‘विकास र समृद्धि आयो भने शासन गर्न पाईँदैन भनेर कम्युनिष्टहरु आत्तिएका छन्’ : खाँड
नेपाली काँग्रेस निर्वाचन परिचालन समिती संयोजक बालकृष्ण खाँड संग हिमाल पोष्टले तयार पारेको कुराकानी
निर्वाचनको मिति पनि नजिकिरहेको छ । पहिलो चरणको निर्वाचन त अबको एक हप्ताभित्रै हुँदैछ । नेपाली कांग्रेसले निर्वाचनको तयारी कुन रुपमा अगाडी बढाएको छ । कस्तो छ चुनावी रणनीति ?
हो, पहिलो चरणको निर्वाचन अब औँलामा गन्ने दिन मात्रै बाँकी छ । त्यस कारण सबै राजनीतिक दलहरुको ध्यान निर्वाचनमै केन्द्रित हुने भयो । खास गरेर नेपाली कांग्रेस लोकतान्त्रिक मुल्य मान्यतामा विश्वास गर्छ र लोकतन्त्रको सबैभन्दा मूलभुत आधारशीला निर्वाचन हो । जनताको जनादेशबाट, जनताको मतबाट जनप्रतिनिधिको चयन गर्ने र जनादेशबाटै राज्यको सञ्चालन गर्ने अबधारणा नै निर्वाचन भएका कारणले निर्वाचनको सिद्धान्ततः हामी अत्यन्तै संवेदनशील छौँ । अहिले निर्वाचनमा मुलूक जुन ढंगले अगाडी बढेको छ । यहि सन्दर्भमा जुन खालका राजनीति संगठनहरु भएका छन । त्यस कारण पनि नेपाली कांग्रेस झनै गम्भीर भएको छ । खास गरेर संविधान जारी भइसकेकपछि यो संविधानको मुलभूत धारणाहरु, मुलभूत सिद्धान्तहरुलाई आधार बनाएरै यसलाई सबै नेपाली जनताको स्वामित्वमा अगाडी बढाउने हो । त्यस कारण महिला, पिछडिएका क्षेत्र वा वर्ग लगायतका समूहका मुद्दाहरुलाई सम्बोधन गर्नु र संविधानका केही दफा र धाराहरुलाई परिस्किृत पारेर सबैको स्वामित्वमा स्थापित गर्नु स्वाभाविक प्रक्रिया हो । तर संविधानलाई आमूल परिवर्तन गरेर व्यवस्था नै बदल्छौँ भन्ने खालको धारणा एमाले र माओवादीबाट सार्वजनिक भएको छ ।
त्यस कारण निर्दलीय पञ्चायतको शासन हामीले अन्त्य गर्यौँ । राजाले संविधानलाई टेकेर हिंड्न थालेपछि राजतन्त्र पनि हामीले हटाउन पर्यो । संविधान निर्माणका हाम्रा साथीहरुले बहुदलीय व्यवस्था स्वीकार्नु भएको थिएन । यही मुद्दाका आधारमा संविधान नबन्ने देखिएपछि उहाँहरुले यसलाई स्वीकार गर्नुभएको हो । विभिन्न विचारधारामा आधारित राजनीतिक दलहरुको अस्तित्वलाई अहिले पनि स्वीकार गर्न सक्नु भएको छैन । एउटै खालको कम्युनिस्ट शासन शैलीको राजनीतिक प्रणाली वा त्यही आधारमा उभिएको राजनीतिक पार्टीलाई साथमा लिएर हिँड्ने दृष्टिकोण नयाँ होइन । आजभन्दा अगाडीका कम्युनिस्टका घोषणापत्र तपाईले हेर्नुभयो भने त्यो करा छलङ्गै छ । मदन भण्डारीको जबज देखि बहुदललाई आत्मसाथ गरेको एमाले अहिले संविधान जारी भएपछि पछाडी जान थालेको छ । त्यस कारण नेपाली कांग्रेसले अहिलेको यो निर्वाचनलाई सामान्य जनप्रतिनिधिको चयन मात्रै होइन एकदलीय शासनको सुरु गर्ने कि लोकतन्त्रमै रहने भन्ने खालको जनमत संग्रहको रुपमा पनि हेरेको छ ।
