काठमाडौं महानगरले अघि बढायो कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने प्रक्रिया - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

काठमाडौं महानगरले अघि बढायो कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने प्रक्रिया



काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ। संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिए।

उनका अनुसार महानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको हो। कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाके शिक्षा शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

आवेदन आगामी साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिने जनाइएको छ। आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिकासमेत महानगरले सूचनामार्फत सार्वजनिक गरेको छ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुने जनाइएको छ। विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले पछि सार्वजनिक गर्ने जनाएको छ।

शिक्षा ऐन, २०२८ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कूल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघट्नेगरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ। रासस