कथा : आरोप - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

कथा : आरोप



~केशु खण्डलुक मगर~

‘पूर्वी पाल्पामा निस्दी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।’

करिब आजभन्दा १५/१६ वर्ष अगाडि कुनै पत्रिकाको एउटा कुनामा यदि यो समाचार पढ्नुभएको थियो भने, ठीकै छ। त्यो समाचार मेरै बाको मृत्युको थियो। यदि पढ्नुभएको थिएन भने पनि ठीकै छ। तर नपढ्नुका कारण दुई मात्र छन्। पहिलो मेरो बाको समाचार बन्न सक्ने हैसियत थिएन। दोस्रो त्यतिबेला तपाईँहरूको समाचार पढ्न सक्ने हैसियत थिएन। तसर्थ तपाईँले त्यो समाचार पढ्नुभएन।

बा जाल बुन्नुहुन्थ्यो। बेच्‍नुहुन्थ्यो। खेल्नुहुन्थ्यो। हाम्रो परिवारको भोकको जालो च्यात्‍नुहुन्थ्यो। माछा बेच्‍नुहुन्थ्यो। परिवारको लागि खुसीका ससाना भुराहरू किन्नुहुन्थ्यो। कहिलेकाहीँ भारी बोक्नुहुन्थ्यो। भारीसँगै दुःखहरू एक ठाउँबाट अर्को ठाउँ पुऱ्याउनुहुन्थ्यो। फर्किँदा हामीलाई खुसीहरू ल्याउनुहुन्थ्यो। यो भन्दा अरू कुनै श्रोत थिएन जहाँबाट बाले हाम्रो लागि केही खरिद गर्न सकोस्। जे होस् बा हाम्रो परिवारको मेरुदण्ड हुनुहुन्थ्यो। सबैसबै थोक हुनुहुन्थ्यो।

असारको महिना पुछारमा पुगेको थियो। दुई दिन देखि परेको पानीले विश्राम लिन खोज्दै थियो। आकाश खुलेको थियो। चारैतिर हरियाली देखिन्थ्यो। गाउँमा प्राय असार र साउनको बीचमा रोपाइँको चटारो बढी हुन्थ्यो। गाउँलेहरू रोपाइँका लागि कोही बेँसी झरिसकेका थिए भने कोही  तारी खेततिर। हाम्रो भने खेत थिएन। एउटा पाखो बारी थियो। १५/१६ ढाकर मकै फल्ने बारी हाम्रो सर्वश्व थियो। हामीलाई चटारो थिएन जति छिमेकीहरूलाई थियो।

बहिनी कोक्रोमा थिई। सुतेकी थिइन। म बहिनीलाई सुताउने प्रयास गर्दैथेँ।

‘हो….यो जुनीमा बिर्सानै साक्डिन बैनी टिमी बोली हासेको।’ यो त्यसबेला लक्ष्मी न्यौपानेले आफ्नो भाइलाई सम्झेर गाएको चर्चित गीतको मोडिफाइड भर्सन थियो। तर बहिनी त्यति राम्रोसँग बोल्न सक्ने भैसकेकी थिइनन्।

आमालाई ‘मम्…..मा’ भन्थी। बालाई ‘पप्…..बा’। मलाई दाइ भन्न सक्ने भैसकेकी थिइनन्। मसँग भने हाँस्थी। हाँस्दा बहिनीको गालामा एकथोप्लो डिम्पल बस्थ्यो। त्यही डिम्पलमा मेरो खुसी थपक्क गएर बस्थे।

घरको छानो खरको थियो। छानोबाट पानी चुहिन्थ्यो। चुहिएको पानी थाल, बटुकोमा थप्थ्यौँ। आमा त्यही जम्मा भएको पानी फाल्दै हुनुहुन्थ्यो। घरबाट हेर्दा निस्दी खोला देखिन्थ्यो। निस्फ्रिक्री बगिरहेको थियो खोला। रातो न रातो भएर। सागर भेट्न हतारिएजस्तै हतारिएर। कतै चकचके बालक जस्तै उफ्रिएर। कतै वृद्धवृद्दा जस्तै शान्त भएर।

बाले भर्खरै मात्र नयाँ जाल बुनिसक्नुभएको थियो। घरभित्रबाट भने पुरानै जाल लिएर निस्किनुभयो।

‘बुड्या, आज ट खोला बडेको रैछ। माछा पाइन्छ होला। यसो पुगेर आउँछु है।’ बाले निदालमा झुन्डिरहेको फुलुम निकाल्दै भन्नुभएको थियो।

‘होइन किना जानु पऱ्यो खोला बडेको बेलामा। पर्डैन जान सान।’ आमा कराउनुभएको थियो।

‘होइन हौ। एकपटक पुगेर आम्छु नि। शहर माछा पो आको छ कि ?’ आज बाको मुहारमा छुट्टै उत्साह दौडिरहेको थियो।

‘खुब आउँछ नि टपाईलाई भनेर शहर माछा। ढेरै डिनपछि आकाश खुल्या छ। स्याउला काट्न जानुपर्छ।’ आमा जसरी पनि बालाई रोक्ने प्रयासमा हुनुहुन्थ्यो। बा आमाको कुनै आदेश मान्ने मानसिकतामा थिएनन्।

‘हेर ट। ट्यो राटे ढुङ्गालाई समेट नाघेछ खोलाले। ट्यो ढुङ्गालाई नाघेसी शहर आउँछ क्या।’ बा आमालाई अझै बुझाउने कोसिसमा हुनुहुन्थ्यो।

खोला साविकको भन्दा बढेको थियो। बालाई बाढी आएको बेला खोला पठाउने मन आमाको थिएन। किनकि त्यो प्रेम थियो। आमाले बालाई गर्ने प्रेम। तर आमाको कुरा सुन्नुभएन बाले। सायद त्यतिबेला बाको मनमा धेरै शहर माछा बोकेर आउने सपना दौडिरहेका थिए होलान्। सपनाको अगाडि कसको के नै चल्छ र ? बा माछा खोज्न  खोला हिँड्नुभयो।

००००

साँझपख घाम देखिएको थियो। के लेकडाँडाँबाट खस्न खोजेको घामले केही भन्न खोजेको थियो ? दिउँसो खोलातिर हिड्नुभएको बा घाम बिलाईसक्दा समेत फर्किनुभएको थिएन। तर हामी त्यस दिन धेरै खुसी थियौँ। अक्सर बाले घर फर्किन ढिलो गर्नुभएको दिन माछा धेरै ल्याउनुहुन्थ्यो। जुन हामीलाई खान पुग्थ्यो र बेच्‍न पनि। हामीले सोचेका थियौँ – ‘साँच्चिकै आज बाले शहर माछा भेटाउनुभएको छ ।’

सबै गाउँलेहरू कामबाट फर्किसकेका थिए तर बा फर्किनु भएन। हामी बा आउने बाटो हेर्दै बसेका थियौँ। बा अझै आउनुभएन बरु अन्धकार बोकेर कालो रात आयो। रातभरि पर्खियौँ। कसैगरी बा आउनुभएन। हामीले आँखामा बालाई खोजेर बस्यौँ। त्यस रात निदाएनौँ। भोलिपल्ट बिहानै गाउँका अरू काकाहरू बालाई खोज्न भनेर हिँडे। हामी गह्रौँ मन लिएर बस्यौँ।

सिमसिम पानी परेको थियो। बालाई खोज्न हिँडेकाहरू आएनन्। बरु दु:खद खबर आयो। बा अब यस संसारमा रहेनन्। यो खबरमा यत्ति वजन थियो कि आमा थिचिनुभयो। ढल्नुभयो। बेहोस् हुनुभयो।

म खोला झरेँ। सुनेँ – बालाई खोलाले बगाएको रहेछ। तल्लो बाँधको किनारमा बा भेटिनुभएको थियो। खोलाको माछा जालमा पारेर चार जनाको परिवार पालिरहेका बाको कुनै गल्ती थिएन। नियतिले भने आज सजायस्वरूप आफ्नो जालमा पारेको थियो बालाई।

बालाई चितामा राखिएको थियो। मैले अन्तिम पटक बालाई हेरेँ। बाको शरीरमा च्यात्तिएको भित्री कट्टु बाहेक अरू वस्त्र थिएन। बा बिल्कुल नाङ्गो हुनुहुन्थ्यो। शरीरभरि घाउ नै घाउ थियो। त्यसो त बासँग बाँचुन्जेल नदेखिने घाउ कति थिए कत्ति। त्यसको कुनै हिसाब थिएन। बाले कहिल्यै देखाउनु पनि भएन। शरीर सबै नीलो भैइसकेको थियो। ज्यान टनक्क तान्किएको। केही समयपछि मैले दागबत्ती दिएँ। आफ्नै आँखा अघि खरानी भएर एउटा जिन्दगी सकियो। अर्थात् हेर्दाहेर्दै बा सकिनुभयो।

अनि यो कथा ? यो कथा सकिएको छैन, बल्ल सुरु भएको छ।

००००

बा बितेपछि हाम्रो जिन्दगीमा धेरैथोक परिवर्तन भयो। पहिलेजस्तो राम्रो लाउन पाइएन। मीठो मसिनो देख्‍न पाईएन। खान पाइएन। आमामाथि परिवारको बोझ झन् धेरै थपियो। आमा ज्यालामजदुरी गर्न जानुहुन्थ्यो। म स्कुल जान्थेँ। बहिनी कि त दिनभरि घरै हुन्थिन् कि आमासँगै मेला जान्थिन्। शनिबार र विदाको दिन म पनि आमासँगै मेला जान्थेँ। मैले आमाले भन्दा आधा कम ज्याला पाउथेँ।

म धेरै बुझ्ने भैइसकेको थिएँ। म आमालाई कम सताउथेँ। बरु सक्दो सहयोग गर्थेँ। आमाको आशाको खम्बा थिएँ। म भरसक आमाको आँखामा आँसु आउने काम गर्दिनथेँ। पढाइमा राम्रोसँग मिहेनत गर्थेँ। बा बितेकै साल म कक्षा ५ देखि ६ मा जाँदा प्रथम भएँ। मैले पाएको पुरस्कार देखेर आमा रुनुभएको थियो। मैले सोचेँ – आमाको आँखामा आँसु आएको दिन पनि त्यो आँसु खुसीको होस्।

००००

हाम्रो बारीबाट आउने बाटोभन्दा थोरै माथि लाहुरे बाको घर पर्थ्यो। वास्तविक नाम धनवीर रानामगर भए पनि गाउँलेहरू लाहुरे बा भन्थे। उहाँले दोस्रो विश्वयुद्ध लड्नुभएको कुरा सुनाउनुहुन्थ्यो। कतै कतै हिन्दी र अङ्ग्रेजी शब्द मिसिएका हुन्थे। हामी कुनै दन्त्यकथा जस्तै मानेर उहाँका किस्साहरू सुन्थ्यौँ। उहाँको एकमात्र छोरा थियो। छोरा समेत लाहुरे भएसी उहाँको नाक मुहारमा हुन्थेन। खुट्टा भुइँमा हुन्थेन। केवल हुन्थ्यो त घमण्ड। त्यसो त गाउँमा अरू पनि लाहुरेहरू थिए। तर गाउँमा उहाँको एकल निर्णय चल्थ्यो। तीतो होस् या गुलियो, उहाँको निर्णय गाउँलेहरूले निल्नैपर्थ्यो। शिर हल्लाउनै पर्थ्यो।

वैशाखको बेला। स्कुल सुरु भैइसकेपनि पढाइ थिएन। यही मौकामा आमासँग म समेत बारी गएको थिएँ। हामी मकै छरेर आएका थियौँ। आमाले घाँस बोक्नुभएको थियो। मैले बहिनीलाई बोकेको थिएँ। लाहुरे बाको घरमा ठूलो भीड थियो मान्छेहरूको। हुन त बेलाबेला यस्तो भीड लागिरहन्थ्यो नै तर केटाकेटीको भीड आज बढी नै थियो।

