खेम भण्डारीविरुद्ध अर्को मुद्दा: के होला कारबाही - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

खेम भण्डारीविरुद्ध अर्को मुद्दा: के होला कारबाही



काठमाडौं : निर्मला प्रकरणलाई ‘यु टर्न’ गराउने ‘शक्तिशाली व्यक्ति भनिएका’ पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा परेको छ ।

भीमदत्त नगरपालिकाका मेयरका भतिज आयुष विष्टले उनीविरुद्ध मुद्दा दर्ता गराएका हुन्। उनले बुधवार दिउँसो कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

खेम भण्डारी सम्पादक रहेको मानसखण्ड दैनिक पत्रिका तथा सामाजिक सञ्जालमा आफूलाई बदनाम गराउने गरी समाचार लेखिएको भन्दै विष्टले गाली बेइजतीमा मुद्दा दर्ता गराएका हुन्।

‘गाली बेइजती भएको भन्दै आउनु भएको थियो। हामीले दर्ता गरिसकेका छौं,’ अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले भने।

यसअघि पनि जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै दायर मुद्दामा पत्रकार भण्डारीलाई गत साउनमा एक घण्टा जेल र एक रुपैयाँ जरिवाना हुने आदेश सुनाएको थियो। आदेश अनुसार भण्डारीले यसै महिना एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायँ भुक्तान गरिसकेका छन्।

भण्डारीविरुद्ध निर्मला प्रकरणमा जोडिएका बम दिदी बहिनी मध्ये दिदी अनिता र तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरणले पनि छुट्टाछुट्टै गाली बेइज्जती मुद्दा दायर गरेका छन्।