कैलालीको गोदावरी धाममा भक्तजनहरुको घुइँचो - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कैलालीको गोदावरी धाममा भक्तजनहरुको घुइँचो



कैलाली ।। कैलालीको पवित्र तीर्थस्थल गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा स्नान गर्ने र पूजा गर्ने भक्तजनको आज भीड लागेको छ ।

हरेक बर्ष मकर सङ्क्रान्तिका दिन गोदावरी धाममा लाग्ने मेलामा स्नान गर्ने र पूजा गर्न भक्तजनको भीड लाग्ने गर्छ । मकर सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।
मकर सङ्क्रान्तिको अवसरमा गोदावरीमा बाह्र राशि दर्शन मकर मेलाको पनि आयोजना गरिएपछि यो स्थलको आकर्षण थप बढेको छ । मेला भर्न कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरालगायत जिल्लाबाट ठूलो संख्यामा भक्तजन गोदावरी धाममा पुगेका छन् ।
गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गर्ने योजनाअनुसार गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला गरिएको आयोजक समितिले जनाएको छ ।

प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भ मेलाको योग पर्ने भएको शास्त्रीय मान्यताअनुसार प्रत्येक वर्ष कुम्भ मेलाको प्रतीकका रुपमा १२ दिवसीय बाह्रराशि दर्शन मेलाको आयोजना गरिएको आयोजक समितिका संयोजक एवं साहित्यकार पदमराज जोशीले बताउनुभयो ।
मेलाका लागि गोदावरी धाममा बाह्रराशिको स्थापना गरी प्रत्येक राशिका व्यक्तिलाई दर्शन एवं पूजाको व्यवस्था मिलाइएको छ । त्यहाँ स्थापना गरिएको कुम्भबाटिकामा बाह्रराशि र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवं पूजाको व्यवस्थासमेत गरिएको छ ।
सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रुपमा रहेको यो धाममा रहेको गोदावरी नदीमा भगवान् श्रीकृष्णले स्नान गरेको जनविश्वास छ ।