नेपाली कांग्रेस मेलमिलाप र सहकार्य अहिले राष्ट्रको आवश्यकता हो भन्छ तर कम्युनिस्ट व्यवस्थाका हिमायतीहरु नयाँ द्वन्द्व निम्त्याउन चाहँदैछन् । नेकपा माओवादी पनि कम्युनिस्ट शासनको पक्षमा रहेको छ । सुरुमा एमाले , माओवादीले कम्युनिस्ट शासनको कुरा गरेका थिए । तर नेपाली कांग्रेस र जनताले बुझ्न थालेपछि अहिले उहाँहरुमा सन्नाटा छाएको छ ।
त्यसैले जनताको एक भोटले कुन शक्तिलाई बलियो बनाउने भन्ने कुरामा महत्व राख्दछ । यदि एमाले र माओवादीको गठबन्धनलाई हामीले मत दियौँ भने नेपालमा संसारभरि ओइलाई सकेको कम्युनिस्ट व्यवस्था आमन्त्रण गछौँ । उहाँहरुले पनि संसारभरि ओइलाईसकेको यो व्यवस्थालाई नेपालमा नर्सरीको जस्तै गरी बचाईराख्छौँ भन्नुभएको छ । संसार विकासको बाटोमा अगाडी बढिरहँदा हामी देशलाई राजनीतिक प्रयोगशाला कहिलेसम्म बनाउने ? त्यस कारण मतदाताहरुलाई हाम्रो आग्रह छ कि नेपाललाई एउटा प्रयोगशालाको रुपमा राखिरहँने कि लोकतान्त्रिक मुल्यमा आधारित भएर विकासको बाटोमा अग्रसर गराउने भन्ने जिम्मेवारी तपाईहरुको हातमा आएको छ । लोकतान्त्रिक शक्तिलाई बल पुर्याउनु भनेको नेपालको स्वामित्व नेपालका जनताले लिने हो । कुनै दल विशेष मुलूकको मालिक हुन सक्दैन । नेता विशेष पनि मुलूकको मालिक हुन सक्दैन । लोकतान्त्रिक शासन व्यवस्थामा जनता नै मुलूकको मालिक हो । त्यसैले जनताका सामू हाम्रो अपिल पनि त्यही किसिमको छ ।
यो बेलामा बाम गठबन्धन भन्दा पनि लोकतान्त्रिक शक्ति कै आवश्यकता छ है भन्नका लागि जनतालाई कसरी बुझाउनुहुन्छ ?
कम्युनिस्टहरुले जुनसुकै शासन व्यवस्थालाई पनि प्रयोग गरे । हिजो जनमत संग्रहको बेलामा निर्दलीय पञ्चायती व्यवस्था र बहुदलको बीचमा प्रतिस्पर्धा हुँदाखेरि लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस बहुदलको पक्षमा सकृय भयो ।
म ओलीजीलाई प्रश्न गर्न चाहन्छु । तत्कालीन माले जुन झापा बिद्रोहबाट अगाडी बढेको हो । त्यसले निर्दलीय पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था एउटै हो भनेर किन भन्यो ? यो कसरी एउटै हुनसक्छ ? तर उहाँहरुले पञ्चायती व्यवस्था र बहुदलबीच फरक देख्नु भएन । संविधान जारी भइसकेपछि नेपाल दुईवटा ध्रुवमा केन्द्रत भयो । एउटा कम्युनिस्टको विचारबाहक राजनीतिक शक्ति र अर्को लोकतन्त्रवादीहरुको शक्ति । अहिले उहाँहरु आफ्नो असली रुपमा आउनु भयो ।
मुलूकमा विकास र समृद्धिको एजेण्डा अगाडी बढिरहँदा नेपाली कांग्रेसले त्यसको नेतृत्व कसरी गर्छ ?
सबैभन्दा पहिला त २५ वर्षअघि मुलूक कस्तो थियो र अहिले कस्तो छ भनेर हेर्नुपर्छ । त्यतिबेला नेपालमा जम्मा २ वटा विश्वविद्यालय मात्र थिए । त्रिभुवन विश्व विद्यालय विपीको पालामा शुवर्ण शमशेर पहिलो उपकुलपति भएर स्थापना भएको हो । त्यस पछि संस्कृत विश्वविद्यालय आयो । अहिले त्यो संख्या अहिले ९, १० मा पुगेको छ । त्यस्तै पर्यटन व्यावसायमा हेर्नुभयो भने पञ्चायतमा राष्ट्रिय ध्वजाबाहक विमान एउटा मात्र थियो । अहिले नेपाली आकाशमा सयौँ जहाजहरु उडिरहेका छन् ।
त्यस्तै चिकित्सा क्षेत्रमा पनि ठूलो विकास भएको छ । त्यस्तै आर्थिक क्षेत्रमा, यातायात क्षेत्रमा, सञ्चारको क्षेत्रमा, भौतिक पूर्वाधारको क्षेत्रमा धेरै विकास भएको छ । तर हाम्रो आवश्यकतालाई पूर्ती गर्ने खालको विकासलाई अझैँपनि हामीले परिणाममुखी बनाउन सकेका छैनौँ । त्यसको मूल कारण थियो, हिजोको नेकपा माओवादीको १० वर्षे द्वन्द्व । त्यसबेला जनताको लगानीको सुरक्षा थिएन । विकास निर्माणले तिव्रता पाएको थिएन । विदेशी लगानीकर्ता पनि आएका थिएनन् । यो भएपछि विकास निर्माणका कुराहरु १० वर्ष पछाडी धकेलिए ।
त्यसकारण अहिले शान्ति र राजनीतिक स्थिरता हामीले दिन सक्यौँ भने नेपाली लगानीकर्ताहरुले पनि मुलूकको निर्माणका लागि आफूसंग भएको पूँजी निकाल्नुहुनेछ । सानो गाउँमा बसेका सर्वसाधरणले पनि लगानीका लागि पूँजी निकाल्नुहुनेछ । विदेशी लगानीकर्ताको पनि आगमन हुनेछ । अन्तराष्ट्रिय सहयोग र अनुदान पनि ल्याउन सकिनेछ । तर एमाले माओवादीले भने अनुसारको व्यवस्था आयो भने मुलूक फेरि पछाडी धकेलिनेछ । जुन पार्टीका नेताहरुलाई मानव अधिकारका दर्जनौँ मुद्दा लागेका छन, जसले छिमेकी मुलूकबाहेक टाढाको देशमा भ्रमण गर्न सक्दैन । यदि त्यहाँ गयो भने एयरपोर्टमा ओर्लिन नपाउँदै त्यहाँका अन्तराष्ट्रिय मानव अधिकारका संस्थाहरुले गिरफ्तारीको आदेश जारी गर्न सक्दछ । त्यस्ता नेताहरुले नेतृत्व गरेमा देशको शान्ति र समृद्धि कहाँ पुग्ला ? त्यस कारण गम्भीर भएर सबै मतदाताहरुले निर्णय गर्ने बेला आएको छ ।
तर पनि वाम गठबन्धनले त तपाईँहरुलाई आफू हार्ने देखेर निर्वाचन सार्न खोजेको जस्ता धेरै आरोप लगाउँदै आएको छ नि ? खास कुरा के हो ?
कांग्रेसको सभापति नै मुलूकको प्रधानमन्त्री हुन्छ । निर्वाचनको म्याद तोक्ने काम त सरकारको हो नि । तर सरकारले भनिसक्यो । जतिसुकै विघ्न बाधा आएपनि हामी घोषित मिति मै निर्वाचन गर्छौँ भनेर, हामीले भनिसक्यौँ नि । बरु उहाँहरु नै चाहिरहनु भएको छ चुनाव सार्न । आफ्नो विरुद्धमा बिग्रिएको जनमतलाई सुर्धान पाइयोस् भनेर उहाँहरु दोष लगाउँदै हुनुहुन्छ । हिजो बाँदरमुडेमा जनता हिंडिराखेको बसमाथि बम पड्काउने प्रचण्ड नै होइन ? अहिले उहाँ त्यहि ठाउँमा चुनाव लड्न जानु भएको छ । हिजो त उहाँ किर्तीपुर लड्नु भएको थियो । सिरहा लड्नु भएको सबैको साथ सहयोगले जित्नु भएको थियो । दोस्रो पटक किर्तिपुर मै किन जित्नु भएन ?
