आज काग तिहार ,धन्वन्तरीको पूजा आराधना पनि गरिदै - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आज काग तिहार ,धन्वन्तरीको पूजा आराधना पनि गरिदै



काठमाडौं, १२ कात्तिक ।

आजबाट विधिवत रूपमा तिहार सुरु भएको छ। यमपञ्चकको पहिलो दिन अाज बिहान कागलाई विभिन्न परिकार खान दिएर मुलुकभर कागतिहार मनाइँदै छ।

शुभ र अशुभ दुबै प्रकारको सन्देश दिने कागका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन पूजा गर्ने परम्परा रहेको छ। यसै दिन भैषजशास्त्रका धन्वन्तरीले अवतार लिएको शास्त्रोक्त कथनअनुसार धन त्रयोदशी भन्दै वैद्यराजहरूले धन्वन्तरीको पूजा आराधना गर्ने परम्परा छ।

यमपञ्चकको पहिलो दिन कागतिहार पर्छ। दोस्रो दिन भैरवको बाहनका रूपमा परिचित कुकुरको पूजा गरिन्छ। त्यस्तै औँशीका दिन बिहान गाईको पूजा गरेर साँझ परेपछि दीपावलीका साथ लक्ष्मीको पूजा आराधना गरिन्छ।

तिहारको चौथो दिन कात्तिक शुक्ल प्रतिपदामा गोबर्धन पूजा भनी गोबर्धन, बहर र दैत्यराज बलिको पूजा गरिन्छ। नेवार समुदायमा यस दिन म्ह पूजा भनी सगुन लिई आफ्नै शरीरको पूजा गर्छन्। पाँचौं दिन छोरीहरूले आफ्ना दाजुभाइलाई पूजा गरी भाइटीका मनाउँछन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअनुसार यसपटकको भाइटीकाको उत्तम साइत कात्तिक १६ गते मंगलबार बिहान ११ बजेर ५२ मिनेटलाई उत्तम मानिएको छ।