छिट्टै एमालेसँग पार्टी एकता गर्ने झलनाथको बाचा - Himal Post Himal Post
  • २६ मंसिर २०८२, बिहीबार
  •      Thu Dec 11 2025
Logo

छिट्टै एमालेसँग पार्टी एकता गर्ने झलनाथको बाचा



नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलन एक हुनुको विकल्प नभएको बताएका छन्। मंगलबार नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका नेता खनालले कार्यकर्तामा समेत एकताको भावना विकास भइरहेको दाबी गरे।

नेकपा एमालेबाट विभाजित भइ नयाँ पार्टी गठन गरेपछि पहिलोपटक च्यासल पुगेका नेता खनालले सही वैचारिक नीति र कार्यदिशाका आधारमा कम्युनिस्टहरूको बीचमा एकता हुने बताए।

‘भोलि हामी यो पार्टी एकतावद्ध गर्छौं। यो पार्टी एकतावद्ध हुन्छ। एक नहुनुका केही कारण छन् त्यो हुन्छ’, उनले भने, ‘सही वैचारिक नीति र कार्यदिशाका आधारमा कम्युनिस्टहरुको बीचमा एकता हुन्छ। त्यो विस्तारै निर्माण हुन्छ। आम कार्यकर्ताका भावना विकास गरिरहेको छ। कम्युनिस्ट आन्दोलन एक न एक दिन एकता हुनुको विकल्प नै छैन।’

साथै, उनले एमालेले पार्टी विभाजनपछि सोमबार पहिलोपटक औपचारिक कार्यक्रममा निम्ता गरेकोमा धन्यवाद समेत दिए।

‘नेकपा एमालेले आज यो कार्यक्रममा मलाई निम्ता गर्यो। यो पहिलो नै हो। म एमालेलाई निम्ता गरेकोमा धन्यवाद दिन्छु। नेकपा एकीकृत समाजवादीको तर्फबाट मैले आज एउटा मन्तव्य दिने अवसर जुटाइदियो त्यसका लागि धन्यवाद,’ खनालले भने।