संस्कृति मन्त्रीको तमासा र सामन्ती पारा- लाजैमर्दो हर्कत - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

संस्कृति मन्त्रीको तमासा र सामन्ती पारा- लाजैमर्दो हर्कत



काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ शुक्रबार बिहान करिब सवा ९ बजे श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अंगरक्षकसहित ठमेलस्थित क्यानेडियन भिसा सेन्टर पुगे । त्यहाँ सेवाग्राहीको लाइन थियो ।

मन्त्रीको टोली लाइन मिचेर अघि बढ्न खोज्यो । ड्युटीमा खटिएका सुरक्षा इन्चार्ज शेरजंग गुरुङले रोक्दै सामान्य नागरिकजस्तै लाइनमा बस्न आग्रह गरे । गुरुङ सेनाबाट अवकाशपछि गरुड सेक्युरिटिजमा आबद्ध छन् । कम्पनीले उनलाई भिसा सेन्टरको सुरक्षा इन्चार्ज बनाएर खटाएको थियो ।

सुरक्षा गार्ड गुरुङले रोकेपछि मन्त्री श्रेष्ठको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) रवीन कार्कीले ‘उहाँ मन्त्रीज्यू हुनुहुन्छ, जान दिनुस्’ भने । प्रहरी स्रोतका अनुसार गुरुङले फेरि पनि लाइन नमिच्न आग्रह गरे । गुरुङले मन्त्री आउने पूर्वजानकारी नभएको र नियम सबैका लागि बराबर रहेको भन्दै अगाडि बढ्न दिएनन् । लाइनमा मन्त्रीभन्दा अघि भिसा आवेदक अरू व्यक्ति थिए । त्यसपछि स्थिति असहज बन्यो । लगत्तै मन्त्री श्रेष्ठ आफैं गुरुङमाथि जाइलागे । श्रीमतीले रोक्न खोजिन् तर मन्त्री रोकिएनन् । अगाडि बढ्दै गुरुङलाई कुनामा लगेर घेरा हाले । भिसा सेन्टरका अर्का सुरक्षा गार्ड बीचमा उभिएपछि मन्त्री श्रेष्ठले गुरुङमाथि हात हाल्न पाएनन् । त्यसको केहीबेरमा भित्रबाट मन्त्रीलाई मात्र आउन र बाँकी सबैलाई लाइनमा बस्न खबर आयो ।

श्रेष्ठले त्यहीँबाट फोन गरेर सुरक्षा गार्डलाई पक्राउ गर्न माग गरे । आफ्नो काम सकेर मन्त्रालय फर्किएका उनकै आदेशमा अंगरक्षक कार्कीलाई निवेदक बनाएर गुरुङविरुद्ध जाहेरी तयार पारियो । जाहेरी गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयमार्फत प्रहरी वृत्त दरबारमार्ग पुग्यो । प्रहरीले शुक्रबारै गुरुङलाई पक्राउ गर्‍यो । शनिबार कार्यालय बन्द भएका कारण आइतबार मात्रै प्रहरीले उनीविरुद्ध मन्त्रीमाथि अभद्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

यो घटनाले सत्ता र शक्तिको आडमा कसरी निमुखा व्यक्तिमाथि कानुन थोपरिन्छ र प्रहरीले व्यक्ति हेरेर व्यवहार गर्छ भन्ने देखाएको छ । गुरुङमाथि प्रहरीले मुलुकी अपराध संहिताको अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

अपराध संहिताको दफा ११८ मा कसैलाई अभद्र व्यवहार गर्न नहुने र गरेमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ । उक्त दफामा ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्ने कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला/बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन’ भनिएको छ । त्यसैको उपदफा २ मा ‘त्यस्तो कसुर गर्ने वा गराउनेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ’ भनिएको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा रहेको र उनीमाथि कानुनअनुसार कारबाही हुने बताए । ‘मन्त्रीज्यूलाई सुरक्षा गार्डबाट दुर्व्यवहार भएको उजुरीपछि आरोपितलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ,’ बोहराले भने, ‘यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’

