कृषिलाई प्राथमिकतामा राख्न नगरपालिकालाई सुझाव - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

कृषिलाई प्राथमिकतामा राख्न नगरपालिकालाई सुझाव



विशाल पाण्डेय / सुखड,कैलाली ।

घोडाघोडी नगरपालिकाको विकासका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न नगरपालिकालाई सरोकारवालाहरुले सुझाव दिएका छन् । आर्थिक बर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम तथा बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धि छलफल कार्यक्रममा कृषि क्षेत्रको प्रचुर सम्भावना रहेको भन्दै सरोकारवालाले आगामी बर्षको कार्यक्रमका लागी प्राथमिकता दिन जोड दिएका हुन् ।

आगामी बजेटमा कोरोनाको कारण बाहिरबाट स्वदेश फर्केकाहरुलाई कृषि उद्यममा जोड्ने गरी कार्यक्रम ल्याउन तथा बाँझा जमीन उपयोग गर्ने कुरामा बजेट केन्द्रित गर्नको लागी सरोकारवालाहरुले बिहिवार सामाजिक दुरि कायम गरि आयोजना गरिएको कार्यक्रममा सुझाव दिएका छन् ।

छलफल कार्यक्रममा नेपाली काङ्ग्रेस महा समिती सदस्य रिता चौधरीले आगामी आर्थिक बर्षको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताएकी छन् । उनले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्नको लागि गरिएको लकडाउनले गर्दा लाखौं मानिसहरू प्रभावित भएको हुँदा आगामी बजेटमा कोरोना नियन्त्रणका साथै कृषिलाई ध्यान दिनुपर्ने बताइन् । उनले भनीन, ‘लामो समयको लकडाउनले गर्दा भोकमरी आइ आत्महत्याको सम्भावना बढ्ने भएको हुँदा आगामी बजेट कृषि क्षेत्र तर्फ केन्द्रित गर्नुपर्छ ।’

वैदेशिक रोजगारीको लागि भारत तथा अन्य मुलुकबाट आएका मानिसहरूको सीप पहिचान गरि रोजगार तर्फ जोडनु पर्ने सुझाव दिदै चौधरीले क्वारेन्टाइनमा बसेका मानिसहरुलाई घरबाट खाना लैजाने गर्दा घर परिवार तथा समुदायमा संक्रमणको संख्या बढी हुने हुँदा ध्यान राख्नुपर्ने बताइन् । उनले नगरबासिको जिउ धनको रक्षाका लागि विकास निर्माण भन्दा पहिला कोरोना नियन्त्रण तथा न्यूनीकरणको लागि प्राथमिकता दिनुपर्ने बताइन ।

कार्यक्रममा जनजागरण मंचका पुर्व अध्यक्ष दिपेन्द्र शाहिले स्थानीय स्रोत र साधनको प्रयोग गरि रोजगार सिर्जना गर्नुपर्ने जोड दिए । उनले सरकारले कृषि क्षेत्रमा न्यून व्याजदरमा रकम उपलब्ध गराउनु पर्ने बताए । नेकपा घोडाघोडी नगर कमिटीका सचीव खगेन्द्र हमालले कृषिमा प्राथमिकता राखिनुपर्ने बताउदै कृषि अनुदानको नाममा ठूलो भ्रष्टाचार हुने गरेको आरोप लगाएका छन् ।

स्थानीय खेमराज जोशिले कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले केही सामानहरु भित्र्याउन नसकिने अवस्था रहेको हुँदा आत्मनिर्भरमा जोड दिनुपर्ने बताए । उनले आत्मनिर्भरका लागि उत्पादन योग्य खाली रहेका उर्वर जमिन हरुलाइ परिचालन गरेर बाहिर बाट आएका युवाहरुलाइ रोजगार दिनुपर्ने बताए । जोशिले व्यक्ती पोस्ने नीति ल्याउन भन्दा किसानले नगर सरकार रहेको अनुभुती रहने खालको बजेट ल्याइ कृषि लाई प्राथमिकतामा राखी प्रत्येक वडामा कृषि प्राविधिक व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

नेपाली काङ्ग्रेसका महा समिती सदस्य भिम बडुवालले विकास निर्माणका काममा नगरपालिकाले प्रतिपक्षलाई नसमेटेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले नगरपालिकामा ७० प्रतिशत मानिसहरु कृषि पेशामा लागेको हुँदा उत्पादन तथा उत्पादन गरेका सामाग्री हरुलाइ व्यवस्थापनका लागि नगरले किसानको हितको लागी केही काम नगरेको बताए । उनले नगरमा ‘एक घर, एक करेसाबारी’ बनाउन आवश्यक रहेको सुझाव दिदै सामुदायिक विद्यालयहरु मर्च गरेपनी शिक्षा क्षेत्रमा सुधार नभएको बताए । उनले प्राविधिक शिक्षामा जोड दिन आवस्यक रहेको सुझाव दिए ।

पर्यटन व्यवसायी डबल शाहले आगामी बर्षको कार्यक्रमको लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम हरु छुट्याउनु पर्ने बताए । उनले पर्यटन विकास तथा चुरे क्षेत्रलाई जोगाउनको लागि चुरे राष्ट्रिय निकुञ्ज बनाउन पहल गर्नुपर्ने बताए । घोडाघोडी क्याम्पसका पुर्व क्याम्पस प्रमुख लक्ष्मी भट्टराईले नगरमा बजेट कार्यान्वयन मुखी हुने किसिमले बजेट बिनियोजन गर्नुपर्ने बताउदै नगरमा भएका स्रोत र साधनलाई प्रयोगमा ल्याइ आयस्रोतमा वृद्धि गराउनुपर्ने सुझाव दिए ।

नेकपा जिल्ला समिति सदस्य जयनारायण जोशीले सरकारले रोकेको वैज्ञानिक वनलाई स्थानीय तहले अनुगमन गर्नुपर्ने बताउदै कैलालीको उत्तरपट्टीको जंगललाइ आरक्ष बनाइ आर्मिको जिम्मा लगाउन माग गर्नुपर्ने बताए । उनले आफ्नो ठाउँमा सबैले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउदै घोडाघोडीका विभिन्न वडामा सहकारीले विद्युत बाल्ने नाममा बर्सौ देखि रकम लिएपनी हालसम्म बत्ती नबालेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि देव मल्लले कृषि सहकारीहरु मार्फत बीउ, विजन, मल उपलब्ध गराउन नगरपालिकाले योजना बनाउनु पर्ने बताए ।

कार्यक्रमको प्रमुख अथितीको आसनबाट बोल्दै प्रदेश सभा सदस्य अमर साउदले कोरोनाको महामारीका बेलामा घोडाघोडी नगरबासिको पहिलो प्राथमिकता स्वास्थ रहेको बताए । उनले दोस्रो प्राथमिकताको हिसाबले वर्गीकरण गर्दा उत्पादनलाई जोड दिनुपर्ने बताए । सांसद साउदले भारत तथा अन्य मुलुकमा रोजगारीको लागि गएका मानिसहरू फर्कने क्रम जारी रहेकोले उनीहरुको व्यवस्थापनका लागि रोजगार सिर्जना गर्ने तीन वटै सरकारको लक्ष्य रहेको बताए । सामुदायिक अस्पताल बनाउनको लागि प्राविधिक कारणले समस्या भएपनी आगामी आर्थिक बर्षमा सबैसंग छलफल गरि उचित स्थान छनोट गरि अस्पताल निर्माण कार्यलाई प्राथमिकता दिइने सांसद साउदले प्रतिबद्धता जनाए ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले कोरोना सबैको साझा विषय रहेकोले सरकारको मात्र दायित्व भनेर नबुझी सबैमिलेर यसको नियन्त्रण तथा रोकथामका लागि लाग्नुपर्ने बताउदै सहयोगका लागि सबैलाई आग्रह समेत गरेका छन् । घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा , जिल्ला समन्वय समितिका सदस्य मालती विक , विभिन्न राजनीतिक दलका प्रतिनिधि , विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले गरेका थिए ।