देशभरका हजारौँ शिक्षकहरू काठमाडौंको सडकमा - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

देशभरका हजारौँ शिक्षकहरू काठमाडौंको सडकमा



काठमाडौं । नेपाल शिक्षक महासंघ संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोध गर्दै आज पनि सडकमा उत्रिएको छ ।

बुधबारदेखि बृहत आन्दोलन सुरु गरेका शिक्षकहरुले बिहीबार देशभरिका सामुदायिक विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले माइतीघर–वानेश्वर सडक ढपक्कै ढाकेर आज दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षक पनि विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन् ।

काठमाडौं महानगरले आन्दोलनमा जाने शिक्षक र विद्यालय बन्द भए प्रअलाई कारबाही गर्ने चेतावनी दिएता पनि उनीहरू आन्दोलनमा सहभागी भएका छन् । शिक्षकहरुको आन्दोलनका कारण उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ ।

मुख्य गरी माइतीघरदेखि बानेश्वर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त भएको हो । आन्दोलनका कारण सो क्षेत्रमा यातायात ठप्प बनेको छ भने बैंकल्पीक सडकहरुमा समेत सवारी साधनको लामो जाम भएको छ ।

यसअघि शिक्षक महासंघको नेतृत्वले आन्दोलनको रुट व्यवस्थापन लागि गृहमन्त्रीसंग आग्रह गरेको थियो । तर व्यस्त सडक खण्ड माइतीघरदेखि बानेश्वर क्षेत्रमा नै आन्दोलन भएपछि सवारी आवागमन अस्तव्यस्त हुन पुगेको हो । उनीहरुले सरकारसँगको वार्तामा विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम जारी राखिने बताएका छन् ।

देशभरबाट शिक्षक–शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।