कञ्चन गाउँपालिका केन्द्र सारेपछि तालाबन्दी - Himal Post Himal Post
  • ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
Logo

कञ्चन गाउँपालिका केन्द्र सारेपछि तालाबन्दी



बुटवल। रूपन्देहीको कञ्चन गाउँपालिकामा केन्द्र स्थान्तरणको विषयलाई लिएर आन्दोलन भएको छ । गाउँ सभाको निर्णयले केन्द्र सार्ने बताएपछि आन्दोलित समूहले गाउँपालिकामा ४ दिनदेखि तालाबन्दी गरेको छ ।

कञ्चन गाउँपालिकाले अहिलेको भएको कार्यालयभन्दा ७ सय मिटर नजिकै रहेको बेउरीमा कार्यालय राख्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो ।

स्थलगत अध्ययनका क्रममा केन्द्र सार्ने स्थान अहिलकै कार्यालयबाट ७ सय मिटर पर मात्र सारिएको भन्दै आन्दोलन गर्नकै लागि आन्दोलन भएको गाउँपालिकाले जनाएको छ ।

साविक रुद्रपुर गाविस र गजेडी गाविस मिलेर कञ्चन गाउँपालिका बनेको छ । रुद्रपुरका स्थानीय जनताहरूले गाउपालिकाको केन्द्र डियोमा हुनुपर्ने र गजेडीका जनताले गाउँपालिकाको केन्द्र बसन्त फुलबारीमा हुनुपर्ने माग राखेपछि गाउँपालिकाले मध्यमार्गी विकल्प खोज्दै कञ्चन गाउँपालिकाकै वडा नं. २ बेउरीमा सार्ने निर्णय गरेको थियो ।

पुस १३ गते बसेको बैठकले गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेकाले अहिलकै निर्णयलाई गाउँपालिकाले कार्यान्वयन गर्ने र निर्णयबाट पछि नहट्ने कञ्चन गाउँपालिका वडा नंं २ का अध्यक्ष हरिनारायण थारुले बताए ।

“सर्वसहमत भएको निर्णयबाट हामी पछि हटिन्न, आन्दोलनको अर्थ पछि छैन” उनले भने । दुई स्थानमा विवाद हुन सक्ने मध्यनजर गर्दै बेउरीलाई केन्द्र तोकिएको उनको भनाइ छ । गाउँपालिकामा तालाबन्दी भएपछि चार देखि काम रोकिएको छ । पाँच वटा वडा रहेको गाउँपालिकामध्ये वडा नं. १ बाहेक अन्य ४ वटै वडामा पनि स्थानीयहरूले तालाबन्दी गरेका छन् ।

आन्दोलनरत पक्षले भने निर्वाचनको समयभन्दा अगाडि नै कञ्चन गाउँपालिकाको केन्द्र बसन्त फुलबारी राख्ने मौखिक सहमति भएको भन्दै जनताहरूलाई नै नसोधी व्यक्तिगत जग्गामा गाउँपालिकाको केन्द्र राख्न लाएको कञ्चन गाउँपालिका संघर्ष समितिका संयोजक सोमनाथ शर्माले बताए ।

“हामीलाई नसोधि एक्कासी रातरात किन निर्णय लिइयो, यहाँ आर्थिक चलखेल पनि हुनसक्छ” उनले भने । बसन्त फुलबारीमा केन्द्र राख्ने सहमति यस क्षेत्रका सबै राजनीतिक दलहरूले निर्वाचनभन्दा पनि अगाडि गरेको भन्दै व्यक्तिगत जग्गामा केही स्वार्थका लागि केन्द्र लैजान लागिएको शर्माको भनाइ छ ।

“सालझण्डी, रुद्रपुर र गजेडी मिलाएर कञ्चन गाउँपालिका बनाउने कुरा थियो, पछि सालझण्डी सैनामैना नगरपालिकामा गएपछि रुद्रपुरले गजेडीको बसन्त फुलबारीमा केन्द्र राख्ने बताएको थियो” उनले भने–“रुद्रपुर सहमत नभएको भए हामीहरू पनि सैनामैनामा जाने थियौं” ।
गाउँपालिकाको पुस १२ गते बसेको कार्यदलको बैठकमा जग्गाधनी मुकेश श्रेष्ठले १ विघा जग्गा केन्द्रलाई दिएको कागजात पेश गरेपछि गाउपालिकाले केन्द्र सार्ने निर्णय गरेको हो । श्रेष्ठले गाउपालिकाको केन्द्रका लागि जग्गा अपुग भएमा थप दिने गरी सम्झौता पनि गरेका छन ।

“सो क्षेत्रमा रहेका दुई घरपरिबार विस्थापित हुने रहेछन्, उनीहरूलाई जग्गाधनी श्रेष्ठले व्यवस्थापन गर्ने कुरा भएको छ” श्रेष्ठको भनाई उदृत गर्दै वडा नं. २ का वडा अध्यक्ष थारुले भने–“यो जग्गा आठ नम्बरी जग्गा हो ।”

रुद्रपुर र गजेडीका स्थानीयहरू दुवैलाई सहज हुने गरी कञ्चन नदी वारी नै बेउरीमा केन्द्र राख्ने र त्यसका लागि पर्याप्त पूर्वाधार निर्माण गर्न सकिने योजनासहितको पत्र गाउँपालिकाले मन्त्रालयमा पठाइसकेको छ ।

चार दिनदेखि कार्यालय बन्द हुँदा सबै काम प्रभावित भएका छन् । पूर्व सूचना नहुँदा सेवाग्राहीहरू कार्यालयमा आएर फर्कन बाध्य भएका छन् । कार्यालयमा घरको नक्सा पास गर्न आएकी फुलमाया थापाले आन्दोलनका बारेमा थाहा नभएकाले कार्यालयमा आएको बताइन् । “कार्यकारी प्रमुखको फोन नंं लिएर गएकी छु, स्थानीयले उहाँलाई फोन गरेर गाउँपालिका आउन भन्नुभएको छ” कार्यालय परिसरमा भेटिएकी उनले भनिन् ।

केही स्थानीयहरूले भने गाउँसभामा एमालेको बहुमत पुग्दैमा स्थानीयहरूलाई नसोधि निर्णय गरेको भन्दै त्यसको विरोधमा उत्रिएका हुन् । विवाद समधानका लागि सर्वदलीय बैठक बसेपनि आन्दोलनरत पक्ष र गाउँपालिकाले आफ्नो एजेण्डा नछाडेपछि सहमति हुन सकेको छैन ।

केन्द्र सार्न थालेको निर्णय भएको खबर पाएपछि स्थानीयहरूले बैठकमा सहभागी सबैलाई ताला लगाएर थुनेपछि तीन दिन अगाडि सो स्थानमा स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो ।