काठमाडौंका अधिकांश सवारी प्रदूषण परीक्षण ‘फेल’- भटाभट कारबाही गर्दै विभाग - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

काठमाडौंका अधिकांश सवारी प्रदूषण परीक्षण ‘फेल’- भटाभट कारबाही गर्दै विभाग



काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा ‘फेल’ भएका छन् । शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले सवारीको प्रदूषण परीक्षण गर्दा आज परीक्षण गरेका अधिकांश सवारीसाधन प्रदूषण परीक्षणमा ‘फेल’ भएको पाइएको हो ।

आज विभागले गरेको ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ वटा सवारीसाधन फेल भएको पाइएको छ । १६ वटा सवारीसाधन मात्रै पास भएका विभागले जनाएको छ । न्यूज एजेन्सी नेपालसँग वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्रदूषण परीक्षणमा फेल हुनेहरूलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताए । उनले प्रदूषण फेल हुनेहरूले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्र फिर्ता लैजान पाउने बताए ।

उनले परीक्षण पास गर्न पठाएका सवारीहरू अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्मको जरिबाना गर्ने चेतावनी दिए । महानिर्देशक घिमिरेले आगामी दिनमा सवारीसाधन प्रदूषण फेल भएर चलाएको पाइएमा विभाग कारबाही गर्ने कुरामा पछि नहट्ने बताए ।

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि जाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६/६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ । यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य शर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । जसको अर्थ अबदेखि प्रत्येक ठूला तथा भाडाका सवारीले ६/६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ ।

साना तथा मझौला साधनले एक वर्षमा एकपटक त्यस्तो जाँच गराउनुपर्छ । जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्वन हुने, सवारीमा रहेका यात्रुलाई अन्तिम बिन्दुसम्म पुर्याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण जाँचका लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ ।