सुरक्षाकर्मी र वन तस्करबीच दोहोरो भिडन्त - Himal Post Himal Post
  • २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
Logo

सुरक्षाकर्मी र वन तस्करबीच दोहोरो भिडन्त



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर–२ पिपराको लालमटिया सामुदायिक वनमा सोमबार मध्यराति सुरक्षाकर्मी र वन तस्करबीच दोहोरो भिडन्त भएको छ ।

वनमा तस्करी भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी र तस्करहरुबीच दोहोरो फायरिङ भएको सेक्टर वन कार्यालय पिपराका प्रमुख सुवासचन्द्र दासले जानकारी दिएका छन् ।

लालमटिया वनका सदस्यहरुले तस्करीबारे सेक्टर वन पिपरालाई जानकारी गराएपछि वनरक्षक, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा वन उपाभोक्ताहरुको संयुक्त टोली वनमा पुगेको थियो । टोली पुग्नासाथ तस्करहरुको समूहले फायरिङ गरेको जनाइएको छ ।

सुरक्षाकर्मी र तस्करबीच १० पटकसम्म दोहोरो फायरिङ भएको थियो । त्यसपछि पक्राउ पर्ने डरले तस्करहरु मोटरसाइकल छाडेर भागेको दासले बताए ।

साथै, आफूहरुले ३० दशमलव १३ क्युफिट गोलिया काठ र ८ ओटा मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए । तस्करहरुको खोजी जारी रहेको र पक्राउ गरेर कारबाही अगाडि बढाउने दासले बताए ।