‘आमा। हेर्नुस् ट लाहुरे बाको घरमा मान्छेहरू जम्मा भाछ।’ मैले आमालाई सोधेँ।

‘केही होला नि ट।’ आमा बाटो लाग्नुभयो। म आमाको पछिपछि घरतिर लागेँ।

‘उ……..!’ कोही चिच्यायो पछाडिबाट। हेरेँ।

चुरे मेरो सबैभन्दा मिल्ने साथी थियो। भरसक खुसीको कुनै महोलमा ऊ मलाई छुटाउन चाहन्नथ्यो। उसैले हातले ‘छिटो आउ’ को इशारामा बोलाइरहेको थियो। म घर पुग्ने बित्तिकै बहिनीलाई आमासँग छोडेर दौडेँ। पुग्ने बित्तिकै उसले मलाई पाखुरामा तानेर लग्यो। भन्यो – ‘ कहाँ गाठिउ टिमि ? अरूले ट खायो सबैले।’

‘के खायो र ?’ मैले सोध्‍न नपाउँदै हामी त्यस घरको ढोकामा पुग्यौँ। घरमा भर्खरै सहरबाट आएको बास्ना फैलिरहेको थियो। सामानहरू पिढीँमै थिए। लाहुरे बा हुक्का तान्दै बसिरहेका थिए। उहाँको छोरा पल्टनबाट छुट्टीमा आएको कुरा मैले अनुमान लगाउन परेन। उहाँको छोरा पिढीँमै बसेका थिए। नातिचाहिँ हाम्रै केटाहरूलाई गफ लगाउँदै थियो। नातिनी मिठाई बाँड्दै थिई।

‘यसलाई पनि डिउ मिठाई।’ चुरेले लाहुरे बाको नातिनीलाई भन्यो। अर्थात् गङ्गालाई। हो, चुरेले गङ्गालाई मिठाई दिन सिफारिस गर्यो। गङ्गाले ल्याक्टो मिठाई मेरो हातमा थमाईदिई। एउटा होइन, दुइटा। मनमनै म खुसी भैइसकेको थिएँ। किनकि चुरेले मलाई सुटुक्क भनिसकेको थियो – ‘हामीलाई ट एवटा मात्रा डिएथ्यो।’

अरूलाई एकएकवटा दिँदा मलाई किन दुइटा दिइन् गङ्गाले ? चुरे र मेरो मनमा अनेक अनुमानहरू आउन थाल्यो। तर सही कुन् ? हामीले अनुमान पाउन सकेनौँ। बरु दुईवटा मिठाई एकएकवटा बाँडेर खायौँ र घरतिर लाग्यौँ।

०००००

लाहुरे बाकी एक्ली नातिनी थिई गङ्गा। तीन पुस्तामा जन्मेकी एक्ली छोरी। आँखा साना साना। मुख ठीक्कको। गोलाकार अनुहार। रङ सेकेन्डह्यान्ड कमेरो जत्ति कै गोरो। दाँत चाहिनेभन्दा बढी साना तर सुहाउने। हलक्क बढ्छे जस्तो लाग्ने जिउडाल। निकै राम्री थिई गङ्गा। सबकी प्यारी। परिवारमा मात्रै होइन, गाउँभरिमै। स्कुलभरिमै। शिशु कक्षामा सँगै पढेका थियौँ हामीले। तर गङ्गाको मात्रै तारिफ गरेर सागरको उपेक्षा गर्ने पक्षमा बिल्कुल म छैन। किनकि सागर यो कथाको खलनायक हो। मेरो जिन्दगीको खलनायक हो। सबैभन्दा पहिले सागर गङ्गाको दाइ हो। अर्थात् लाहुरेबाको एक्लो नाति। लाहुरेको एक्लो छोरो।

तिनीहरू सहर बस्थे। सहर भन्ने बित्तिकै हाम्रो काँचो दिमागमा ‘टाङ्सिङ’ भन्ने सहर आउथ्यो। हो तिनीहरू तानसेन बस्थे। त्यतै पढ्थे। बर्षमा एकदुई पटक मात्रै घर आउँथे। एक पटक वार्षिक परीक्षा सकिएपछि। अर्कोपटक दशैँ मनाउन। तर त्यो वर्ष तिनीहरू दशैँ मनाउन आएनन्। एकै चोटि आफ्नो बासँगै आएका थिए। साँच्चिकै गङ्गालाई अलि बढेकी जस्तो पाएकी थिएँ। त्यसो त म अनि चुरे पनि बढिसकेका थियौँ।

गाउँमा टिभी गङ्गाको घरमा मात्रै थियो। त्यै पनि गङ्गाहरू घर आउँदा मात्रै चलाउँथे। टिभी सादा भएपनि हाम्रो लागि कुनै हलभन्दा कम महत्वको थिएन। हामी हेर्नलाई मरिहत्ते गर्थ्यौँ। मकै गोड्ने, मल बोल्ने, दाउरा बोक्ने सबैसबै गर्थ्यौँ। भोलिपल्ट टिभी हेर्न पाउने भयौँ।यो खबर पनि सबैभन्दा पहिले चुरेले नै सुनायो मलाई।

००००

‘आज टिभी देखाउने रे। डाउरा लिन जाने गरे।’ चुरेले मलाई भन्यो। आफूले पनि नाम्लो र पछ्यौरी लिएर आएको थियो। म नाम्लो र पछ्यौरी लिएर निस्केँ। हामी लाहुरे बाको खोह्र्यानतिर झर्यौँ। अरू साथीहरू गैइसकेका थिए। हामी पुग्दा सबैले आफूले सक्ने भारी बनाईसकेका थिए। चुरे र मैले पनि भारी बनायौँ। हाम्रो भारी अरूको भन्दा ठूलो थियो।

‘किन त्यत्ति ठूलो भारी बनाएको ? सानो बनाउ न। ज्यानलाई गाह्रो हुन्छ ।’ पहिलोपटक गङ्गाले मलाई भनी। मलाई मात्रै होइन, चुरे र मलाई भनी।

‘सक्छ यत्ति ट।’ चुरेले भारी बोकेर हिँड्यो। म नाम्लो बनाउँदै थिएँ। गङ्गा मेरो भारी समाईरहेकी थिई।

‘गङ्गासँग ढेरै नबोल रे। नत्र सागरले पिट्छ रे।’ हिरे आएर खबर सुनायो। हेर्दा सागर र अरू केटाहरू घुरेर हेरिरहेका थिए। मैले वास्तै गरिनँ। आफ्नो भारी बोकेर हिँडे। गङ्गा आफ्नी आमासँग पछि आई।

साँझ फिल्म हेरियो। सायद फिल्मको नाम साथी थियो कि। ठ्याक्कै याद भएन। हिरो राजेश हमाल थिए र हिरोइन करिष्मा मानन्धर। फिल्ममा हिरोइन खोलामा डुबिन्। हिरोले हिरोइनलाई बगरमा ल्यायो। हिरोइनको मुखमा आफ्नो मुख जोडिदियो। यता हामी सबैको मुख खुल्ला भयो। अलिपछि थाहा पायौँ, हिरोले त हिरोइनले पिएको पानी निकालेको पो रहेछ।

‘मिलन! एउटा कुरा बुझिन।’ चुरेले टाउको कन्याएर भन्यो।

‘ के कुरा ?’ मैले उसको मुखमा कान लागेर भनेँ।

‘अस्टि गोपाल डाई र स्यानी डिडीले यसरी नै मुख जोडेको। उता कुलुबारीतिर। मैले नै देखेको।’ उसले लामै वाक्यमा जबाफ दियो। खुसुक्क।

‘कतिबेला ट ?’ मैले सोधेँ

‘साँझपख। धारामा पानी भार्न जाँदा देखेको।’ चुरे हाँस्यो। म हाँसे। हामी सबैजना हाँस्यौँ। कुरा बुझिन् या बुझिनन्। गङ्गासमेत हामीलाई हेरेर हाँसी। होइन, मलाई हेरेर हाँसी।

००००

आफ्नो मुन्द्री बेचेर आमाले बाख्रो किन्नुभएको थियो। बाख्रोबाहेक अरू पशुवस्तु हामीसँग थिएनन्। म विदाको दिन बाख्रो चराउन जान्थेँ। गर्मी सुरु भएपछि हामी खोलातिर जान्थ्यौँ। बाख्रो आफ्नै सुरमा चर्थ्यो। हामी दिनभरि पौडी खेल्थ्यौँ। साँझ राता आँखा लिएर फर्किन्थ्यौँ। हाम्रो गौडा निस्दीखोला थियो। साथीहरू सबै उतै भेटिन्थ्यौँ। म बाख्रो लिएर झर्थेँ। चुरे एकहल गोरु लिएर जान्थ्यो। अरू साथीहरू गाई लिएर जान्थे। दिनभरी उतै बस्थ्यौँ र साँझ फर्किन्थ्यौँ।