जाहेरीमा मन्त्रीमाथि सुरक्षा गार्डले दुर्व्यवहार गरेको भनिए पनि प्रहरी र मन्त्रीका दाबी पुष्टि हुने प्रमाण देखिँदैन । मन्त्री श्रेष्ठ सेना र प्रहरीको सुरक्षा घेरामा थिए । मन्त्रीलाई लाइनमा बस्नुस् भनेकै भरमा प्रहरीले सुरक्षा गार्डलाई जबर्जस्ती मुलुकी अपराध संहिताको कानुन लगाएर कारबाही गर्न खोजेको छ । नियम पालना गराउने सुरक्षा गार्डलाई पक्राउ गरिएपछि मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भएको छ ।

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल शुक्रबारको घटनामा मन्त्रीले शक्तिको तमासा देखाएको बताउँछन् । ‘मन्त्री आफैं भिसा प्रक्रियामा जानुअघि समन्वय गरिनुपर्थ्यो, मन्त्रीको सचिवालय र अंगरक्षकले समन्वय गर्ने हो,’ उनले भने, ‘तर त्यसप्रति बेवास्ता गर्दै सुरक्षा पहरामा रहेको निजी कार्यालयमा उसको आन्तरिक नियम मिचेर जानै हुँदैन थियो । यसले मन्त्रीका लागि पनि राम्रो सन्देश गएन । यो त शक्तिको तमासा र तागतमा मात्तिएको देखियो । भोलिका दिनमा निजी सुरक्षा कम्पनीले पनि शक्ति र सत्तामा भएकाबाट त्रासको अनुभूति गर्ने अवस्था आयो ।’ मल्लका अनुसार प्रहरीले बाहिरी मानिसलाई जसरी बिनाअनुमति प्रवेश दिँदैन, त्यसैगरी सुरक्षा गार्ड खटिएका ठाउँमा उसका नियम र मापदण्ड बनाइएको हुन्छ र त्यसको पालना गर्नुपर्ने हुन्छ ।

दरबारमार्ग वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुडालले ‘मन्त्रीजस्तो सम्मानित व्यक्तिमाथि दुर्व्यवहार गरेको’ उजुरी आएपछि आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताइन् । ‘देशको बहालवाला मन्त्री, त्यो पनि सरकारी सुरक्षाकर्मीसहित जानुभएको थियो, मन्त्रीज्यूको समयको पनि सीमितता हुन्छ, राज्य चलाउने मान्छेसँग हामीलाई जस्तो पर्याप्त समय हुँदैन,’ डीएसपी चुडालले भनिन्, ‘मन्त्रीज्यूको बडीगार्डले पनि पटक–पटक आग्रह गर्दा नमानेर दुव्यर्वहार गरेपछि पर्यटन मन्त्रालयबाट कारबाहीका लागि जाहेरी आएको हो, पर्यटनबाट गृह हुँदै प्रहरी प्रधान कार्यालयबाट आएको जाहेरीकै आधारमा सुरक्षा गार्डलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।’

तर, गरुड सेक्युरिटिजका प्रशासन प्रमुख अभिषेकबहादुर कार्कीले भिसा सेन्टरको नियमअनुसार आफ्ना सुरक्षाकर्मीले नियम पालना गर्दा उल्टै प्रहरी हिरासतमा पुर्‍याइएको भन्दै विरोध जनाएका छन् । उनले थिति बसाल्न नियम–कानुन बनाउने मन्त्री आफैं गुरुङमाथि जाइलागेको आरोप लगाए । ‘हामीले क्यानडा भिसा सेन्टरको नियमअनुसार सुरक्षा व्यवस्थापन गरेका हौं तर उहाँहरू हूलमै नियम मिचेर अगाडि बढ्न खोज्नुभयो,’ उनले भने, ‘प्रहरीले नियन्त्रणमा लिएका हाम्रा कर्मचारीलाई जबर्जस्ती कसुरदार देखाउन खोजियो ।’

