बजेट निकाशा नहुँदा प्रसूति सेवा संचालनमा समस्या - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बजेट निकाशा नहुँदा प्रसूति सेवा संचालनमा समस्या



कपिलवस्तु । बजेट निकासा नहुँदा मायादेवी गाउँपालिकामा रहेको हरनापुर प्राथमिक सेवा केन्द्रको चौबिस घन्टे प्रसूति सेवा संचालनमा कठिनाई भएको छ । मायादेवी गाउँपालिकाले हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि समयमै बजेट निकाशा नदिँदा बर्थिङ्ग सेन्टर सञ्चालनमा समस्या आएको केन्द्रका कर्मचारीहरू बताउँछन् । गत साउनयता केन्द्रमा बजेट निकासा भएको छैन ।

गाउँपालिकाले रकम नपठाउँदा स्वास्थ्य केन्द्रमा प्रसूति गराएबापत पाउने प्रोत्साहन भत्ता र न्यानो झोला उपलब्ध गराउन समस्या देखिएको छ । २४ घण्टे बर्थिङ्ग सेन्टर सञ्चालनका लागि चार कर्मचारी खटाइएको भए पनि बजेट निकासा नहुँदा समस्या आएको कर्मचारीको गुनासो छ । बर्थिङ्ग सेन्टरमा सेवा प्रवाहका लागि स्टाफ नर्स टकमाया गुरुङ्ग, अनमीहरू सुस्मिता राना, निर्मला केसी तथा स्विपर अन्सुईया रैदास खटिँदै आएका छन् । मायादेवी गाउँपालिका ७ मा रहेको सो बर्थिङ्ग सेन्टरमा चालु आबको पौष महिनासम्म ३६ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् ।

बर्थिङ्ग सेन्टरमा सेवा लिन आउनेमा सोही वार्ड भएको साबिकको हरनामपुर गाविसको १,२,६,७ र ८ नम्बर वडा, कपिलवस्तु नगरपालिका ८ को कचरिहवा, कुवागाँउ, यशोधरा गाउँपालिकाको भडेहर, तितिर्खी, मायादेवी गाउँपालिकाको पिपरालगायतका स्थानका सेवाग्राही जाने गरेका छन् । केही भारतीय नागरिकले समेत नेपाली ठेगाना देखाएर बर्थिङ्ग सेन्टरको सेवा लिने गरेका छन् । गाउँपालिकासँग समन्वय अभावले बजेट निकासमा कठिनाई आएको कर्मचारीहरूको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयबाट गाउँपालिकामा खटाइएका फोकलपर्सन महेन्द्र यादव, जोगेन्द्र गुप्ताले समन्वय नगर्दा रकम निकासामा समस्या भएको केन्द्रका एक कर्मचारीले गुनासो गरे ।

साउनयता गाँउपालिकाबाट रकम निकासा नभएपछि आफूले आफ्नै तलबको रकमबाट बर्थिङ्ग सेन्टरका लागि आवश्यक पर्ने ग्लोब्स, कर्ड क्लाब र अक्सिटोर्सी लगायतका सामग्री खरिद गर्नु परेको स्टाफ नर्स टकमाया गुरुङ्गले गुनासो गरिन् । ‘रकम निकासा नभएपछि सेवाग्राहीलाई सेवा दिन समस्या नहोस् भनेर आफ्नै तलब खर्च गरी सो सामग्री खरिद गरेकी छु,’ उनले भनिन् । बर्थिङ्ग सेन्टरका लागि रकम निकासाको प्रक्रिया अगाडि बढाए पनि समयमै रकम निकासा नहुँदा समस्या आएको केन्द्रका निमित्त प्रमुख हेल्थ असिस्टेन्ट रुस्तम अन्सारीले बताए । ‘रकम निकासाको लागि पहल गर्न बर्थिङ्ग सेन्टरका काजगात बोकेर गाउँपालिका जाँदै छौँ,’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएका स्वास्थ्यका कर्मचारीको लापरवाहीले सेवाग्राही मर्कामा परेको वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनार्दन प्रसाद चौधरीले बताए । स्वास्थ्यबाट खटाइएका कर्मचारीले बजेट र कार्यक्रमबारे आफूहरूलाई समेत जानकारी नदिई अन्योलमा राखेको उनले आरोप लगाए । ‘समस्या त वडाको हो । तर वडामा सामान्य सामग्री खरिद गर्नका लागिसमेत बजेट छैन,’ उनले भने– ‘आवश्यक सामग्री गाउँपालिकाले आफै पठाउने भन्छन्, हाम्रो काम त खाली नागरिकका कागजात सिफारिस गर्ने मात्रै देखिएको छ ।’

मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले शुरुमै रकम माग गर्दा नै कम रकम माग गरिएकाले समयमै शोधभर्ना नहुँदा रकम निकासामा समस्या आएको बताए । ‘१६ लाख रूपैयाँको शोधभर्ना पेश गरेका छौँ । हालसम्म २ लाख रूपैयाँ मात्र निकासा भएको छ । ‘शुरुमा रकम माग गरेका बर्थिङ्ग सेन्टरले सो रकम प्राप्त गर्दा रकम निकासा गराउन समस्या भएको हो, ’ ढकालले भने । स्वास्थ्य सेवाका कतिपय कार्यक्रमबारे नीतिगत अस्पष्टताका कारण कर्मचारीहरूमा समेत अन्योलता रहेको उनले बताए ।