चुरे र म घाम ताप्दै थियौँ। हामीले देखेरै हाम फालेकी गङ्गा धेरै बेरपछि पनि निस्किइनन्। हातले पानीमा हानिरहिन्। बाँध गहिरो थियो। गङ्गा कराउन समेत सकेकी थिइनन्। यस्तो बेला के गर्ने ? कसैले सोच्‍न सकेका थिएनन्। मैले हाम फालेँ र उसलाई तानेर बगरमा ल्याएँ।उनी नीलो भैइसकेकी थिइन्। गाउँले केटाहरूसँग अरू उपाय के हुनु ? मैले उसको मुखमा आफ्नो मुख जोडेँ र पानी तान्न थालेँ। जे होस्, फिल्मको आइडियाले काम गऱ्यो। दोस्रोपटक ‘ख्वाँख्वाँ’ गर्दै खोकिन्। आँखा खोलिन्। म हत्तपत्त उठेँ। उनी हल्का लजाएजस्तै गरेर उठिन् र भनिन् – ‘थ्यान्क्स मिलन ! मलाई बचाइदिएकोमा।’

मलाई भने उसको परिवारले के भन्ला भन्ने डरले ढाक्दै गयो।

त्यस घटनापछि गङ्गा नजिक हुन थाली मसँग। मेरो घर आइरहन्थी। मेरो आमालाई भेट्थी। बहिनीलाई जिस्काउँथी। भुलाउँथी। मलाई मायालु पाराले हेर्थी। मुसुक्क मुस्कुराउँथी। म एक्लै भएको मौका छोपेर भन्थी,

‘कत्ति कक्षामा पुग्यौ नि ?’

‘५’ म छोटो जबाफ दिन्थेँ।

‘रोल नं १ हो रे नि तिम्रो है ।’ सायद खुसी उनी छिन् जस्तो लाग्थ्यो।

‘उम।’ म त छोटो जबाफ बाहेक के नै दिन सक्थेँ र ?

‘म त स्टान्डर्ड फोर हो बल्ल। बोर्डिङमा कक्षा घटाएर राख्छन् के।’ आफै प्रश्न सोध्थिन् कि ? जबाफ पनि आफैँ दिन्थी।

‘ल घर जान्छु है। दाइले गाली गर्नुहुन्छ ।’ यस्तै भन्थिन् र दौडिन्थिन्। म उनको दौडाई निकै बेर नियालीरहन्थेँ। उनी घर नपुग्दासम्म। खासमा मैले बिस्तारै आफ्नो हैसियत बिर्सँदै गएको थिएँ। बच्चापनमै सही, सायद म उसलाई मनमनै प्रेम गर्ने भैइसकेको थिएँ।

००००

हामी स्कुल जान्थ्यौँ। पढाइ धमाधम हुन थालेको थियो। गङ्गा र सागर पनि हामीसँगै स्कुल जान्थे। सागर हिराहरूसँग कक्षा ७ मा बस्थ्यो। गङ्गा फुलमायाहरूसँग कक्षा ६ मा बस्थी। अर्थात् हामीसँगै बस्थी। बेन्च एउटै लहरमा हुन्थ्यो। उनी मलाई हेरिरहन्थिन्। म पनि बेलाबेला हेरिरहन्थेँ। सरले मलाई प्रश्न सोध्दा म भन्दा बढी उनी डराउँथिन्। जब म प्रश्नको सही उत्तर दिन्थेँ, उनको मुहारमा बिजयी भाव झक्किन्थ्यो। धेरै खुसी हुन्थिन्।

‘हाम्रो नि क्लास सुरु भैइसक्यो शहरमा।’ स्कुलबाट फर्किँदा उनी भन्थिन्।

‘कहिले जाने हो र टिमिहरू टान्सेन ?’ म पनि सोधिदिन्थेँ।

‘फेरि भन त कहाँ जाने ?’ उनी उल्टै प्रश्न गर्थिन्।

‘टान्सेन।’ म भन्थेँ।

‘फेरि भन त ?’ उनी अझै बोल्थिन्।

‘टान्सेन।’ म भन्थेँ।

‘तानसेन भन न। टान्सेन होइन।’ उनी हाँस्थिन् मज्जाले। जिस्काउँथिन्। म लजाउथेँ।

गङ्गा मसँग हाँसेको, बोलेको सागर मन पराउँदैनथ्यो।  सागरसँग मेरो राम्रो मित्रता कहिल्यै बनेन। ऊ मभन्दा एकवर्षले जेठो थियो। म उसलाई दाइ मान्थेँ। खै किन, ऊ मलाई देखिसहँदैनथ्यो। गङ्गासँग हिँड्दा ऊमाथि पहाड खस्थ्यो। ऊ मलाई पिट्ने धम्की दिन्थ्यो। जे पनि गर्छु भन्थ्यो। मलाई भने विश्वास लाग्दैनथ्यो। आखिर ऊ म जत्रै न थियो।

‘मिलन! राम्रोसँग पढ है। पछि धेरै पढेर ठूलो भएपछि हामी बिहे गर्ने। अनि छोराछोरी जन्माउने।’ एकदिन अनौठो कुरा गरिन् गङ्गाले। एकदमै अनौठो कुरा।

‘आँच्या।’ म चित खाएँ उनको यस्तो कुराले। बाफ्रे! कस्तरी भनेकी ? मलाई उनीबाट टाढा जाऊ जस्तो लाग्यो। डर पनि लाग्यो। कताकता लाज पनि। तैपनि म मौन बसेँ।

‘मलाई तिमीसँग प्यार भएजस्तो छ। म तिमीलाई कहिल्यै बिर्सिन्नँ। तिमी पनि मलाई नबिर्स है ?’ साँच्चिकै उसले साँचो कुरा गरी ? थाहा भएन। मलाई बोल्न जबाफ आएन। म नबोली बसेँ। लाग्यो – के बचपनमा पनि प्रेम हुन्छ ? अझै साँचो प्रेम ?

मैले त्यसको जबाफ आजसम्म भेटेको छैन।

घर पुग्दा आमा रोईरहनुभएको थियो। धेरै दिनपछि आमा त्यसरी रुनुभएको थियो, जस्तो पहिलोपटक बुबा बितेको दिन रुनुभएको थियो। मलाई गङ्गाले भनेकी सबैकुरा आमाले थाहा पाउनुभयो जस्तो लाग्यो।

‘आमा।’ मैले हिम्मत जुटाएर बोलेँ।

‘मलाई नभान आमासामा। टेरो लागि म मोरेँ।’ आमा झन् कराउनुभयो। रुनुभयो।

‘के भयो र आमा ?’ मैले सोधिरहेँ।

‘मैले दुःख गरेरै आजसम्म टलाई ख्वाकै थेँ। फेरि किन चोरिस् अरूको पैइसा ? टलाई खान लाउन पुगेन ट्यटिले  ?’ आमा आँसुसँगै कराउनुभयो। मैले यो भन्दा बढी सुन्न सकिनँ। म बोलिनँ।

‘किन चोरिस् अरूको पैइसा ?’ म यो वाक्यले रन्थानिएँ। थाहा भएन, यो के हुँदैछ ?

एकै छिनमा घरमा सबै गाउँलेहरू जम्मा भए। लाहुरे बा र उसका सबै परिवारसमेत भेला भए। गङ्गाको आँखामा म प्रतिको घृणा थियो। सागरको आँखामा खुसी नाँचिरहेको थियो। तर कसम से ! मैले कसैको पैसा चोरेको थिइन। आजसम्म आमाले संस्कार जो सिकाउनुभएको थियो।

‘ल सेती, तेरो लड्काले पैसा चोरेछ। सानै छ। फेरि तिमुरको दर्द मैले नदेख्या पनि होइन। आफैँ भन, तेरो लड्कालाई कस्तो सजाय दिँदा ठीक हुन्छ।’ लाहुरे बा बोल्यो। मलाई भने मैले किन सजाय पाइराछु भन्नेसमेत थाहा थिएन।

‘म के भनूँ र लाहुरेबा, जान्नेबुझ्ने हजुर नै ट हुनुहुन्छ गाउँमा।’ आमा धेरै बोल्नुभएन। आज पहिलोपटक आमा मेरो विरुद्धमा उभिनुभयो। म एक्लो भएँ।

