मुख्यमन्त्री नै भन्छन्- कुनै हालतमा कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

मुख्यमन्त्री नै भन्छन्- कुनै हालतमा कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ



गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूहरूले कालिगण्डकी डाइभर्सन हुन नदिने बताएका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सञ्चालित मिसन ग्रास रुट अभियानमा उनले धार्मिक आस्था जोडिएका, मानव धर्म संस्कृतिसँग जोडिएका तीर्थस्थल र यस वरपरका फाँटहरू हिउँदमा सुक्खा हुने भएकाले कालिगण्डकी डाइभर्सन हुन नदिने बताए।

‘कालिगण्डकी धार्मिक आस्था र मानव धर्म संस्कृतिसँग जोडिएको छ, डाइभर्सनले नदी बेसीका फाँट सुक्खा हुन्छन्’, उनले भने, ‘यसकारण हामी कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ।’

त्रिवेणीदेखि कोरलासम्म सडक आवागमन गर्न नसके गण्डकी प्रदेशको औचित्यमाथि प्रश्न खडा हुने उनले बताए।

त्रिवेणी–कोरोला सडक प्रदेशकै महत्त्वपूर्ण सडक भएको बताउँदै दुम्किबास–त्रिवेणी खण्डमा सडक खोल्न बाँकी रहेकाले यो सडक नखोल्दा प्रदेशको औचित्यमाथि नै प्रश्न खडा हुने उनले बताए।

त्रिवेणी–दुम्किबास खण्डमा सडक निर्माणका लागि प्रदेश तयार रहेको र स्रोत सुनिश्चित गरी अघि बढ्ने उनले बताए।

निकुञ्जका कारण केही समस्या देखिएकाले वातावरणीय प्रभाव अध्ययनले सुझाए अनुसारको काम गर्न आफूहरू तयार रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो। भारत र चीनलाई जोड्ने त्रिवेणीकोरला सडक सबैभन्दा छोटो दूरीको सडक भएकाले यसको महत्त्व थप रहेको चर्चा गर्दै उनले त्रिवेणी–दुम्किबास सडकखण्ड खोल्न आवश्यक प्रक्रिया अघि बढेको बताए।

उनले संविधानमै गण्डकी प्रदेशको सीमा बर्दघाट सुस्ता पूर्व भनिएकाले बर्दघाट र सुस्ता गण्डकी प्रदेशमा हुनुपर्ने बताए।

बर्दघाट र सुस्ता हाल लुम्बिनी प्रदेशमा राखिएकाले यो गण्डकी प्रदेशको भूगोल भएको उनले बताए। संविधान मिचिएकाले यसका विरुद्ध आफूहरू कानूनी प्रक्रियामा जान तयार रहेको उनले बताए।