पक्राउ गर्न घरमा गएको प्रहरीमाथि खाँणले हातपात गरेपछि... - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

पक्राउ गर्न घरमा गएको प्रहरीमाथि खाँणले हातपात गरेपछि…



नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले निवासमा पुगेको प्रहरीमाथि हातपात गरेको खुलेको छ । बुधबार बिहानै घरमा पुगेका सदा पोशाकका प्रहरीमाथि उनले हातपात गर्न खोजेको प्रहरी स्रोतले बतायो ।

बिहानै प्रहरी घरमा पुगेको थाहा पाएपछि खाँणले ढोका थुनेर फोनमा कुरा गरिरहेका थिए । प्रहरीले लामो समय आग्रह गर्दा पनि उनी ननिस्केपछि ढोका फोड्ने तयारीमा प्रहरी लागेको थियो । ढोका फोड्ने तयारी थाहा पाएपछि खाँण बाहिर निस्केर प्रहरीलाई धकेलेका थिए ।

स्रोतका अनुसार पूर्वगृहमन्त्री खाँण मंगलबार दिउँसादेखि सम्पर्कमा थिएनन । उनले मोबाइल बन्द गरेर बसेका कारण निगरानी बढाईएको थियो । उनलाई सम्पर्क गर्न खोज्दा फोन अफ गरेर बसेको भेटिएपछि प्रहरीले सुटुक्क अदालतबाट पक्राउ पूर्जी बनाएर निगरानी गरिरहेको थियो ।

बुधबार बिहान आफूलाई पक्राउ गर्न प्रहरी निवास आएपछि खाँण चुकुल लगाएर बसेका थिए । उनले विभिन्न व्यक्तिलाई फोन गरेर प्रहरीलाई फिर्ता बोलाउन दवाव दिइरहेको बाहिरै सुनिएको स्रोतले बताएको छ ।

प्रहरीमाथि हातपातमा उत्रेका खाँण उपाय नलागेपछि प्रहरीको गाडीमा बसेका थिए । पक्राउ गरिएका खाँणलाई अहिले काठमाडौं प्रहरी परिसर लागिएको छ । अब अदालतबाट म्याद थप गर्ने तयारीमा प्रहरी लागेको छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीमा संलग्न रहेकाे भन्दै अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाँणसहितका व्यक्तिहरूलाई पक्राउ गरिएकाे हाे । ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दाहाललगायतले खाँणसहित उनकी श्रीमती मञ्जु  र कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणाको नाममा करोडौँ रकम दिएको बयान दिएका छन् ।

याे प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत पक्राउ परिसकेका छन् । नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझी प्रहरीकाे फरार सूचीमा छन् ।