‘माँ, मैले पैइसा चोरेको छैन। टिम्रो कसम खान्छु के आमा।’ आमाको गुन्युँको फेरो समाएर म कराएँ।

‘बा, मिलनले पैसा चोरेकै हो। त्यो नि भारु १००० रुपैयाँ। नपत्याए किताबमा हेर्नू।’ सागर बोल्यो।

‘हँ, किताबमा ?’ म झस्किएँ। मलाई थाहा थियो, किताबमा पैसा थिएन। खासमा मैले चोरेकै थिएन। मैले अघि स्कुलबाट ल्याएको किताब निकालेर दिएँ।

‘लु हेर्नु्स्। मैले कसैको पैसा चोरेको छैन।’

लाहुरे बाले किताब फरर पल्टायो। सामाजिक किताबबाट भारु १००० को नोट भुइँमा खस्यो। ममाथि आकाश खस्यो। भुइँको नोटमा महात्मा गान्धी हाँसिरहेको थिए। यता म रुन मात्रै सकिनँ।

‘सेती तँ आफैँले देखिस्,तेरो छोराको बेहोरा। अहिले लड्का सानै छ। एक पटकलाई माफी गरिदिन्छु। अब यस्तो काम गर्यो भने गेटआउट गर्दिन्छु ।’ लाहुरे बाले अन्तिम फैसला सुनायो।

सबैले मुखामुख गरे। आमा अझै रुनुभएको थियो। फैसलापछि सबै जना आआफ्नो घरतिर लागे। लाहुरे बाको परिवार पनि। सागर जितको खुसी मनाउँदै गयो। मलाई थाहा थियो, त्यो सागरको काम थियो। तर उसले किन गर्यो यस्तो ? मलाई थाहा थिएन।

गङ्गा धेरैबेर बसिरही। उसको आँखामा आँसु टिलपिल भैइरहेको थियो। बल्ल मेरो आँखाबाट आँसु खस्यो। म रोएँ। बालाई सम्झिँदै रोएँ।

‘मिलन ! तिमीले यस्तो काम किन गरेको। खराब काम गर्नुहुन्न भन्ने पढ्दैनौ स्कुलमा ?’ गङ्गा धेरै बोलिनन्। भनिन्,

‘अब देखि तिमीलाई कहिल्यै भेट्दिन। आई हेट यु।’

उनले कत्ति सजिलै भनिन्। मलाई बुझ्न खोजिनन्। हुन त म उसलाई बुझाउन पनि सक्दिनथेँ।

००००

भोलिपल्ट गङ्गाहरू सहर गए। पढ्नलाई। मलाई भने त्यस घटनाले क्षतविक्षत बनाइदियो। मेरो मन टुक्रियो। फेरि जोडिन सकेन। सबैका लागि म चोर भएँ। गङ्गाका लागि। गाउँलेहरूका लागि। आफ्नै आमाका लागि। साथीहरूका लागि। स्कुलमा सर म्याडमहरूका लागि। मैले पढाईमा बिस्तारै ध्यान दिन छाडेँ। स्कुल जान छाडेँ। पढाइ बिग्रँदै गयो। म आफ्नै जिन्दगीदेखि हार्दै गएँ।

एकदिन चुरे आयो। उसको मुहारमा केही न केही रहस्य थियो। यतिन्जेलसम्म ऊ पनि टाढा भैइसकेको थियो। धेरै दिनपछि भेट भएको थियो।

‘मिलन !’ उसको स्वर भासिएको थियो।

‘मलाई माफ गर है। त्यो पैसा मैले नै टिम्रो झोलामा राखेको थिएँ। तर ट्यो मेरो रहर थिएन, बाध्यता थियो।’ ऊ यत्ति भन्दै रुन थाल्यो।

‘किन गरिस् ?’ भन्ने हिम्मत पनि भएन। किनकि ऊ मेरो साथी थियो। म उसको आँसु देख्‍न सक्दिनथेँ।

आखिर के थियो त्यस्तो बाध्यता ? मैले कहिल्यै बुझ्न चाहिनँ। आखिर धेरै ढिलो जो भैइसकेको थियो। यसरी म बिस्तारै आफैँदेखि हराउँदै गएँ।

एक रात मैले गाउँ छोडेँ।

००००