हतियार सहित नेपाल छिरेका एसएसबीको जत्थाले भत्कायो तारबारको पोल , अटेर गर्दै नेपाली माथी गरे दुर्व्यवहार - Himal Post Himal Post
  • २२ मंसिर २०८१, शनिबार
  •      Sat Dec 7 2024
Logo

हतियार सहित नेपाल छिरेका एसएसबीको जत्थाले भत्कायो तारबारको पोल , अटेर गर्दै नेपाली माथी गरे दुर्व्यवहार



दीपेन्द्र बस्नेत /कञ्चनपुर ।
भारतीय निकुञ्ज बाट नियमित आउने गरेका हात्तिको बथानबाट बस्ती सुरक्षीत बनाउन पुनर्वास नगर पालिकाको ६ लाखको बजेटमा निर्माण सुरु थालिएको विद्युतीय तारबारको पोल नेपाल प्रहरीकै अगाडि भारतीय सीमा सुरक्षा बल एसएसबीले बिहीवार भत्काई दिएका छन् ।

नेपाल-भारत सीमा स्तम्भ नम्बर १९४ नजिक नेपाली भुमिमै गाड्न थालिएका पोलहरु अन्तरास्ट्रिय मर्यादा उलंघन गर्दै ठूलो संख्यामा आएका एसएसबीको जत्थाले बल प्रयोग गर्दै भत्काएका हुन । सीमा क्षेत्रमा कुनै बिवाद वा समस्या देखिए दुबै देशको प्रशासन र सरकारसंग समन्वय गरि बिवाद सल्याउने प्रचलित नियम उलंघन गरि पुनर्वासको बिचफाँटामा आज एसएसबीले देखाएको व्यवहार अन्तरास्ट्रिय कुटनैतिक मर्यादा बिपरित देखिएको छ ।

बिहीबार १२ बजे तिर भारतीय सीमा सुरक्षा बल एसएसबीको ३९ औं बटालियन अन्तर्गत घोला क्याम्पबाट सयौंको संख्यामा आएका भारतीय सीमा सुरक्षा बलको टोलिले नेपाल प्रहरीले तत्काल नभत्काउन भने पनि अटेर गरि भत्काई दिएका हुन ।

भारतीय दुधवा राष्ट्रिय निकुञ्ज बाट नियमित नेपाली बस्तीमा प्रवेश गरि अन्नबाली र घरबासको सुरक्षाका लागि स्थानीयले उठाएको कोष र नगरपालिकाको बजेटमा उक्त स्थानमा सौर्य उर्जामा आधारित विद्युतीय तारबार बनाउन सुरुवात गरिएको थियो ।

यस अघि गरिएको दूईपक्षिय सम्झाैता अनुसारकाे स्थानमा नै तारबार गर्दा पनि भारतीय प्रहरीले बल प्रयाेग गरी तारबार उखेलेर फालेकाे पुनर्वास नगरपालिका ९ का वडाअध्यक्ष नारायण प्रसाद जैशीले बताए । पुनर्वासको सीमावर्ती क्षेत्रमा सीमा विवाद रहेको भन्दै एसएसबीले विभिन्न ठाँउमा पटकपटक अवरोध गर्ने गरेको छ ।

समस्या समाधानका लागि २-४ दिन मै नेपाल भारतकाे संयुक्त सिमा सर्वे टाेली अाईपुग्ने र सिमा निर्धारण गरीने पनि प्रहरी निरिक्षक टमटाले बताए ।

भारतीय सिमावर्ती जँगलबाट बर्सेनि हात्तीकाे बथान अाएर नेपालीकाे अन्नबाली नाेक्शान गर्ने भएकाले नगर पालिकाकाे बजेटबाट नेपाली भूमीमै तारबार गर्न खाेज्दा पनि भारतीय पक्षले तार बाँधेकाे पिल्लर उखेलेर फालेकाे पुनर्वासका नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले बताए ।

भारतीयकाे दादागिरी र हेपाहा प्रबृतीले नै सिमा समस्या समाधान हुन नसकेकाे नगर प्रमुख थापाले बताए ।

पश्चिम नेपालका धेरै स्थानमा बिगत केही समय यता विभिन्न स्थानमा नेपाल-भारत सीमा क्षेत्रमा बिवाद देखिदै आएका छन् । बुधबार दिउँसो पुनर्वासको बिचफाँटामा केही बेर देखिएको बिवाद सामान्य भएको प्रमुख जिल्ला अधिकारी कुमार खड्काले बताए । उनले भने”नेपाल-भारत सीमामा यस खालका बिवाद देखिन्छन् अहिले त्यहाँको अबस्था सामान्य रहेको छ ” ।

गत बर्ष पुनर्वासकै आनन्द बजारमा एसएसबीले यसैगरी अवरोध गर्दा ठुलो घटना हुन पुगेको थियो । आनन्द बजार घटना भएको एक बर्ष पूरा हुँदा सम्म नेपालभारत सीमा विवाद समाधान हुन नसक्दा नेपालीले पटकपटक ज्यादती सहनुपरेको छ । दीगाे सिमा निर्धारण नहुदाँ सम्म नेपाल भारत बिचकाे सिमा समस्याकाे अन्त्य नहुने जानकारहरु बताउँछन् ।