आन्दोलनका घाइतेहरुले प्रश्न गर्ने अधिकार छैन ? नेपालमा यत्रो हिंसा आयात गरेर के प्राप्त भयो त ? बन्दुकको नालबाट सत्ता परिवर्तन गर्छु भन्नेहरु अहिले किन निर्वाचनमा हात जोड्दै आउनु भएको छ ? आउनै थियो भने पहिले नै हात जोडेको भए भइहाल्थ्यो नि ? कि आफै परिवर्तन हुनु पर्यो नत्र भने जनताले परिवर्तन गरिदिन्छन् । ४ जना वामपन्थीका नेता प्रधानमन्त्री हुँदा संविधान नै आउन सकेन । संविधान ल्याउनका लागि अर्को संविधान सभाको निर्वाचन गर्नु पर्यो । संसार मै नगरिएको प्रयोग नेपालमा गरियो । नेपाली कांग्रेस पहिलो पार्टी भएपछि संविधान जारी भएको छ । यसलाई सबैको बनाउन जरुरी छ । त्यो हामीले महशुस गरेका छौँ । यसलाई उल्ट्याउने बिषय नेपाली जनतालाई स्वीकार्य छैन ।
अन्त्यमा, आउँदै गरेको निर्वाचनका लागि तथा देशको समृद्धि र राजनीतिक स्थायित्वका लागि जनतालाई के भन्नुहुन्छ ?
पहिलो कुरा परिवर्तनको वाहक शक्ति नेपाली कांग्रेस नै हो । लोकतान्त्रिक शक्तिले नै समृद्धि र विकास ल्याउन सक्छ । खास गरेर नेपालका कम्युनिस्ट नेताहरुले गरिबीको नाममा राजनीति गर्नुहुन्छ । राज्यविहीन समाजको स्थापना गर्न चाहानुहुन्छ उहाँहरुको घोषित नीतिमा त्यो छ । कम्युनिस्टहरु विकासको पक्षमा हुनुहुन्न । उहाँहरु नेपाल झनझन दलदलमा जाओस् र द्वन्द्वमा फसोस भन्ने चाहनुहुन्छ । नेपाल गरिब, अशिक्षित भयो भने हामीले सत्तामा जान पाइन्छ भन्ने उहाँहरुको सोचाई छ । त्यस कारण नेपालका कम्युनिस्ट पार्टीहरुले नेपालको समृद्धि र विकास गर्नै चाहदैनन र गर्नै दिँदैनन् ।
१० वर्षको माओवादी द्वन्द्वले पनि त्यो कुरा देखाएको छ । र हिजो ४८ सालमा निर्वाचन भएर आइसेकेको सरकारले नेपालको प्राकृतिक सम्पदा नेपालको हितमा अधिकतम प्रयोग गर्न खोजेका थिए । अरुण तेस्रोदेखि लिएर ठूला आयोजना अगाडी बढाइरहँदा तत्कालीन परराष्ट्र मन्त्री माधव नेपालले नै यो नेपाललाई आवश्यक छैन भनेर लेख्नु भयो । जसका कारण नेपाल अँध्यारोमा बस्यो । जल शत्तिmलाई अधिकतम प्रयोग गर्न नसकेपछि, बिजुली उत्पादन गर्न नसकेपछि ठूला साना उद्योग निर्माण गर्न गाह्रो भयो । उहाँहरुले जानि जानि नेपाललाई पिछडिएको मुलूकमा धकेल्नु चाहानु भयो भन्ने हाम्रो उहाँहरुसंग जिज्ञासा छ । त्यो जिज्ञासाको जवाफ उहाँले दिन सक्नुहुन्न ।