चुनावी प्रचारप्रसारका लागि पूर्वमन्त्री लेखक दोधारा चाँदनीमा - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

चुनावी प्रचारप्रसारका लागि पूर्वमन्त्री लेखक दोधारा चाँदनीमा



मंसिर १३, कञ्चनपुर ।।   नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा दोस्रो चरणको चुनावी प्रचार कार्यक्रम शुरु गरेका छन् ।

भीमदत्त नगरपालिकामा पहिलो चरणको घरदैलो पूरा गरी नेता लेखक मंगलबार प्रचारमा निस्किएका हुन् ।

लेखकले दुई दिनसम्म दोधारा चाँदनी क्षेत्रमा प्रचार गर्ने काँग्रेसका क्षेत्रीय प्रवक्ता अफिलाल जोशीले बताए ।

लेखकले साविक चाँदनीमा वडा र टोलस्तरीय चुनावी सभालाई सम्बोधन गर्नुभएको छ । उहाँले लोकतन्त्रको रक्षा र विकासका लागि आफूलाई जिताउन आग्रह गरेका छन् ।

महाकालीमा पक्की पुल र सुख्खा बन्दरगाहलाई चुनावी एजेण्डा बनाउनु भएका लेखकले पुल निर्माण, दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताललगायतका एजेण्डा अघि सारेका छन् । प्रदेशसभा सदस्य उम्मेदवार बेलबहादुर रानासहित लेखकले मतदातासँग भोट मागेका छन् ।

यसअघि लेखकले महाकाली नगरपालिका सबै वडामा घरदैलो गर्नुभएको थियो । कञ्चनपुर क्षेत्र नं ३ को जितमा दोधारा चाँदनीको मत निर्णायक हुने भएकाले लेखक यहाँका मत तान्न लागि पारेका छन् । स्थानीय तह निर्वाचन परिणामअनुसार काँग्रेस चाँदनी र एमाले दोधारामा बलियो छ ।

वाम गठबन्धन बनेपछि महाकालीमा काँग्रेस र गठबन्धन दुवैले जितेका वडा बराबरीमा पुगेका छन् । दोधारा चाँदनीमा २२ हजार मतदाता छन् । दोधारा चाँदनीबाट काँग्रेस र गठबन्धन दुवैका प्रदेशसभामा उम्मेदवार भएकाले विगतजस्तो मत नतिजा नआउने स्थानीयवासी बताउँछन् ।

निर्वाचन क्षेत्र नं ३ मा बेदकोट नगरपालिका–८ सहित भीमदत्तका १९ र महाकाली नगरपालिका १० वडा पर्छन् । क्षेत्र नं ३ मा ९२ हजार मतदाता छन् । रासस