न्युजिल्यान्डलाई घुँडा टेकाउने जोफ्रा आर्चर - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

न्युजिल्यान्डलाई घुँडा टेकाउने जोफ्रा आर्चर



हिमालपोस्ट/काठमाडौँ-

इङ्ल्यान्डले पहिलो पटक आइसिसी क्रिकेट विश्वकपमा विजय हासिल गरेपछि कप्तान इयान मोर्गानले भने- “जोफ्रा आर्चरको बलिङ कल्पनातीत थियो।”

इङ्ल्यान्ड र न्युजिल्यान्डबीच भएको फाइनल खेलमा निर्धारित ५० ओभरमा दुबै टोलीले २४१ रन बनाए। जितको टुङ्गो नलागेपछि सुपर ओभर खेलाएर निर्णय गरिने भयो।

सुपर ओभरको खेलमा इङ्ग्ल्यान्डले पहिले ब्याटिङ गर्‍यो। ट्रेन्ट बोल्टले फालेका ६ बलमा जस बट्लर र  बेन स्टोक्सले १५ रन आर्जित गरे।

त्यसपछि न्युजिल्यान्डले १५ भन्दा बढी रन आर्जेको भए जितको ट्रफी उचाल्ने थियो र चौथो पटक विश्वकप फाइनल पुगेको इङ्ग्ल्याण्ड क्रिकेटको धर्मस्थल मानिने  लर्डसमा  फेरि निराश हुनु पर्थ्यो।

तर आफ्नो नियति आफैँ परिवर्तन गर्न इङ्ग्ल्यान्डले २४ वर्षीय जोफ्रा आर्चरलाई  बलिङ गर्न पठायो। उनीमाथि न्युजिल्यान्डलाई १५ रनमा सीमित राख्‍ने जिम्मेवारी थियो किनकि सुपर ओभर पनि बराबरी भए सय ओभरको खेलमा बढी बाउन्ड्री (चौका/छक्का) हानेको आधारमा  इङ्ग्ल्यान्ड विजेता बन्ने पक्का थियो।

जोफ्राले सुपर ओभरमा न्युजिल्यान्डलाई १५ रन सीमित राखेपछि इङ्ग्ल्यान्डले ४४ वर्षको अवधिमा पहिलो पटक विश्वकप उपाधि जित्यो।

यसरी जोफ्रा आर्चरको बलिङले यसअघि तीन पटक फाइनलमा पुगेर पनि पराजित बनेको इङ्ग्ल्यान्डले उपाधि चुम्यो।

स्मरण रहोस् जोफ्रा आर्चर आइपिएलमा राजस्थान रोयल्सबाट खेल्छन् र उनले ९३ खेलमा ११८ विकेट लिएका छन्।