०००

२०७६ माघमा पनि प्रहरीले गायिका आस्था राउतलाई सामान्य भनाभन भएकै आधारमा अभद्र व्यवहारको मुद्दा लगाएर केही दिन हिरासतमा राखेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जाने क्रममा गायिका राउत र विमानस्थलको आन्तरिक टर्मिनलतर्फको प्रस्थान कक्षमा कार्यरत प्रहरीबीच भनाभन भएपछि राउतलाई प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो । त्यसो त भीआईपीको रवाफमा सर्वसाधारण र कर्मचारीमाथि भएका दुर्व्यवहार र हातपातका घटनामा प्रहरीले यसअघि पनि दोहोरो चरित्र देखाएका थुप्रै उदाहरण छन् । जसबाट कानुन सबैलाई समानभन्दा पनि व्यक्ति हेरेर व्यवहार गर्ने प्रहरी प्रवृत्ति देखिन्छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ठगी आरोपमा फरार एवं अध्यागमनको कालोसूचीमा रहेका अभियुक्त रिजवान आलमलाई शुक्रबार दुबईबाट गुपचुप नेपाल आएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरी आफ्नै गाडीमा राखेर भगाए । तर, अपराधमा संलग्न व्यक्तिलाई भगाउन संवैधानिक आयोगका अध्यक्ष नै संलग्न भएको कसुरमा प्रहरीले न अनुसन्धान गर्‍यो, न उनीमाथि कुनै केस दर्ता भयो । पहुँचका आधारमा त्यस घटनाबाट अन्सारी उम्किए ।

२०७५ पुसमा मधेस प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले प्रदेशकै उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर हातपात गरेका थिए । गरिबी निवारणसम्बन्धी कार्यक्रमका लागि आफूनिकटका गैरसरकारी संस्थालाई छनोट नगरिएको आक्रोशमा मन्त्री यादवले सचिवमाथि कार्यकक्षमा हातपात गर्दा प्रहरी घटनाबारे मूकदर्शक बन्यो । हातपात गर्ने मन्त्रीमाथि कारबाही नै भएन ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई गत असारमा कार्यकक्षमै बोलाएर हातपात र दुर्व्यवहार गरे । अश्लील गालीगलौज र हातपात हुँदा पनि यस विषयमा प्रहरी मौन बस्यो । २०७६ असोजमा राजपा (पछि जसपा) का तर्फबाट प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहले जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि हातपात गरे तर उनीविरुद्ध प्रहरी आफैं अग्रसर भएर अनुसन्धान नै गरेन ।

तत्कालीन वनमन्त्री मातृका यादवले कर्मचारीलाई शौचालयमै थुनेका थिए । सत्ता र शक्तिको आडमा आपराधिक गतिविधि गर्दा पनि पहुँचवालाहरू सहजै उम्किएका अरू थुप्रै तथ्य छन् । तर, सत्ता र शक्तिको पहुँचमा बाहिरका मानिसलाई सामान्य घटनामा पनि थुनिहाल्ने प्रहरी अग्रसरता ‘सानालाई ऐन, ठूलालाई चैन’ को नीति लिएको देखिन्छ । त्यतिमात्र होइन, नियम मिच्न नपाएको झोंकमा पर्यटनमन्त्री श्रेष्ठले त सुरक्षा गार्डलाई पक्राउ गर्न सत्ता र शक्तिकै दुरुपयोग गरे तर प्रहरीले उल्टै कानुन पालना गर्न आग्रह गर्ने सुरक्षा गार्डलाई नै थुनेको छ ।

प्रहरीका एक उच्च अधिकारी राजकीय भूमिकामा बसेका मानिसले कसैबाट सामान्य कमजोरी भएको भए उदारता र ‘न्यायिक मन’ देखाउनुको साटो थुनेर प्रतिशोध साध्नु गलत भएको बताए । तर, कुनै घटनामा किटानीसाथ जाहेरी परेपछि अनुसन्धान गर्नु प्रहरीको जिम्मेवारी भएको ती अधिकारीको भनाइ छ । उनले ठमेलमा मन्त्री र सुरक्षा गार्डबीच भएको भनाभनले सुरक्षा गार्डभन्दा मन्त्रीकै मानप्रतिष्ठा गिरेको टिप्पणी गरे । कान्तिपुरमा समाचार छ ।