नृत्य निर्देशक अधिकारीको पुस्तक जो नाच्छ, ऊ धेरै बाँच्छ सार्वजनिक - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

नृत्य निर्देशक अधिकारीको पुस्तक जो नाच्छ, ऊ धेरै बाँच्छ सार्वजनिक



काठमाडौं, १७ जेठ
नृत्य निर्देशक गोपाल अधिकारीको ‘जो नाच्छ, ऊ धेरै बाँच्छ’ पुस्तक सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि पुस्तक सार्वजनिक गरिएको हो ।

राजधानीका ३० भन्दा बढी विद्यालयमा नृत्य सिकाइरहेका गोपाल अधिकारीले यो कृतिमा ५२ विभिन्न शिर्षकमा नृत्य सम्बन्धी विविध जानकारी प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

नेपालमा प्रचलित नृत्यहरु सम्बन्धी विभिन्न जानकारी समेटिएको यो पुस्तकमा नृत्य परिचय, नृत्यका प्रकार, नव रस, नृत्यमा लय, मात्रा र ताल, नृत्यमा अङ्ग सञ्चालन, चारी र मण्डल, हातका चार करणहरु देखि लिएर लोक नृत्यका बारेमा प्रस्तुत गरिएको छ । ‘मान्छेमा आ–आफ्नै लत हुन्छ । भिन्न–भिन्न प्रकारको नशा हुन्छ । विविध स्वभाव, इच्छा र चाहनाहरु हुन्छन् । ममा पनि त्यस्तो छ । ममा नृत्यको नशा छ, लत छ । त्यही नृत्यको नशा र लतले जन्मियो जो नाच्छ ऊ धेरै बाँच्छ’, गोपालले भने ।

पुस्तक सार्वजनिक समारोहमा अतिथिहरुले उनलाई सफलताको शुभकामना दिएका थिए । उनीहरुले यो पुस्तक नृत्य सम्बन्धी चासो राख्ने जो कोहीका लागि पनि उपयोगी हुने खासगरि स्कुलका विद्यार्थीलाई अझ बढी उपयोगी हुने बताएका थिए । यो पुस्तक नृत्यका बारेमा सैद्धान्तिक ज्ञान लिएर आएको छ । नृत्य विषयका विद्यार्थी, शिक्षक, नृत्यप्रति अभिरुचि राख्ने पाठकसबैका लागि उपयोगी रहेको छ अतिथिहरुले भने ।

पुस्तकमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्यावसन)का महासचिव डीके ढुंगानार राष्ट्रिय निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्यावसन)का अध्यक्ष कर्णबहादुर शाहीका शुभकामनाहरु समेटिएको छ ।

पैरवी प्रकाशनले प्रकाशन गरेको यो पुस्तकमा स्कुल अफ डान्स थेरापीका अध्यक्ष अच्युत घिमिरे, चलचित्रकर्मी रामकाजी घिमिरे, सञ्चारकर्मी तथा मिलाप मासिकका सम्पादक कृष्णप्रसाद भुसालले पुस्तकका बारेमा चर्चा गरेका छन् ।