछन् । अण्डालाई बजारमा लान सुरुमा धेरै मुस्किल परेको रानाले दुखेसो पोखे । व्यवसाय सुरु गर्दा कपिलवस्तुका प्रत्येक बजारमा कुखुराको अण्डा बेच्नको लागि जाने गरेको गरेको बताए । रानाले भने “अण्डालाई बजारीकरण गर्न निकै कठिनाई रहेको थियो तर अहिले कतिपय व्यापारीहरु घरमै अण्डा लिन आउने गर्दछन् कतिपयलाई म आफै पुर्याउने गर्दछु ।”

रानाको कुखुरा फर्मसँगै अहिले माछापालन समेत सुरु भएको छ । पशुपालनबाट मनग्य आम्दानी भएपछि उनले माछापालन तर्फ लागेका हुन् । बुद्धभूमि नगरपालिकाभित्रकै सबैभन्दा ठूलो कुखुरा फर्म भनेर रानाकै फर्मलाई चिनिन्छ । रानाले कुखुरापालन सम्बन्धि विभिन्न तालिम समेत पाइसके । तालिममा सिकेका कुराबाट धेरै फाइदा पुगेको उनको भनाइ छ । तर सरकारले पशुपालन तर्फ धेरै अनुदानको व्यवस्था गरेपनि त्यो अनुदान व्यवसाय संचालकसँग पुग्न नसकेको बताउँछन् ।

संस्था तथा फर्म दर्ता गराएकै भरमा सरकारले अनुदान दिने गरेको उनले बताए । पशु तथा कृषि क्षेत्रमा काम गरेका र असल कृषकहरुलाई अनुदान दिन सकेमा उनीहरुको मनोबल बढेर व्यवसायमा अग्रसर हुने रानाको भनाइ रहेको छ । विदेशको कमाई छोडेर नेपालमै केही गर्छु भन्नेलाई सरकारले विशेष व्यवस्था गर्नुपर्ने रानाको माग रहेको छ । बढ्दो वैदेशिक रोजगारीमा गएको युवाहरु रानाले जस्तो व्यवसाय संचालन गर्नसके नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ ।